कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शरदको अनुपस्थितिमा बलरलाई मौका

विश्व क्रिकेट लिग च्याम्पियनसिप
विनोद पाण्डे

हङकङ — नेपाली क्रिकेटको प्रमुख हतियार बलिङ हो । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा भने नेपाली बलरले त्यस्तो चामत्कारिक प्रदर्शन गर्न सकेका छैनन् । च्याम्पियनसिपका १० खेल खेलिसक्दा अधिकांश खेलमा नेपाली बलरहरूले संघर्ष गर्नुपरेको छ ।

शरदको अनुपस्थितिमा बलरलाई मौका


प्रमुख ब्याट्सम्यान शरद भेषावकर अस्वस्थ भएर हङकङसँग शुक्रबार र आइतबार हुने खेल गुमाउने भएपछि नेपाली बलरले आफ्नो नामअनुसारको प्रदर्शन देखाउने मौका पाउने भएका छन् । तर मिसन रोडको मोङ कङस्थित सानो आकारको टिन क्वोङ रोड रिक्रिएसन मैदान नेपाली बलरका लागि सजिलो हुने छैन ।
नेपाली टोलीमा सात ब्याट्सम्यान छन् । ती सबैले प्लेइङ सेटमा खेल्ने तयारी नेपाली टिमको देखिन्थ्यो । शरद ज्वरोले थलिएपछि ५ बलर लिएर खेल्नु नेपालका लागि अनिवार्य बनेको छ । हुन त विकेटको प्रभाव हेरि नियमित ५ बलर खेलाउन सकिने स्थिति रहेको प्रशिक्षक जगत टमाटाले बताउँदै आएका थिए । यसअघि चार प्रमुख बलरका रूपमा खेल्दा नेपाली टोली दबाबमा पर्ने गर्दथ्यो ।
च्याम्पियनसिपमा वसन्त रेग्मीले १५ र सोमपाल कामीले १० विकेट लिनु नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शन हो । दुवैले समान १० खेल खेलेका छन् । कप्तान पारस खड्का, सन्दीप लामिछाने र सागर पुनले ७–७ विकेट लिएका छन् । २८ रन खर्चेर ४ विकेट लिएका शरदको प्रदर्शन नेपाली बलरको च्याम्पियनसिपमा उत्कृष्ट हो । पाँचपल्ट विश्वकप खेलिसकेको केन्यामाथि पहिलो जित पार्नेक्रममा शरदले मार्चमा काठमाडौंमा यो प्रदर्शन देखाएका थिए ।
शरद खेल्न नसक्ने भएपछि उनको स्थानमा ल्याइने नरेश बुढाएरले शुक्रबारको म्याच खेल्ने छैनन् । यस स्थितिमा नेपालले ५ बलरका साथ खेल्ने निश्चित छ । पाँच बलरसाथ खेल्दा विपक्षी ब्याट्सम्यानलाई अतिरिक्त दबाब हुने हुँदा नेपाली बलरको प्रदर्शन खुल्ने सम्भावना रहन्छ ।
च्याम्पियनसिपमा नेपालले खेलेका सबै खेलमा बलर आफैंले आफ्नो लय बिगार्दा विकेट लिन नसकेको टोलीका प्रशिक्षक टमाटा बताउँछन् । ‘नेपाली बलरले त्यस्तो कमजोर नै प्रदर्शन गरेका त होइनन् । हामी एउटा योजनासाथ खेलिरहेका हुन्छौं, तर विकेट लिने चक्करमा बलरले योजनाभन्दा बाहिर बलिङ गर्दा उनीहरूलाई अप्ठयारो भएको छ,’ टमाटाले भने ।
विकेट फरक रहेकाले बलरका लागि हङकङसँगको खेल राम्रो मौका हुने उनी ठान्छन् । टमाटाले भने, ‘यो विकेट अरुभन्दा फरक छ । यसमा बल सही ठाउँमा फाल्न सक्नुपर्छ । अफ स्टम्प बाहिर बल खेलाउन सक्नुपर्छ । त्यसो गरेमा सानो आकारको मैदान भए पनि हाम्रा बलरलाई फरक नपर्न सक्छ । लाइन र लेन्थमा बलिङ गर्न जरुरी छ ।’ कप्तान पारस खड्का विकेटमा आफूले सोचेभन्दा धेरै घाँस रहेको बताउँछन् । विकेटमा केही घाँस रहेका कारण प्रशिक्षक टमाटा तीन तीव्र बलर खेलाउन सकिने सम्भावना देख्छन् । उनका अनुसार ओपनिङ बलर सोमपाल कामी र करण केसीलाई सघाउन ललितसिंह भण्डारीले खेल्न सक्नेछन्् । अतिरिक्त स्पिनर खेलाएमा वसन्त र सन्दीप लामिछानेलाई साथ दिन सुशन भारी र सुशील कँडेलमध्ये एक टिममा आउन सक्नेछन् । सागर पुनले अलराउन्डरको भूमिकामा स्पिन बलिङलाई निरन्तरता दिनेछन् ।

प्रकाशित : आश्विन २७, २०७४ ०६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?