कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

किशोरीले जुटाए क्यान्सरपीडितलाई सहयोग

कान्तिपुर संवाददाता

कालिकोट — दसैं बिदामा काठमाडौंबाट घर फर्किएका ४ किशोरीसहित ६ जनाले नमुना काम गरेर मान्ममा स्याबासी पाएका छन् ।

किशोरीले जुटाए क्यान्सरपीडितलाई सहयोग

जुम्ला घर भई कालिकोट मान्म बजारमा जुत्ता सिलाइ गर्दै आएका मुनबहादुर सार्की अजम्मरीको उपचारार्थ ४४ हजार ७ सय संकलन गरी हस्तान्तरण गरेपछि सबैबाट उनीहरूले स्याबासी पाएका हुन् ।

उपचार खर्च नपाएर समस्यामा रहेका सार्कीलाई सहयोग जुटाउन सोमबार काठमाडौंमा इन्जिनियर विषय अध्ययनरत खाडाचक्र १ की १९ वर्षीया नेन्जा शाही, स्नातक अध्ययनरत बिमा शाही, स्नातकोत्तरकी बिनु शाही, काभ्रे स्कुलमा १० कक्षामा अध्ययनरत नेहारिका शाही, मान्मस्थित महादेव बालमन्दिरमा कक्षा ३ का स्वस्तिका शाही र ५ मा अध्ययन गर्ने मनिका बुढाले ब्यानर बनाएर मान्म बजारमा रकम संकलन गरेको समाजसेवी यशोदा शाहीले बताइन् । 
घरनजिकै बस्ने जुत्ता सिलाउने सार्कीको समस्या सुनाएपछि किशोरीले हामी सहयोग गर्छौं भनेर मान्म बजारमा सहयोग जुटाएको रक्की खेलकी राष्ट्रिय खेलाडी बिनुले सुनाइन् ।
समस्यामा रहेका सार्कीको उपचारका लागि अनुकरणीय काम गरेको भन्दै मंगलबार बिहान सुन्दर तथा समृद्ध कालिकोट अभियानका अगुवा तथा तरुण दलका महामन्त्री भूपेन्द्रजंग शाहीले गरेको दसैंको शुभकामना आदानप्रदान तथा चियापान समारोहमा प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरे, प्रहरी नायब उपरीक्षक सुवास बोहरा, सञ्चारकर्मी, राजनीतिक दलका नेतासहितले किशोरीलाई दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।
तीन महिनाअघि घुँडामा सानो पिलो आएर बढ्दै घाउ सडेर क्यान्सर हुन लागेपछि जिल्ला अस्पताल मान्ममा जाँच गराउँदै उपचार गर्न जिल्ला बाहिर जानुपर्छ भने पनि रकम अभावले जिल्लामै थिए ।
चार छोरी, पत्नीसहित ३ वर्षअघि कामको खोजीमा कालिकोट मान्म आएका सार्की दैनिक जुत्ता सिलाएर परिवार पाल्दै आए पनि ३ महिनायता काम गर्न नसक्ने भएपछि समस्यामा छन् । ‘अस्पतालमा चेक गराउँदा डाक्टरले क्यान्सर हुन सक्छ भन्दै चितवन जान सल्लाह दिए ।’ सार्कीले भने, ‘पैसा छैन जान सक्दैन भनेर यतै छु ।’ उनले क्यान्सर बिरामका लागि बहिनीहरूले बाटो खर्च जुटाइदिए पनि उपचार गर्ने रकम अपुग भएको सुनाए । जुम्ला चन्दननाथका सार्कीको घरमा वृद्धा आमा छिन् । जग्गाजमिन छैन । आफू बिरामी परेपछि ३ छोरी घर पठाएका छन् । ३३ वर्षीया पत्नी मुनमाया र ३ वर्षकी कान्छी छोरी सरला उनको हेरचाहमा छन् ।

प्रकाशित : आश्विन १२, २०७४ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?