कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

केन्द्र र प्रदेशसभामा बहुमत ल्याउँछौं : ओली

दुर्गा खनाल

काठमाडौं — प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी ओलीले प्रदेश २ को स्थानीय तह चुनावमा सोचेजस्तो सफलता नपाए पनि मतका हिसाबले सन्तोषजनक अवस्था रहेको उल्लेख गर्दै मंसिरको चुनावमा ७ वटै प्रदेश र केन्द्रमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गरेका छन् ।

 केन्द्र र प्रदेशसभामा बहुमत ल्याउँछौं : ओली

झन्डै एक वर्षपछि बसेको केन्द्रीय समिति बैठकलाई शुक्रबार सम्बोधन गर्दै ओलीले अबको निर्वाचनबाट सातवटै प्रदेश र केन्द्रमा पनि एमाले नेतृत्वको सरकार बन्ने ठोकुवा गरे । स्थानीय चुनावको समग्र परिणाममा पार्टी पहिलो भएको उल्लेख गर्दै यही जनमतको आडमा मंसिरको चुनावमा सफलता हासिल गर्ने उनले उल्लेख गरे ।

‘सत्ताको दुरुपयोग, षड्यन्त्रलगायत कारण प्रदेश २ को परिणाम यस्तो आए पनि समग्रमा एमालेको मत राम्रो छ, आउँदा चुनावमा हामी त्यहाँ जित्छौं,’ ओलीले भने, ‘राष्ट्रिय स्वाधीनताको पक्षमा हामीले लिएको अडान ठीक रहेछ भन्ने चुनावले पनि पुष्टि गरेको छ ।’ स्थानीय चुनावको समग्र परिणामले पार्टीलाई उत्साहित बनाएको उल्लेख गर्दै ओलीले आम घेराबन्दीको बीचमा आएको परिणाम राम्रो भएको उल्लेख गरे । उनले नवौं महाधिवेशनले पास गरेको नीति र सिद्धान्तकै जगमा पार्टीले काम गरिरहेको र त्यहीअनुसारको चुनावी परिणाम हासिल गरेको बताए । 
बैठकलाई अध्यक्ष ओलीले सम्बोधन गरेपछि सचिव प्रदीप ज्ञवालीले अध्यक्षको प्रतिवेदन पढेका थिए । नेता माधव नेपालले भने पार्टी सञ्चालन गर्ने शैलीदेखि माओवादीसँगको गठबन्धन तोडेकासम्म विषयहरू ल्याएर अध्यक्ष ओलीको आलोचना गरे । उनले माओवादीसँगको सत्ता गठबन्धन तोड्नु एमालेको गल्ती भएको उल्लेख गरे । ‘माओवादीसँग सत्ता गठबन्धन तोड्नु गलत थियो, हाम्रो कारणले गठबन्धन तोडिएको थियो, यसमा गल्ती महसुस गर्नुपर्छ,’ उनले भने । त्यसबेला माओवादीसँग भएका वार्ताका प्रसंगसमेत उठाउँदै नेपालले गठबन्धन कायम रहेको भए स्थानीय चुनावमा प्रदेश २ लगायत अन्य क्षेत्रमा समेत अहिलेको भन्दा धेरै सिट बढी जित्न सकिने अवस्था हुने दाबी गरे । सरकारले नीति तथा कार्यक्रम पेस गरेपछि माओवादीलाई नेतृत्व हस्तान्तरण गर्ने सहमति भएको दाबी गर्दै नेता नेपालले ‘त्यस्तो सहमति भएकै छैन भन्ने दम्भ’ प्रदर्शन गरेर ओलीले गल्ती गरेको बताए । झलनाथ खनाल, वामदेव गौतम र आफूसहितको उपस्थितिमा भएको त्यो सहमति तोडिएको उनले उल्लेख गरे ।
महाधिवेशनदेखि नै पार्टी राम्ररी चल्न नसकेको भन्दै नेपालले आलोचना गरे । झन्डै एक वर्षपछि मात्रै केन्द्रीय समिति बैठक बसेको प्रसंगसमेत उल्लेख गर्दै उनले पार्टी एउटा कोटरी र गुटबाट मात्र सञ्चालन भइरहेको जस्तो देखिएको आरोप लगाए । विधिविधान पालनाभन्दा पनि गुटका आधारमा चल्ने परिपाटी जारी रहेको भन्दै नेता नेपालले आक्रोश व्यक्त गरे । प्रदेश २ लगायत स्थानीय तहका सबै चुनावको टिकट वितरणमा गुट हाबी भएको नेपालको भनाइ थियो । त्यही गुटले जथाभावी गर्दा प्रदेश २ को परिणामसमेत कमजोर भएको नेपालले बताए । उनले पटक–पटक भएका गलत निर्णय सच्याउने तत्परता नेतृत्वमा नभएको उल्लेख गर्दै समग्र विषयमा बैठकले समीक्षा गर्नुपर्ने प्रस्ताव राखे । कमीकमजोरीलाई सच्याएर अघि बढ्दा पार्टीको अवस्था राम्रो हुने, तर यही शैली दोहोरिए समस्या बढ्ने नेपालको भनाइ थियो । नेपालबाहेक शुक्रबारको बैठकमा अन्य कोही बोलेनन् ।
अध्यक्ष ओलीको प्रतिवेदनमाथि मात्र समूहगत छलफल गर्ने गरी समूह विभाजन गरिएको छ । ओलीले स्थानीय तहको चुनावको समीक्षा, राजनीतिक परिस्थिति र आगामी कार्यभार समेटिएको झन्डै २३ पृष्ठ लामो प्रतिवेदन केन्द्रीय समितिमा छलफलका लागि पेस गरेका छन् । ‘नवौं महाधिवेशनले पहिलो हैसियतमा पुर्‍याउने भन्ने लक्ष्य लिएको थियो, स्थानीय चुनावले त्यो बाटो तय गरेको छ, अब समग्र परिणाम त्यसरी नै ल्याउने गरी अघि बढ्नुपर्छ भन्ने प्रतिवेदनको मूल आशय छ,’ बैठकपछि केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख सूर्य थापाले भने । ओलीको प्रतिवेदनमा निर्वाचन केन्द्रित कार्यक्रम अघि बढाउने, प्रदेश र प्रतिनिधिसभाको चुनावका लागि उम्मेदवार छनोटका लागि मापदण्ड बनाउनेलगायत विषय समेटिएका छन् । प्रतिवेदनमा छलफल गर्न सातवटा प्रदेश र मार्चा संगठनका गरी ८ वटा समूह बनाइएको छ । ती समूहले शनिबार १ बजेसम्म छलफल गरी त्यसपछि बस्ने बैठकमा आफ्ना सुझाव पेस गर्नेछन् । 

प्रकाशित : आश्विन ७, २०७४ ०६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?