पर्यटक तान्न नुनढाकी गुफापोखरीका युवा धरान आए

प्रदीप मेन्याङ्बो

धरान — पूर्वको पर्यटकीयस्थल गुफापोखरी–नुनढाकी र प्राकृतिक रूपमै बाफसहित निस्कने तातोपानीको संरक्षण संवद्र्धन गर्दै स्थानीय युवा प्रचारप्रसारमा जुटेका छन् ।

लालीगुराँसको राजधानी भनेर पहिचान बनाएको तीनजुरे–मिल्के–जलजलेअन्तर्गत एक भाग गुफापोखरी–नुनढाकी हाल संखुवासभाको चैनपुर नगरपालिकाअन्तर्गत पर्छ ।

धरानदेखि नुनढाकी १ सय ६२ किमि पार गरेपछि पुग्न सकिन्छ । लिम्बू भाषामा लुङको अर्थ ढुंगा हुन्छ । लिम्बू भाषाबाट लुङ्थाकीबाट नुनढाकी हुन पुगेको हो । पछिल्लो समयमा सोही क्षेत्रको पर्यटकीय स्थलमा पर्यटक भित्र्याउन स्थानीय समुदाय एकजुट भएका छन् । 
दसैंको बेला भए पनि प्रचारप्रसार गर्दै राज्यको ध्यानाकर्षण गर्न बुधबार धरान आइपुगेका पर्यटकीय स्थल संरक्षण समिति सदस्य अमिनसिंह थक्लुङले भने, ‘प्राकृतिक स्रोतसाधानले भरिपूर्ण, पर्यटकीय र ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण भए पनि तीनजुरे–मिल्के–जलजलेको एक भाग गुफापोखरी–नुनढाकी क्षेत्र ओझेलमा परेकाले गुरुयोजनासाथ हामी अहिले प्रचारप्रसारमा छौं ।’
आफ्नो क्षेत्रको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र रमणीय पर्यटकीय स्थलको पहिचान र विकास गर्दै स्थानीय समुदायको आर्थिकस्तर वृद्धि गर्ने उद्देश्यले नुनढाकी तातोपानी पर्यटकीय परियोजना नै तयार पारेर उनीहरू प्रचारप्रसारमा जुटेका छन् । जाडामा बिहानै नौ ढुंगेधाराबाट तातोपानी बगिरहने भएकाले त्यहाँ नुहाउँदा रोगव्याधी निको हुन्छ भन्ने मान्यता रहेको पनि उनले बताए । 
उनले सुंखवासभा नुनढाकी नेपालकै उत्कृष्ट पर्यटकस्थलका रूपमा सम्भावना बोकेको क्षेत्र भए पनि पर्यटकको नजरमा पार्न अथक प्रयास गरिरहेको बताए । उनका अनुसार साबिक गाविस नुनढाकीमा वार्षिक रूपमा ७ हजारदेखि १० हजार रुपैयाँसम्म बाह्य तथा आन्तरिक पर्यटक पुग्छन् ।
त्यहाँ पुग्ने जोकोही पनि नुनढाकी गुफापोखरीको प्राकृतिक मनोरम दृश्यावलोकलन गरेपछि मोहित, प्रकृतिसँग रमाउँछन् । त्यहाँको मुख्य आकर्षण तातोपानी पोखरी, २४ सैं घण्टा तातोपानी बगिरहने नौ ढुङ्गेधारा, सिंहदेवी मन्दिर, महादेवथान, चौराससहित पशुपति मन्दिर र विभिन्न गुफा हुन् । 
थक्लुङले भने, ‘तेह्रथुम, ताप्लेजुङ र संखुवासभाको संगमस्थल तीनजुरे–मिल्के–जलजले पर्यटकीय क्षेत्रको प्रवद्र्धन हुन नसक्दा स्थानीय जनता र राज्यले फाइदा लिन सकेको छैन । हामीले यसैका लागि पर्यटन बोर्डमा गुरुयोजनाको फाइल पनि पठाएका छौं ।’ समुद्र सतहदेखि २८ सय ९० मिटर उचाइमा रहेको गुफा बजार र नजिकै रहेको गुफापोखरी पर्यटकीय स्थल हो । गुफापोखरीदेखि केही उत्तरपूर्वको सुके बजार, पूर्वका विभिन्न ठाउँ नियाल्न सकिने सुन्दर डाडाँ मेन्छ्यायेम पनि उत्तिकै लोकप्रिय छ । मेन्छ्यायेमबाट सूर्याेदय र सूर्यास्त दृश्य अनि पूर्वका सुन्दर हिमशृंखला हेर्न सकिन्छ । त्यहाँको लुङथाकी अर्थात् ढुंगाको थाकले पनि धेरैलाई कौतुहल सिर्जना गर्छ ।
प्राकृतिक स्रोतसाधनलाई संरक्षण र संवद्र्धन गर्न, थप आकर्षक बनाउन आधारभूत पूर्वाधार तयारीका लागि बेलायत, सिंगापुर, मकाउ, कतारमा रहेका नुनढाकीका युवाले आर्थिक संकलन पनि गरिरहेको उनले जनाए । समुद्र सतहदेखि एक हजार पाँच सय मिटर उचाइको उक्त पर्यटकीय क्षेत्र विकासका लागि प्रेम सञ्जय थक्लुङ संयोजकत्वमा २१ सदस्यीय नुनढाकी तातोपानी धार्मिक तथा पर्यटकीय स्थल संरक्षण समिति गठन गरी दीर्घकालीन गुरुयोजना बनाएको छ । 
सरकारीस्तरबाट समेत उक्त क्षेत्रको विकास र प्रवद्र्धनका लागि उपेक्षा गरिएकाले प्रवद्र्धन गर्नका लागि समितिले यो वर्षको बालाचर्तुदशीका दिन विशेष कार्यक्रम बनाएर त्यहाँको स्वरूपलाई अझै आकर्षक बनाउने योजना बनाएको छ । गुरुयोजनाअनुसार नुनढाकी गुफापोखरीमा भीमसेन टावर, युरुहाङ स्मारक, सामुदायिक भवन, शौचालय, संग्रहालय, गुम्बा, चर्च, मन्दिर, बास्केटबल कोर्ट, फुटबल मैदान, प्रहरी चौकी निर्माणका लागि पूर्वाधार तयारीमा करिब ४ करोड ३१ लाख अनुमानित बजेट बनाइएको छ । 

