१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सहकारीले महिला आत्मनिर्भर बन्दै

जीविकोपार्जनका लागि सहज
कान्तिपुर संवाददाता

दार्चुला — ग्रामीण क्षेत्रमा बसोबास गर्ने महिलालाई आत्मनिर्भर बनाउन सहकारी संस्था भरपर्दो माध्यम बनेका छन् ।

ग्रामीण समुदायमा छरिएर रहेको पुँजी संकलन गरी गरिबीको रेखामुनि रहेका महिलालाई सरल ढंगले ऋण प्रदान गर्दै सहकारी आत्मनिर्भरताको भरपर्दो माध्यम बन्न थालेका हुन् ।

समुदायले सहकारीबारे जानकारी पाएपछि अहिले गाउँगाउँमा सहकारी संस्था स्थापना हुने क्रम बढ्दै गएको छ । विगतमा पुरुषहरू रोजगारीका लागि विदेश जाने तथा महिला घरकै काममा सीमित हुने गरे पनि अहिले सहकारीमार्फत विभिन्न आयआर्जनका काम गरी महिला आत्मनिर्भर बनेका हुन् । 
सहकारी संस्थाबाट क्रण लिएर उनीहरूले तरकारी उत्पादन, खुद्रा पसल सञ्चालन, गलैंचा बुनाइ, सिलाइकटाइ, बाख्रापालनलगायत आयआर्जनमूलक व्यवसाय सञ्चालन गरी आत्मनिर्भर बनेका छन् । पहिले साहूको घरदैलो पुगेर चर्को ब्याजमा ऋण लिन बाध्य हुने अहिले सहकारीबाट सहुलियत ब्याजदरमा सजिलै ऋण लिन थालेका छन् । 
जिल्लामा महिलाले सञ्चालन गरेका सहकारीले आयआर्जनका क्षेत्रमा बढी लगानी गर्दै आएका छन् । यहाँका महिला सहकारीमार्फत व्यावसायिक बन्न थालेपछि पुरुषको भर पर्नुपर्ने बाध्यतामा विस्तारै कमी आउँदै आएको बताउँछन् । महिला व्यावसायिक बनेपछि आफ्ना बालबालिकालाई पढाइ र लालनपालनमा सहयोग पुगेको ब्यास २ की रुकमती बुढाथोकी बताउँछिन् । 
यस्तै मालिकार्जुन गाउँपालिका ३ मा रहेको मालिकार्जुन महिला बहुउद्देश्यीय सहकारी संस्था महिलाको सहयात्री बनेको छ । ०६६ मा स्थापना भएको उक्त सहकारीले महिलालाई आत्मनिर्भर बनाउन ठूलो सहयोग गरेको छ । एक सय ७७ सेयर सदस्य रहेको उक्त बहुउद्देश्यीय संस्थामा ५९ समूह, ११ समिति छन् । उनीहरूले मासिक रूपमा न्यूनतम २५ देखि एक हजार रुपैयाँसम्म बचत गर्ने गरेका छन् । आफ्नै समूहमा बचत गर्ने र त्यहींबाट सहुलियत ऋण निकालेर व्यवसाय गर्न आफूलाई सजिलो भएको मालिकार्जुन २ की कौशिल्या धामीले बताइन् ।

प्रकाशित : आश्विन १२, २०७४ १०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?