तरकारीको बिमा नगराउँदा मर्का

कान्तिपुर संवाददाता

दार्चुला — तरकारीको बिमा नगराउँदा व्यावसायिक तरकारी खेतीमा आबद्ध किसान मर्कामा परेका छन् । तरकारीमा ठूलो लगानी गरे पनि त्यसको बिमा नहुँदा विभिन्न समयमा कृषकहरू नोक्सान बेहोर्ने गरेका छन् ।

महाकाली नगरपालिका ९ का विक्रमसिंह सामन्तले काँक्रा, गोलभेंडालगायत विभिन्न किसिमका तरकारी खेती गरिरहेका छन् । 
झन्डै ८० रोपनी क्षेत्रफलमा करिब १२ सय बोट गोलभेंडा, १५ सय बोट काँक्रा, ५ सय बोट काउली र ८ सय बोट भन्टा लगाएको बारीमा एक महिनाअघि वर्षाले नष्ट गरेपछि उनको तरकारी व्यवसाय संकटमा परेको छ । ‘तरकारी व्यवसाय घाटामा गएको छ । सबै मिलाएर ५ हजार बोट लगाएको बारीमा अहिले ५ सय बोट पनि छैनन्,’ ‘उनले भने, ‘तरकारी बाली मुसलेधारे पानी परी सखाप पार्‍यो ।’
प्रचारप्रसारको अभावले व्यावसायिक तरकारी खेती गर्दै आएका किसानहरूले आफ्नो बालीको बिमा गराएका छैनन् । कृषि विकास कार्यालयका अनुसार जिल्लामा अहिलेसम्म कसैले पनि कृषि बालीको बिमा गराएको छैन । किसानलाई सबैको बालीको बिमा गराउन सकिन्छ भन्ने जानकारी नहुँदा बालीको बिमा नगराएको हुन सक्ने कृषि प्राविधिक हरिदत्त जोशीले बताए । 
व्यावसायिक किसान नारा धामीले भनिन्, ‘धेरै मिहिनेत गरी फलाएको तरकारी वर्षाले सखाप गर्दा बारीमा अहिले हेर्दा माटो मात्रै छ ।’ यसरी नै असिना–पानीले नोक्सानी भए अब तरकारी खेती गर्न पनि डर लागिरहेको उनले भनिन् । 
कृषि बालीको बिमा गर्न किसानलाई धेरै प्रक्रिया पुर्‍याउनुपर्दा झन्झटिलो भएको किसानहरूको भनाइ छ । जिल्ला कृषि कार्यालयको प्रतिक्रियापछि किसान तरकारी खेती गर्न नसक्ने अवस्थामा पुगेका छन् । कार्यालयबाट गत वर्ष कृषि बालीमा भएको क्षति विवरण विभागलाई बुझाएपछि त्यसको १ प्रतिशत मात्र बजेट यो वर्ष प्राप्त भएको कार्यालयले जनाएको छ । 

प्रकाशित : आश्विन २२, २०७४ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?