१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

गठबन्धन फेरबदलको पहल

-एमालेको रणनीति : सके माओवादी केन्द्रसँग एकता, नभए तालमेल
-जवाफ दिन माओवादीले पनि बनायो समिति
बालकृष्ण बस्नेत

काठमाडौं — दसैंको रौनकले गाउँसहरलाई छोपेका बेला राजनीतिक वृत्तलाई भने एमाले र माओवादी केन्द्रबीच पार्टी एकता वा आसन्न निर्वाचनमा तालमेलको प्रसंगले तरंगित बनाएको छ ।

 गठबन्धन फेरबदलको पहल

मंसिरमा हुन लागेको संघ र प्रदेश निर्वाचनको पूर्वसन्ध्यामा बहसमा आएको यो नयाँ समीकरणको चर्चापछि वर्तमान सत्ता गठबन्धनको भविष्यमाथि पनि प्रश्न उठ्न थालेको छ । 

एमालेले माओवादीसँग सके पार्टी एकता गर्ने, त्यो नभए चुनावी तालमेल गर्ने रणनीति लिएको छ । उसले आइतबार स्थायी समिति बैठकबाटै वाम तालमेल र एकीकरण जरुरी भएको भन्दै त्यसका लागि पहल गर्ने निर्णय लिएको थियो । प्रस्ट छ, उक्त निर्णय मुख्यत: माओवादी केन्द्रप्रति नै लक्षित छ । माओवादी केन्द्रको सोमबारको सचिवालय बैठकमा पनि यो विषयले प्रवेश पाएको छ । 

‘हामीले त पार्टीबाट निर्णय गराएरै एकताबद्ध हुनका लागि ढोका खुला गरेका हौं । माओवादीतर्फबाट पनि आधिकारिक रूपमै आउला,’ पछिल्लो वाम समीकरणबारे एमाले वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कान्तिपुरसँगको संक्षिप्त कुराकानीमा भने । माओवादी केन्द्रको सचिवालय बैठकले पनि एमालेको प्रस्तावलाई सकारात्मक रूपमा लिँदै यसबारे अन्तिम निर्णय लिन अध्यक्ष पुष्पकमल दाहाल, नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल रहेको समिति बनाएको छ । ‘एमालेको प्रस्ताव सकारात्मक छ । हामी त्यसबारे चाँडै निर्णय दिन्छौं,’ बैठकपछि नेता श्रेष्ठले जानकारी दिए । यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बन्दा जुटेको दुई पार्टीसहितको गठबन्धन ९ महिनामा टुटेको थियो । ओली सरकारपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल कांग्रेससँग गठबन्धन गरी अघिल्लो वर्षको साउनमा दोस्रोपल्ट प्रधानमन्त्री बनेका थिए । त्यसयता लगातार कांग्रेस–माओवादी केन्द्रको गठबन्धन जारी छ भने एमाले प्रमुख प्रतिपक्षीको भूमिकामा छ । पछिल्लो समय दुई वामपन्थी पार्टी मिलेर अघि बढ्नुपर्नेमा नेताहरूबीच एकमत रहेको वरिष्ठ नेता नेपालले बताए । ‘इतिहासले पनि त्यही देखाउँछ । हरेक परिवर्तनमा वामपन्थीहरू मिलेरै आएका छन् । अहिले पनि मिल्छौं,’ उनले भने ।

स्रोतका अनुसार ओली निवास बालकोटमा बसेको स्थायी समिति बैठकमा माओवादी केन्द्रसँगको एकता र तालमेलका सन्दर्भमा कुनै नेताले पनि फरक मत राखेका थिएनन् । वामपन्थी, प्रगतिशील र राष्ट्रवादी शक्ति एकबद्ध हुनुपर्ने बैठकले औंल्याएको थियो । एमाले सचिव प्रदीप ज्ञवालीले केही सातादेखि यस विषयमा दुई दलका नेताबीच छलफल चलिरहेको जानकारी दिए । दुई दलबीच साझा चिह्नमा चुनाव लड्ने, गठबन्धन सञ्चालन गर्न संयोजन कमिटी बनाउने र दुवै दलको अध्यक्ष हाइकमान्ड हुने प्रस्तावमा समेत छलफल भइरहेको छ । ‘मिलेर जानुपर्छ भन्नेमा एमालेले नीतिगत निर्णय गरिसकेको छ । विभिन्न चरणमा वार्ताहरूसमेत भइरहेका छन्,’ नेता ज्ञवालीले भने । स्रोतका अनुसार चुनाव चिह्न सूर्यमा दुवै दल तयार देखिएका छन् ।

