२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

लालपुरमा कफ्र्यु हट्यो

कान्तिपुर संवाददाता

गुलरिया — दुर्गा मूर्ति र ताजिया विर्सजनमा उत्पन्न विवादपछि झडपले तनावग्रस्त बनेको गुलरियास्थित लालपुरको स्थिति मंगलबार सामान्य भएको छ । स्थानीय प्रशासनले सोमबारदेखि लगाएको कफ्र्यु मंगलबार बिहान ९ बजे फिर्ता लिएको छ ।

गुलरिया–नेपालगन्ज सडक खण्डमा सवारी आउजाउ हुनुका साथै बजार, पसल खुलेका छन् । कफ्र्यु हटाए पनि लालपुर क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । 
उक्त सडक खण्डको संवेदनशील क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल तैनाथ राखिएको छ । गुलरिया ११, लालपुरमा आइतबार दुर्गा मूर्ति र ताजिया सेलाउने विषयमा झडप हुँदा सात स्थानीय र दुई प्रहरी घाइते थिए । 
प्रहरीले स्थिति नियन्त्रणमा लिन १४ सेल अश्रुग्यास र आठ राउन्ड हवाई फायर गरेको थियो । प्रजिअ नारायणप्रसाद भट्टराईले स्थिति नियन्त्रणमा आएकाले कफ्र्यु हटाइएको बताए । अवस्था हेरेर थप निर्णय लिइने उनको भनाइ छ ।
यसैबीच लालपुर घटनालाई लिएर बर्दियासँग जोडिएको पूर्वी सिमाना बन्द गरिएको छ । भारतबाट अवाञ्छित तत्त्व पसेर हिंसात्मक घटना नगरून् भनेर सदरमुकाम गुलरियादेखि पूर्वी जमुनी नाकासम्म दुवै मुलुकको सीमा बन्द गरिएको प्रशासनले जनाएको छ । 

 

प्रकाशित : आश्विन १८, २०७४ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?