नगरको फोहोर नदीमा

कान्तिपुर संवाददाता

प्युठान — सदरमुकाम खलंगाबाट बिजुवार, विजयनगर, दाखाक्वाडी र चेरनेटासम्म झिमरुक नदी किनारमा अवस्थित फाँटमाथिको बस्ती असाध्यै मनमोहक देखिन्छ । तर, फाँट मास्दै बनेका बजारबाट निस्केको फोहोर सीधै नदीमा फाल्न थालेपछि यो क्षेत्र कुरूप बन्दै गएको छ ।


‘घरघरबाट निस्केको फोहोर सीधै नालीमार्फत नदीमा फाल्ने पुरानै चलन थियो,’ प्युठान नगरपालिका–४ का नवीन गौतमले भने, ‘प्युठान नगरपालिकाले उठाउने फोहोरसमेत हिजोआज नदी किनारमै फाल्न थालेको छ ।’ उनले नगरपालिकाले आफ्नो झिमरुक फाँटको खेत नजिक फोहोर फाल्न थालेको दुखेसो गरे ।
नगर क्षेत्रमा फोहोर बढ्यो भनेर नगरपालिकाले सरसफाइ अभियान चलाए पनि व्यवस्थित गर्न नसकेपछि नदीमै फाल्न थालेको छ । ‘सफा र स्वच्छ नगर हाम्रो रहर’ भन्ने नारा नै बनाएर नवनिर्वाचित नगर प्रतिनिधिसहित दस्तीदेखि क्वाडीसम्म दसंैअगाडि एक साता सरसफाइ अभियान चलाएको नगरपालिकाका फोहोरमैला व्यवस्थापन शाखा प्रमुख रामकृष्ण पौडेलले बताए । ल्यान्डफिल साइट तयार नभएकाले नदीकिनारमा फोहोर फाल्नुपरेको उनको भनाइ छ ।
‘दुई–चार दिनमै ल्यान्डफिल साइटमै फोहोर फाल्ने व्यवस्था मिलाउँदैछौं,’ पौडेलले भने, ‘अहिले यत्रतत्र भएको फोहोरसमेत पुरेर छाड्नेछौं ।’ जिल्ला विकास समिति र प्युठान नगरपालिकाको लाखौं रुपैयाँमा निर्माण गरिएको प्युठान नगरपालिका–४ थापडाँडाको ल्यान्डफिल साइट भने अलपत्र अवस्थामा
छ । यसपालि नगरपालिकाले ३५ लाख रुपैयाँ विनियोजन गरी सडक निर्माण गरेको शाखा प्रमुख पौडेलले बताए ।

प्रकाशित : आश्विन २१, २०७४ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?