पेन्सन सुविधा अमर्यादित

आफ्नो हातमा डाडु–पन्यु छ भन्दैमा मनपरी गर्न मिल्छ र ? तर यहाँ यस्तै पारा देखिएको छ । विशिष्ट व्यक्तिलाई राज्यबाट सुविधा दिँदै आएको अवस्थामा पूर्व सांसदलाई पनि पेन्सन सुविधा दिने विधेयकको अन्तिम रूपरेखा तयार हँुदा सारा नागरिक छक्क परेका छन् ।

राज्यबाट सुविधा त्यस्ता व्यक्तिलाई दिनुपर्छ, जसले राज्यको गरिमालाई उचाइमा लगेको होस् । भर्खर लमजुङका ठाडो भाका गायक भेँडीखर्के साइँला (दीर्घराज अधिकारी) को उपचार गर्न रकमको अभावले मृत्यु भयो । लोकसंस्कृति, लोकभाका, लोकपरम्परालाई जीवित राख्ने व्यक्तित्व राज्यको गहना हुन् । उनलाई सम्मानसाथ राज्यले चिन्न सक्नुपर्छ । यस्ता व्यक्तित्वलाई आजीवन पेन्सन, औषधि–उपचार तथा विभिन्न क्षेत्रमा नि:शुल्क सेवा प्रदान गर्दा कसैले विरोध गर्दैनन् र राज्यले देशको धरोहरलाई सुविधान दिनैपर्छ । विगतमा देशका यस्ता थुप्रै गहनाको उपचार गर्न नसक्दा मृत्यु भएको छ, तर राज्य टुलुटुलु हेरेर मात्र बसेको छ । अझ पनि ओझेलमा रहेको लोकभाकालाई जोगाइराखेका व्यक्तित्व, देशको संस्कृतिलाई उचाइमा पुर्‍याउने कवि, साहित्यकार, नाट्यकर्मी, शिल्पकार, समाजसेवी आदिलाई खोज्न जरुरी छ र तिनको स्थितिलाई पहिचान गरी राज्यले स–सम्मान सुविधा र पेन्सन दिनु उपयुक्त हुन्छ । 
– प्रमोद पौडेल
श्रीपुर–१४, वीरगन्ज

प्रकाशित : भाद्र २९, २०७४ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्

राजनीति सेवा कि व्यवसाय ?

‘पूर्व सांसदलाई पेन्सन शीर्षक’प्रति थोरै पनि आपत्ति होइन । आपत्ति हाम्रो राजनीतिक संस्कार र लालचको राजनीतिप्रति हो । पूर्व पदाधिकारीलाई विलासी सुविधा उपलब्ध गराउने विधेयक पेसको तयारी भइरहँदा पूर्व सांसदलाई समेत सुविधा उपलब्ध गराउनुपर्ने विषयमा गृहकार्य सुरु भएको छ ।

यसो हो भने राजनीतिलाई पेसामा रूपान्तरण गर्ने नयाँ विधेयक संसद्मा किन प्रस्तुत नगर्ने ? पटक–पटक सांसदले आफ्नो सुविधा बढाउने विधेयकमा सहमति जनाउँदै आइरहेकै हुन् । सांसदहरू सेवाभन्दा ज्यादा सुविधाभोगी छन् भन्ने धारणाको विकास भइरहेको सन्दर्भमा सांसद पद सेवाका लागि होइन, पेसाका लागि सिर्जना गरिएको हो भन्ने धारणाको विकास गर्दा के फरक पर्ला त ? वास्तविकताको धरातलमा उभिएर हेर्ने हो भने सांसद सेवाको अवकाशपछि उनीहरूको जीवनयापन खातिर सरकारले चासो राख्नु स्वाभाविक पनि हो । तर जुन देशमा आम नागरिकको जीवनस्तर अत्यन्तै दयनीय छ, रोजगारीको समस्या डरलाग्दो रूपमा अघि बढ्दैछ, युवाशक्ति पलायनले देश रित्तो–रित्तो 
हुँदैछ । आशा र भरोसाका विम्बहरू धुमिल हुँदैछन् । त्यस्तो देशले आर्थिक विकासका अवधारणा अघि बढाउने कि देशको सम्पत्तिलाई लुटको धनका रूपमा व्यक्ति–व्यक्तिलाई वितरण गर्दै जाने ?
– उत्तम पुडासैनी 
जोरपाटी, काठमाडौं 

प्रकाशित : भाद्र २९, २०७४ १०:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्