२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

मुस्ताङमा बस दुर्घटना- चालकसहित तीनको मृत्यु

कान्तिपुर संवाददाता

म्याग्दी — मुक्तिनाथ दर्शन गरी फर्कंदै गरेका तीर्थयात्री चढेको बस दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई बच्चासहित १९ यात्रु घाइते छन् ।

ग१ख ५५२९ नम्बरको बस बाहगाउँ मुक्तिक्षेत्र गाउँपालिका ४ कागबेनीको सिरानमा मंगलबार साँझ ५:३० बजे दुर्घटनामा परेको हो । प्रहरीका अनुसार विराटनगरका गणेश सुवेदी, चालक बागलुङका खेम बुढामगर र एक सनाखत नभएकी महिलाको घटनास्थलमै मृत्यु भएको छ ।
घाइतेको जिल्ला अस्पताल जोमसोममा उपचार भइरहेको छ । बस कालोपत्रे, भिरालो सडकको घुम्तीबाट करिब सय मिटर तल बगरमा खसेको थियो ।
‘दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । मृतकको प्रारम्भिक विवरण मात्र प्राप्त भएको छ, पूर्ण सनाखत हुन बाँकी छ,’ मुस्ताङ प्रहरी प्रमुख डीएसपी रामहरि पाण्डेले भने, ‘दुई बालबालिकासहित १९ घाइतेको जोमसोम अस्पतालमा उपचार भइरहेको छ । थप उपचारका लागि अन्यत्र लैजान सक्ने अवस्था छैन ।’
मुस्ताङ जिप तथा बस व्यवसायी समितिका क्यु संयोजक मिङ्युर गुरुङले भिरालो घुम्तीमा ब्रेक फेल भएर दुर्घटना भएको अनुमान गरे ।
दुर्घटनामा बालिकाको मृत्यु
गोरखा– सदरमुकामबाट आँबुखैरेनीतर्फ जाँदै गरेको बा१ज ४३४९ नम्बरको ट्याक्सीले गोरखा १३ स्थित तीनकिलोमा सोमबार ठक्कर दिँदा ४ वर्षीया बालिका नेबिसा गुरुङको मृत्यु भएको छ । सडक पार गर्न खोज्दा उनलाई ट्याक्सीले ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएकी गुरुङलाई उपचारका लागि पोखरा लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । चालक र ट्याक्सी प्रहरी नियन्त्रणमा रहेको प्रहरी नायब उपरीक्षक भेषराज रिजालले बताए ।
बस–कन्टेनर जुधे
नुवाकोट– पासाङल्हामु मार्गको विनपा ५ माझीटारमा दुई सवारीसाधन ठोक्किँदा ११ यात्रु घाइते भएका छन् । मंगलबार बिहान त्रिशूलीबाट काठमाडौंतर्फ जान लागेको यात्रुवाहक ना३ख ६३४७ नम्बर बस र पीपलटारबाट त्रिशूली आउँदै गरेको बा३ख ६३७० नम्बरको कन्टेनर जुधेका हुन् । घाइतेमध्ये केही जिल्लाका अस्पतालमा उपचारपछि घर फर्केका छन् भने कसैलाई थप उपचारका लागि राजधानी लगिएको प्रहरीले जनाएको छ । घाइतेको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी मधुकरजंग विष्टले बताए ।

प्रकाशित : आश्विन १८, २०७४ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?