१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

उमेर नपुग्दै सम्बन्धविच्छेद

बालविवाह
हरि गौतम

रुकुम — जिल्ला अदालत मुसीकोटमा १४ वर्षीयाले सम्बन्धविच्छेद गरिपाउँm भनेर निवेदन दिइन् । मुसीकोट नगरपालिका घर भएकी उनको मुद्दा प्रक्रियामै छ । अदालतका अनुसार अबको केही समयमै उनको मुद्दा किनारा लाग्नेछ ।

उमेर नपुग्दै सम्बन्धविच्छेद


उनको पतिको स्थायी ठेगानामा म्याद तामेल पत्र छाडिएको छ । त्यसको प्रत्युत्तर वा म्याद तामेलको मिति कटेपछि उनको मुद्दाले स्वत: इजलास प्रवेश पाउनेछ । उनको यो उमेर पढ्ने लेख्ने हो । उनी भने सम्बन्धविच्छेदका लागि अदालत धाइरहेकी छन् । जिल्ला अदालतमा सम्बन्धविच्छेदको मुद्दा दिने उनी सबैभन्दा कान्छी पनि हुन् । तर उनीभन्दा बढीका मुद्दा दिने पनि छन् । उनीहरूको पनि बिहे गर्ने उमेरै पुगेको छैन । सम्बन्धविच्छेदको मुद्दा लिएर अदालत पुग्ने कम उमेरका किशोरकिशोरी संख्यात्मक रूपमा बढी छन् ।
अदालतमा पर्ने सम्बन्धविच्छेदका कुल मुद्दामध्ये १४ देखि २० वर्ष उमेर समूहका किशोरीको संख्या ५० प्रतिशत छ । आव ०७३/७४ मा जिल्ला अदालतमा परेका कुल मुद्दाको ३७.२७ प्रतिशत मुद्दा सम्बन्धविच्छेदकै छन् जसमा ५० प्रतिशत मुद्दा २० वर्षमुनिकाकै रहेको जिल्ला न्यायाधीश डण्डपाणी शर्माले बताए । आव ०७३/७४ मा जिल्ला अदालतमा परेका ३ सय ६१ र आव ०७२/७३ बाट जिम्मेवारी सरेर आएका ८७ गरी ४ सय ४८ मध्ये १ सय ६७ मुद्दा सम्बन्धविच्ेछदकै थिए ।
‘यहाँ सम्बन्धविच्ेछदका लागि पर्ने मुद्दाका आधा मुद्दा २० वर्षमुनिका छन्,’ न्यायाधीश शर्माले भने, ‘पढाइलेखाइ गरी भविष्य बनाउने बेला बिहे र सम्बन्धविच्छेदको झमेलामा किशोरीहरू फस्नु ठूलो समस्या छ ।’ स्रेस्तेदार तेजप्रसाद पौडेलले गत साउनयता २६ सम्बन्धविच्ेछदका मुद्दा दर्ता भएको जनाए । गत आवबाट जिम्मवारी सरेर आएका २२ र चालु आवको हालसम्म परेकामा गरी ४८ मुद्दा सम्बन्धविच्छेदकै छन् ।
सानै उमेरमा बिहे गर्ने र उमेर बढ्दै जाँदा बालविवाहप्रति वितृष्णा जागेसँगै सम्बन्धविच्छेदका लागि निवेदन दिने गरेको जिल्ला बाल कल्याण समितिले जनाएको छ । बालअधिकार अधिकृत मानवीर ओलीले जिल्लामा बालविवाहको चलनले सम्बन्धविच्छेदका घटना बढी भएको बताए । ‘उमेर बढ्दै जाँदा सचेतता पनि थपिँदै जाने र त्यसैले बिहेको उमेर नपुग्दै सम्बन्धविच्छेद हुनुपर्ने बाध्यता सिर्जना भएको हुन सक्छ,’ ओलीले भने । समितिका अनुसार हाल जिल्लाको बालविवाहको दर ५७ प्रतिशत छ ।

प्रकाशित : भाद्र २९, २०७४ १०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?