एमालेले एकताका लागि २ वटा सर्त राखेको छ । पहिलो वर्तमान सत्ता गठबन्धनबाट अलग हुने र दोस्रो एकभन्दा बढी वामपन्थी पार्टी अस्तित्वमा रहन सक्छन् भन्ने कुरा नीतिगत रूपमा स्वीकार गर्नुपर्ने । 

‘हामीले मूलत: यिनै २ वटा प्रस्ताव राखेका छौं,’ नेता ज्ञवालीले भने । यसअघि माओवादी केन्द्र अध्यक्ष दाहालले एउटा मुलुकमा दुई वा बढी वामपन्थी दल अस्तित्वमा हुन नसक्ने भन्दै एमालेको आलोचना गरेका थिए । एमालेको निर्णय सार्वजनिक भएकै दिन माओवादी केन्द्रका नेता वर्षमान पुनले रोल्पामा दुई पार्टीबीच एकीकरण सम्भव भएको टिप्पणी गरेका थिए । पुन: कांग्रेससँग समीकरण गर्ने नेतामध्येका एक मानिन्छन् । स्थानीय तहका तीन चरणका निर्वाचनपछि समग्रमा एमाले नै एक नम्बरमा रह्यो भने प्रदेश २ मा कांग्रेस पहिलो पार्टी बन्यो । 

समीकरण फेरबदलको सम्भावित कारण 

कांग्रेस–माओवादी नयाँ गठबन्धन बनेको १४ महिना नपुग्दै वाम गठबन्धनको गृहकार्य सुरु भएको छ । गठबन्धन धरमरमा पर्नुको कारण आधिकारिक रूपमा प्रमुख कुनै दलले नभने पनि यसबीच कांग्रेस–माओवादी केन्द्रबीचको सत्ता सहकार्यको अनुभव, स्थानीय तहको चुनावी परिणाम, दलका एजेन्डामा आपसी तिक्तता र आउँदो मंसिरमा हुने प्रदेश र केन्द्रको चुनाव नै गठबन्धन फेरबदलको कारण हुन सक्ने देखिन्छ ।कांग्रेस र माओवादी केन्द्रले चाहेर पनि प्रदेश २ मा चुनावी तालमेल गर्न सकेनन् । छिटपुट रूपमा भएका तालमेल पनि सफल भएनन् । यी दुई दलसँग परिणाममा पहिलो र दोस्रो भए पनि तालमेल हुन नसकेको तीतो अनुभव छ । उता एमालेले पनि तराई–मधेसमा आकलन गरेजति मत प्राप्त गर्न सकेन । एक अर्थमा उसले मधेसमा आफ्नो स्थानलाई ‘मिस’ गरेको छ । माओवादी केन्द्रसँग सहकार्य हुन सकेको भए एमाले प्रदेश २ मा पनि पहिलो स्थानमा आउन सक्ने नेताहरूको विश्लेषण छ । किनकि माओवादी केन्द्र एक्लैले उक्त प्रदेशमा दोस्रो स्थान हासिल गरेको छ । कतिपय पदमा एमालेका उम्मेदवार थोरै मतान्तरमा पराजित भएका छन् । 

कांग्रेस र माओवादी केन्द्रका विपरीत धारका सिद्धान्त र पार्टी एजेन्डाले आगामी चुनावमा असर पर्ने आशंका पनि छ । सोमबारकै माओवादी सचिवालय बैठकमा बोल्ने कतिपय नेताले यो प्रश्न उठाएका थिए । ‘पार्टीले बोकेका सिद्धान्त नमिले कार्यगत एकता गर्दा जनतामाझ फेस गर्न गाह्रो पर्छ । त्यसैले पनि कार्यगत एकताबारे पुनरावलोकन गर्नुपर्छ भन्ने कुरा उठ्यो,’ सचिवालय बैठकमा सहभागी एक नेताले सुनाए ।

त्रिपाठीको एमालेसँग गठबन्धन

राष्ट्रिय जनता पार्टीका नेता हृदयेश त्रिपाठीसहित ५ जना मधेस केन्द्रित नेताहरू एमालेको सूर्य चिह्न लिएर आगामी केन्द्र र प्रदेशको चुनाव लड्ने भएका छन् । उनीहरूले स्वतन्त्र राजनीतिक समूह नाम दिई एमालेसँग चुनावी तालमेल गर्ने भएका छन् । 

कपिलवस्तुका बीके गुप्ता, बाँकेका पशुपतिदयाल मिश्र, कपिलवस्तुका ईश्वरदयाल मिश्र र बाँकेका जगदीश शुक्लाले उक्त निर्णय गरेका हुन् । एमालेका तर्फबाट महासचिव ईश्वर पोखरेल र समूहमा आबद्ध नेताहरूले संयुक्त रूपमा हस्ताक्षर गरी सोमबार विज्ञप्ति जारी गरेका हुन् ।

प्रकाशित : आश्विन १७, २०७४ ०६:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?