१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

लोकतन्त्रमा नसुहाउँदो काम

काङ्ग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले ५४ जनाको जम्बो मन्त्रीमण्डल बनाएका छन् । अब के.पी. ओलीले जस्तो ६ वटा उपप्रधानमन्त्री पनि राख्ने हो भने पूर्णरूपमा ओलीपथ हुनेछ । अनि ओलीकै जस्तो कालोबजारी र महँगीलाई पनि बढावा दिने हो भने ओलीको कार्यले पूर्णता पाउनेछ ।

देउवा प्रधानमन्त्री हुँदा सकेसम्म सानो र छरितो मन्त्रीमण्डल बनाउने सबैले आशा राखेका थिए । तर उनले आम मानिसको आशालाई पटक्कै ध्यान दिएनन् । ओली, प्रचण्ड र देउवा तीनैजनाले मण्डले लिएर सरकार चलाउने हर्कत गरे । यी नेताहरूको किन यति ठूलो मण्डले मोह ? के यी पञ्चहरूले नेपालमा लोकतन्त्र ल्याएका हुन् ? भनौं भने लोकतन्त्र ल्याउन लडेका मानिसको अझै बेहालत छ । कैयौं अङ्गभङ्ग छन् भने कैयौंको अझै उपचार हुन सकिरहेको छैन । अझ हाम्रा प्रधानमन्त्री देउवाकै पनि यिनै पञ्चहरूले जिब्रोमा करेन्ट लगाइदिएर जिन्दगीभर बोल्न गार्‍हो बनाइदिएको उनले भुसुक्कै बिर्सेछन् कि ? 
अहिलेको मन्त्रीमण्डलको काम भनेको चुनाव गराउनु मात्रै हो । चुनाव आउन साढे २ महिनामात्र बाँकी छ । चुनावपछि यो मन्त्रीमण्डल स्वत: विघटन हुन्छ । जाबो ढाई महिनाका लागि मन्त्रिपरिषद् हेरफेर नगरेको भए के हुन्थ्यो र ? उनले जसरी अहिले मन्त्रीमण्डल विस्तार गरे, त्यसले निर्वाचन आचारसंहिता त उल्लंघन भयो नै, साथै उनीमाथि भइरहेको अवाञ्छित विरोधमाथि आगोमा घिउ थप्ने काममात्र हुनेछ । लोकतन्त्रमा पञ्चहरूको सत्तारोहण ढाकाटोपीमाथि गुहेंँलाको फूलजस्तो छ भने कांग्रेस–कम्युनिष्टले तिनलाई दिने गरेको पुरस्कारले जगत्मा हाँसोको विषय बनेको छ । त्यसमा पनि प्रजातन्त्रका लागि लडेका कांग्रेस, एमाले र गणतन्त्रको मसिहा ठान्ने माओवादी केन्द्रको मण्डले मोह हेर्दा यसलाई लोकतन्त्र भन्न हामीलाई लाज लागेको छ । देउवाजी † कमसेकम तपाईं प्रजातन्त्रका निम्ति लडेको मानिसले यसो नगर्दा के बिग्रिन्थ्यो ? पञ्च पार्टी सत्तामा नल्याउँदा भूकम्पै त जाने थिएन होला अथवा सरकारै गिरिहाल्ने अवस्था पनि थिएन । 
– ज्यो. रत्ननिधि रेग्मी ‘शुक्राचार्य’
महाकवि देवकोटा आश्रम, काठमाडौं 

प्रकाशित : भाद्र २९, २०७४ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?