कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

आरक्षण सिटमा कडाइ

सुदीप कैनी

गोरखा — सार्वजनिक यातायातका सवारीसाधनमा सिटमै महिला, ज्येष्ठ नागरिक र अपांगता भएकाहरूका लागि लेखेरै छुट्याइएको हुन्छ । तर, उक्त सिटमा उनीहरूले नै बस्न पाउँछन् भन्ने छैन । अब उक्त आरक्षित सिटमा सम्बद्ध यात्रुलाई बसाउन गोरखामा प्रहरीले कडाइ थालेको छ ।

आरक्षण सिटमा कडाइ

गुनासो आएपछि कडाइ गर्न थालिएको हो । 
जिल्ला प्रहरी र ट्राफिक प्रहरीले बुधबार जिल्लाका लामो र छोटो दूरीमा चल्ने सवारीसाधनमा आरक्षित सिटको अवस्थाबारे छड्के जाँच गरेका थिए । १८ वटा बस र माइक्रोबसमा गरिएको अध्ययनमा कुनै पनि सवारीसाधनमा आरक्षण कोटा नियमअनुसार लागू नभएको पाइएको छ । ‘हामीले १८ वटा बस र माइक्रोलाई बीच बाटामा रोकेर हेर्‍यौं,’ प्रहरीको महिला तथा बालबालबालिका सेवा केन्द्रकी निरीक्षक कमला नरालले भनिन्, ‘एउटा बसमा मात्रै आरक्षणका लागि सिट छुट्याइएको रहेछ, अरूमा सिटसमेत तोकिएको पाइएन ।’ 
यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको बिलबुकसहित जाँचपासमा अनिवार्य आरक्षण सिट तोक्नुपर्ने प्रावधान राखेको छ । जिल्लामा चल्ने सवारीसाधनले भने आरक्षण नदिई जथाभावी यात्रु बोक्ने गरेका छन् । महिला, वृद्धवृद्धा र अपांगता भएकाहरूका लागि प्राथमिकता दिएर बस, माइक्रोबसमा सिट राख्नुपर्ने नियम कार्यान्वयन नभएको हो । 
आरक्षण नपाउँदा लक्षित वर्गले सुविधा नपाएर जोखिमपूर्ण यात्रा गर्नुपरेको छ । ‘महिलालाई प्राथमिकता दिएर छुट्टै सिटमा राख्ने गरेको अहिलेसम्म देखेको छैन,’ यात्रु सरिता अधिकारीले भनिन्, ‘काठमाडौंतिर जाँदा चाहिं त्यहाँ चल्ने गाडीले महिलालाई छुट्टै सिट राखेको देखिन्छ ।’ जिल्लामा सञ्चालन हुने सवारीसाधनमा पनि अपांग, महिला र वृद्धवृद्धालाई प्राथमिकता दिएर सिट छुट्याउनुपर्ने उनले बताइन् ।
सरकारले सवारीसाधनको सिटमा लागू गरेको आरक्षण कोटा कार्यान्वयन गर्न यातायात व्यवसायी समितिसँग प्रहरीले छलफल गर्ने भएको छ । ‘जिल्लामा चल्ने गाडीका व्यवसायी समिति र धनीलाई आफ्ना गाडीमा आरक्षण सिट तोक्न पत्राचार गरिसकेका छौं,’ उनले भनिन्, ‘कार्यान्वयन नगरे ट्राफिक नियमअनुसार कारबाही गर्छौं ।’ ट्राफिक प्रहरी सवारी चेकजाँच गर्ने बेला अबदेखि आरक्षण सिटको प्रयोगको अवस्थाबारे पनि हेर्ने उनले बताइन् । ‘प्रत्येक सार्वजनिक गाडीमा महिला, ज्येष्ठ नगारिक र अपांगता भएका व्यक्तिलाई बिलबुकमा तोकिएअनुसार सिट छुट्याएको हुनुपर्छ,’ उनले भनिन्, ‘ती सिट जसका लागि तोकिएको हो, उनीहरूले नै प्रयोग गर्न पाउनुपर्छ ।’ आरक्षितका लागि छुट्याएको सिट अन्यले प्रयोग गरेको भेटे सवारीसाधनलाई ट्राफिक नियमअनुसार जरिवाना गरिने उनले बताइन् । 

 

प्रकाशित : भाद्र २९, २०७४ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?