२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

देवनारायण र अजयलाई छुटाउन पहल

कान्तिपुर संवाददाता

सप्तरी — भारतीय प्रहरीद्वारा पक्राउ गरिएका कोइलाडी तिलाठी गाउँपालिका–२ का सीमा बचाउ अभियानका अगुवा देवनारायण यादव र छोरा अजयकुमार यादवलाई छुटाउन स्थानीय प्रशासनले प्रक्रिया अघि बढाएको छ ।

भारतको सुपौल जिल्लास्थित कुनौली थानामा मंगलबार भारतीय र नेपाली अधिकारीबीच यसबारे छलफल भएको छ । 
सप्तरीका प्रजिअ भगीरथ पाण्डेले दुवैजना बुधबारसम्ममा छुट्ने बताए । ‘सुपौलका डीएमलगायत सुरक्षा अधिकारीसँग कुरा भएको छ,’ उनले भने, ‘देवनारायण र उनका छोरालाई छुटाउन प्रक्रिया सुरु भएको छ । देवनारायण बुधबारसम्ममा छुट्ने विश्वास छ ।’ अदालती प्रक्रियाका कारण अजयको रिहाइमा भने केही समय लाग्ने पाण्डेले बताए । 
भारतीय प्रहरीले ज्योतिकुमारीको अपहरण गरेको आरोपमा देवनारायण र अजयलाई पक्राउ गरेको थियो । प्रजिअ पाण्डेले अजयकी पत्नी ज्योतिको भारतस्थित माइती पक्षलाई भेटी उनको उमेर पुगेको प्रमाण कुनौली थानामा बुझाएका छन् । ज्योतिको आधार कार्डबाट उनको उमेर १८ वर्षभन्दा बढी देखिएकाले उनीहरूलाई छुटाउन सहज भएको पाण्डेले बताए । ‘भारतीय सुरक्षा अधिकारीले ज्योतिको बयानपछि छुटाउन सहज हुने भनेकाले मंगलबारै उनलाई वीरपुर न्यायालय पठाइएको छ,’ उनले भने । 
पाण्डेका अनुसार देवनारायण र अजयलाई मंगलबार भारतीय प्रहरीले वीरपुर न्यायालयमा हाजिर गराएको छ । ‘न्यायालयमा बयान लिने एउटा र आदेश गर्ने न्यायाधीश अर्कै हुने रहेछन्,’ उनले भने, ‘मंगलबार बयान लिने न्यायाधीशमात्रै उपस्थित रहेकाले छुटाउन सकिएन ।’ 
कुनौली–१ की ज्योतिसँग प्रेमसम्बन्धमा रहेका अजयले उनीसँग भागी विवाह गरेका हुन् । ज्योतिको परिवारले अजयले छोरी अपहरण गरेको भन्दै उजुरी दिएको थियो । सञ्जीवकुमार साहले आफ्नी बहिनीलाई देवनारायण, उनका छोरालगायतले अपहरण गरेको भन्दै कुनौली थानामा जाहेरी दिएका हुन् । त्यसैका आधारमा भारतीय प्रहरीले आइतबार देवनारायण र अजयलाई पक्राउ गरी सोमबार जेल चलान गरेको थियो । 

 

प्रकाशित : आश्विन १८, २०७४ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?