कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

एमाले रणनीति–मुख्य नेता प्रत्यक्षमै

बालकृष्ण बस्नेत

काठमाडौं — प्रमुख विपक्षी एमाले अध्यक्षसहितका मुख्य नेताहरू प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा प्रत्यक्षतर्फ उम्मेदवार बन्ने भएका छन् । एमालेसहित वाम तालमेलको पक्षमा माहोल बनाउन पार्टी अध्यक्ष, वरिष्ठ नेतासहित पदाधिकारी, स्थायी समिति र पोलिटब्युरोका प्रभावशाली नेताहरूलाई प्रत्यक्षमा उठाउने टुंगो मंगलबार एमाले स्थायी समिति बैठकले गरेको पार्टी सचिव प्रदीप ज्ञवालीले जनाए ।

 एमाले रणनीति–मुख्य नेता प्रत्यक्षमै

पार्टीले मंसिर १० र २१ गते हुने चुनावलाई सार्ने वा प्रभावित पार्ने गतिविधि नगर्न सरकारलाई ध्यानाकर्षण गराउने निर्णयसमेत गरेको छ ।

पछिल्लो समय एमाले, माओवादी केन्द्रसहित वाम तालमेल भएपछि केही पक्ष अत्तालिएकाले त्यसतर्फ सतर्क हुनुपर्ने अध्यक्ष केपी ओलीले बैठकमा बताए । पार्टीको वर्चस्व कायम राख्न सबै प्रभावशाली नेता प्रत्यक्षमै उठ्नुपर्ने उनको धारणा थियो । ‘अध्यक्ष, पदाधिकारीसहितका नेता प्रत्यक्षमै उठ्ने सहमति जुटेको छ । यसले चुनावी माहोल बढाउन मद्दतसमेत पुर्‍याउनेछ,’ नेता ज्ञवालीले भने । एमालेमा अध्यक्ष, २ वरिष्ठ नेता, ४ उपाध्यक्ष, महासचिव, २ उपमहासचिव र ५ सचिव छन् । 
अध्यक्ष ओली झापा ५ बाट उठ्ने करिब पक्का छ । वरिष्ठ नेताद्वय झलनाथ खनाल इलाम १ र माधव नेपाल काठमाडौं २ बाट प्रत्यक्षमै सर्वसम्मत सिफारिस भएका छन् । उपाध्यक्षहरू वामदेव गौतम बर्दिया १, अष्टलक्ष्मी शाक्य काठमाडौं ९, युवराज ज्ञवाली दाङ ३, भीम रावल अछाम १ बाट चुनाव लड्दै छन् । महासचिव ईश्वर पोखरेल काठमाडौं ५ बाट प्रत्यक्षका उम्मेदवार हुनेछन् । उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसाल रूपन्देहीबाट प्रत्यक्षमा चुनाव उठ्दै छन् । सचिवहरू प्रदीप ज्ञवाली र गोकर्ण विष्ट गुल्मीबाट, पृथ्वी सुब्बा गुरुङ लमजुङ, भीम आचार्य सुनसरी र योगेश भट्टराई ताप्लेजुङबाट उठ्दै छन् । आचार्यको भने प्रदेशसभातर्फ प्रत्यक्षमा सम्भावना रहेको नेताले जनाएका छन् ।
स्थायी समिति सदस्य सुवास नेम्वाङ इलाम २ बाट सिफारिस भएका छन् । स्थायी समिति सदस्यहरू शंकर पोखरेल दाङ २, सुरेन्द्र पाण्डे चितवन १ बाट प्रत्यक्ष उम्मेदवार हुनेछन् । बैठकले अध्यक्ष ओलीको कमान्डमा चुनाव परिचालन गरिने निर्णयसमेत गरेको छ । 

प्रकाशित : आश्विन २५, २०७४ ०६:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?