प्रकाशित : आश्विन १२, २०७४ १०:३८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

राष्ट्रपतिद्वारा पलाञ्चोक भवगतीको दर्शन र पूजापाठ

नगेन्द्र अधिकारी

काभ्रे — राष्ट्रपति विद्यादेवी भण्डारीले महाअष्टमीको दिन बिहीबार काभ्रेको पलाञ्चोक-९ मा रहेको पलाञ्चोक भवगतीको दर्शन र पूजापाठ गरेकी छन् ।

बिहीबार बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत राष्ट्रपति यहाँ आएकी हुन् । उनी नेपाली सेनाको वीरेन्द्र शान्तिकार्य तालिम केन्द्रमा अवरणपछि मन्दिर पुगेकी हुन् । उनको साथमा छोरी उषाकिरण भण्डारीलगायत सहभागी छन् ।

राष्ट्रपति भण्डारीलाई काभ्रेका प्रमुख जिल्ला अधिकारी एवं पलाञ्चोक भवगती विकास तथा सेवा समिति अध्यक्ष शिवप्रसाद सिंखडालगायतले स्वागत गरे । गणतन्त्रपछि पलाञ्चोक भगवती मन्दिरमा

राष्ट्रप्रमुख सहभागी भएको यो पहिलो पटक हो । यसअघि २०७१ कात्तिकमा तत्कालीन उपराष्ट्रपति परमानन्द झा आएका थिए ।

मन्दिर विकास समितिले राष्ट्रपति भण्डारीलाई मन्दिरको जीर्णोद्धार ऐतिहासिकताबारे जानकारी गराउने कार्यक्रम छ ।

प्रकाशित : आश्विन १२, २०७४ १०:३८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT