व्यवसायीको हत्या

अमन कोइराला

सर्लाही — कविलासी नगरपालिका–२ पिपरियाका एक सुनचाँदी व्यवसायीको मंगलबार राति गोली हानी हत्या गरिएको छ । पिडारीमा रहेको आफ्नो पसल बन्द गरेर मोटरसाइकलमा बुवा नागेन्द्रसहित घर जाँदै गरेका २७ वर्षीय सुनील साहको राति पौने ८ बजे हत्या भएको हो ।

घर पुग्नुभन्दा केही वर सुनसान ठाउँमा मोटरसाइकल रोकेर धनमाल लुटेपछि सुनीललाई गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ । नजिकैबाट हानिएको गोली उनको घाँटीमा लागेको थियो । बुवा नागेन्द्रका अनुसार टाउकामा कपडा बाँधेका एक युवकले हातले इसारा गरेपछि सुनीलले मोटरसाइकल रोकेका थिए ।
‘रोक्नेबित्तिकै अन्य दुईजना रूखको पछाडिबाट निस्किए । सुनचाँदी र नगद भएको झोला हातबाट थुतेपछि प्रतिवाद गर्न खोज्दा गोली हाने,’ बुवा नागेन्द्रले भने । झोलामा रहेको ९ तोला सुन, केही किलो चाँदी र करिब २५ हजार नगद लुटिएको छ । तीनजनाको समूहमा आएका लुटेराले भोजपुरी भाषामा कुरा गरिरहेको पनि उनले बताए । हत्या भएको स्थानभन्दा करिब ३० मिटर उत्तर एउटा मात्र घर छ । गोली लागेकै अवस्थामा सुनील भाग्दै मद्दतका लागि त्यही घर भएको ठाउँतर्फ कुदेका थिए । उनी त्यही घर अघिल्तिरको सडकमा घोप्टो परेर लडेको अवस्थामा भेटिएका थिए ।
बुवा नागेन्द्रले चिच्याउँदै गुहार मागेपछि घरका मानिस निस्केर घाइतेलाई उठाउन मद्दत गरेका थिए । ‘केही पडकेको आवाज सुन्यौं,’ घटनास्थल नजिक घर भएकी सुकेश्वरीदेवी मण्डलले भनिन्, ‘तिहार आउन लागेकाले पटाका होला भन्ठान्यौं । पछि गुहार मागेको सुनेर बाहिर हेर्दा रगताम्ये भएर लडेको अवस्थामा देख्यौं ।’ घाइतेलाई देखेर चिच्याउन थालेपछि अरू पनि मद्दतका लागि आइपुगेको मण्डलले बताइन् । घटनाको करिब ४५ मिनेटपछि प्रहरी पुगेको थियो । उपचारका लागि जिल्ला अस्पताल मलंगवा पुर्‍याए पनि सुनीललाई बचाउन सकेनन् ।
घटनापछि स्थानीय त्रसित छन् । सुनीलको पसल र घर करिब दुई किलोमिटरको दूरीमा छ । दैनिक पसल बन्द गरेर सोही बाटो हुँदै घर फर्कने भएकाले नियोजित रूपमा लुटपाट गरी हत्या गरिएको प्रहरीको अनुमान छ । सुनचाँदी पसल सुरक्षित घरमा नभएकाले राति फर्कंदा नगद र गहना ल्याउने गरेका थिए । प्रहरी उपरीक्षक मसाउद आलम खाँले हत्यारा पक्राउका लागि सम्पूर्ण प्रयास भइरहेको बताए । उनले लुट्ने उद्देश्यले नै बाटो ढुकेर हत्या भएको हुन सक्ने जनाए ।

प्रकाशित : आश्विन २६, २०७४ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?