२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

एमाले, माओवादी केन्द्र र नयाँ शक्ति नेपालबीच भएको ६ बुँदे सहमति

कान्तिपुर संवाददाता

काठमाडौं — २००६ सालमा स्थापित नेपाल कम्युनिस्ट पार्टी वर्ग संघर्ष, विचारधारात्मक संघर्ष र व्यावहारिक प्रयोगका अनेक शृंखलालाई पार गर्दै आजको अवस्थामा आइपुगेको छ ।

एमाले, माओवादी केन्द्र र नयाँ शक्ति नेपालबीच भएको ६ बुँदे सहमति

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को नीतिगत र व्यावहारिक नेतृत्वमा राजतन्त्रको अन्त्य गर्दै लोकतान्त्रिक गणतन्त्र, संघीयता, समानुपातिक समावेशिता, धर्मनिरपेक्षता र सामाजिक न्यायसहितको समाजवाद उन्मुख संविधान निर्माण गर्न सम्भव भएको छ । फरक–फरक पृष्ठभूमिका साथ अघि बढेका हामी राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता, भौगोलिक अखण्डता, राष्ट्रिय हित एवं स्वाभिमानको रक्षा गर्दै संविधानसभाबाट पारित नेपालको संविधानको रक्षा र प्रयोगका क्रममा देश र जनताको आवश्यकताअनुसार परिमार्जन र विकास गर्दै, लोकतात्रिक प्रणाली र शान्तिपूर्ण प्रतिस्पर्धाको माध्यमबाट सामाजिक, आर्थिक तथा सांस्कृतिक रूपान्तरण गर्ने र समृद्ध, समुन्नत एवं न्यायपूर्ण समाजको निर्माण गर्दै समाजवादका आधार तयार गर्ने साझा निष्कर्षमा आइपुगेका छौं । मजदुर, किसान श्रमजीवी, दलित, महिला, जनजाति, मधेसी, थारू, मुस्लिम, उत्पीडित समुदाय र पिछडिएका क्षेत्रका जनताको अधिकार र हितका पक्षमा संवैधानिक, कानुनी र व्यावहारिक रूपमा सम्बोधन गर्दै अघि बढ्न प्रतिबद्ध छौं ।

नेपाली जनताले एकताबद्ध कम्युनिस्ट पार्टीको नेतृत्वमा मुलुक अघि बढेको देख्न चाहेका छन् । हाम्रो पृष्ठभूमि र जनताको चाहना एवं राष्ट्रको आवश्यकताले पनि हामीलाई एकताबद्ध हुन र एकीकृत कम्युनिस्ट पार्टी निर्माण गर्न निर्देशित गरिरहेका छन् । तसर्थ हामी हाम्रा आफ्नै अनुभव र जनता एवं राष्ट्रको आवश्यकतालाई हृदयंगम गर्दै नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँ शक्ति पार्टी नेपालका बीचमा एकीकरण गरी एउटै कम्युनिस्ट पार्टी निर्माण गर्न सहमत भएका छौं । हामी पार्टी एकीकरण गर्ने उद्देश्यका साथ तत्काल निम्नानुसार अघि बढ्ने निर्णयमा पुगेका छौं :

 

१. नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँ शक्ति पार्टी नेपालबीच पार्टी एकीकरण गरी एउटै कम्युनिस्ट पार्टी निर्माण गर्ने उद्देश्यका साथ हाललाई ८ सदस्यीय पार्टी एकता संयोजन समिति गठन गर्ने । उक्त समितिमा नेकपा (एमाले) का तर्फबाट ४ जना, नेकपा (माओवादी केन्द्र) का तर्फबाट ३ जना र नयाँ शक्ति पार्टी नेपालका तर्फबाट १ जना नेता रहने । नेकपा (एमाले) का अध्यक्ष र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष उक्त समितिमा प्रमुख नेताको भूमिकामा रहने । पार्टी एकता संयोजन समितिका निर्णयहरू सहमतिका आधारमा गर्ने । पार्टी एकता र संगठनात्मक एकताको विस्तृत खाका र कार्ययोजना पार्टी एकता संयोजन समितिले तयार पार्ने । सहमति हुन बाँकी विषयहरूमा आपसी छलफलद्वारा सहमति कायम गरिनेछ । वैचारिक छलफल तथा बहसद्वारा नेपाली क्रान्तिको सिद्धान्तलाई विकसित गर्दै लगिनेछ ।

 

२. एकीकृत पार्टीको नीति–कार्यक्रमको घोषणापत्र र विधान तयार गर्न तीनवटै पार्टीका प्रतिनिधिहरू सम्मिलित दस्तावेज मस्यौदा समिति गठन गर्ने । प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपश्चात् विधिवत् पार्टी एकता सम्पन्न गर्ने । 

 

३. पार्टी एकीकरणको वैचारिक र संगठनात्मक काम पूरा नभएसम्म आ–आफ्ना विचार व्यक्त गर्न र स्वस्थ बहस गर्न सकिने । तर पार्टी एकीकरणको आधार सुदृढ बनाउन एकअर्काप्रति सार्वजनिक रूपमा नकारात्मक टिप्पणी र आलोचना नगर्ने । पार्टी एकीकरणको यस महान् उद्देश्यअनुरूप अघि बढ्न आ–आफ्नो पार्टी पंक्तिलाई आहान गर्ने । छरिएर रहेका सबै कम्युनिस्ट तथा वामपन्थी पार्टी तथा समूहहरूलाई एकीकरणको यही प्रवाहमा समाहित हुन अपिल गर्ने ।

 

४. आगामी २०७४ साल मंसिर महिनामा सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभाका प्रत्यक्षतर्फका निर्वाचनहरूमा नयाँ शक्ति पार्टी नेपाल र अन्य पार्टी एवं समूहका लागि आपसी सहमतिमा निर्वाचन क्षेत्र निर्धारण गरी नेकपा (एमाले) का ६० प्रतिशत र नेकपा (माओवादी केन्द्र) का ४० प्रतिशत उम्मेदवार हुने गरी आपसी तालमेल गर्ने ।

 

५. उक्त निर्वाचनमा साझा घोषणापत्रका आधारमा सहभागी हुने । त्यसका लागि तीनै पार्टीका प्रतिनिधिहरू सम्मिलित प्रतिनिधिसभा निर्वाचन घोषणापत्र मस्यौदा समिति गठन गर्ने । प्रदेश तहमा पनि संयुक्त घोषणापत्र तयार गर्न सकिने ।

 

६. आगामी प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा सहकार्य तथा तालमेलका लागि सम्पूर्ण लोकतान्त्रिक, प्रगतिशील तथा देशभक्त शक्तिहरूलाई आह्वान गर्ने ।

 

प्रकाशित : आश्विन १८, २०७४ ०६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?