कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

७२.०६ प्रतिशत मत खस्यो

काठमाडौं — प्रदेश २ का १ सय ३६ वटै स्थानीय तहमा सोमबार उत्साहजनक रूपमा मतदान भएको छ । निर्वाचन आयोगका अनुसार ७२.०६ प्रतिशत मत खसेको छ । तेस्रो चरणको स्थानीय चुनाव सकिएसँगै मुलुक संघीय संरचनामा बदलिएपछिको पहिलो स्थानीय चुनावले पूर्णता पाएको छ ।

 ७२.०६ प्रतिशत मत खस्यो

अब मुलुकभरका सबै स्थानीय तहमा जनप्रतिनिधि हुनेछन् ।

 यसअघि वैशाख ३१ र असार १४ मा पहिलो र दोस्रो चरण चुनाव भएका थिए । सोमबार भएको प्रदेश २ को चुनावमा पनि पहिलो र दोस्रो चरणकै जस्तो मतदाताको सहभागिता उत्साहजनक देखियो । 
प्रदेश २ को चुनावमा उम्मेदवारी दर्तादेखि मतदानसम्मै कुनै ठूलो अप्रिय घटना भएन । राजविराज नगरपालिकाको वडा १५ मा बाहेक अन्य सबै केन्द्रमा मतदान सम्पन्न भयो । उक्त वडामा भने राजपा उम्मेदवारको निधनका कारण असोज ५ मा मतदान तय भएको आयोगले जनाएको छ । 
अर्काको नाममा मत खसाल्न खोज्ने ३८ ‘नक्कली मतदाता’ र सुरक्षा भंग गर्न खोज्ने १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको आयोगले जनाएको छ । प्रदेश २ का १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ स्थानीय तहका लागि चुनाव भएको हो । यो चुनावबाट ६६२७ जनप्रतिनिधि निर्वाचित हुनेछन् । 

कुन जिल्लामा कति ?
रौतहट र बारा– ७५ प्रतिशत 
सिरहा– ७३ प्रतिशत
सर्लाही र पर्सा– ७२ प्रतिशत
सप्तरी, धनुषा र महोत्तरी– ७० प्रतिशत 

कुल मतदाता– २६ लाख ६४ हजार ५ सय ९० 
जम्मा खसेको मत– १९ लाख २० हजार ३ सय ७२ 

रातिदेखि नै गणना
मतदान सकिएलगत्तै निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका ल्याई मतगणना तत्काल सुरु गर्ने व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवका अनुसार सोमबार रातिबाटै गणना सुरु हुनेछ । स्थानीय तहको चुनाव सफलतापूर्वक सम्पन्न भएको र प्रदेश एवं प्रतिनिधिसभा चुनाव पनि सफल हुने उनले बताए । 

११६ वर्षे मतदाता !
प्रदेश २ को स्थानीय तह निर्वाचनमा वृद्धवृद्धाको पनि उत्साहजनक सहभागिता रह्यो । सर्लाहीको ईश्वरपुर नगरपालिका १४ हरकटवा मतदान केन्द्रमा १ सय १६ वर्षका भैरवबहादुर दमाईले मतदान गरे । निर्वाचन अधिकृत गुरुप्रसाद वाग्लेले सम्भवत: उनी जिल्लाकै जेठा मतदाता भएको बताए । 

मतदानलगत्तै मृत्यु
धनुषामा एक मतदाताको मतदान केन्द्रमै मृत्यु भएको छ । आफैं साइकल चलाएर मतदान केन्द्र पुगेका बटेश्वर गाउँपालिका– १ चित्रपुरका ६२ वर्षीय जोगी भन्ने योगेन्द्र सिंह महतोको हृदयाघातका कारण मृत्यु भएको हो । प्रत्यक्षदर्शीका अनुसार मतदान गरेर घेरा बाहिर आउनेबित्तिकै उनी बेहोस भएका थिए । सँगै रहेका छोरा चतुरानन्द सिंह महतोले उपचारका लागि जनकपुर लाने तयारी गरिरहेका बेला उनको मृत्यु भएको थियो । 

प्रकाशित : आश्विन ३, २०७४ ०६:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?