कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

कोलकातामा ७ सय कन्टेनर अड्किए

-ढुवानीमा तालमेल समस्या
-आयातकर्ताले कन्टेनर ढिला गरी फर्काउँदा रेल्वे र्‍याकले कुर्नुपर्ने बाध्यता
शंकर आचार्य

पर्सा — वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाहमा आउने मालवाहक कन्टेनर कोलकाता बन्दरगाहमा अड्किएका छन् । तेस्रो मुलुकबाट ल्याएका सामग्री बोकेर आएका ६ सय ६९ मालवाहक कन्टेनर बिहीबार कोलकाताबाट यता आउन सकेनन् ।

लामो समयदेखि ढुवानी तालमेल नमिल्दा कोलकाता बन्दरगाहमै कन्टेनर रोकिने गरेका छन् । भारतीय रेल्वे सञ्जालसँग जोडिएको मुलुकको एक मात्र सुक्खा बन्दरगाहको समस्या समाधानको साटो बल्झिदै गएको छ । ३/४ महिनायता आयातकर्ताले कन्टेनर ढिला गरी फर्काउने समस्या चर्किंदै गएपछि कोलकाता बन्दरगाहबाट आउने रेल्वे र्‍याक घण्टौं बस्नुपरेको छ । सामान्यतया कोलकाताबाट यहाँ आउने रेल्वे र्‍याकबाट ३ घण्टामै कन्टेनर अनलोड गरी फिर्ता पठाउन सकिनेमा हाल भने यसका लागि २४ घण्टासम्म कुर्नुपर्ने अवस्था सामान्य बनेको छ । कोलकाताबाट मालवाहक कन्टेनर लिएर आएको रेल्वे र्‍याक खाली कन्टेनर लिएर ३ दिनपछि फर्कने गरेका छन् । कोलकाता–सिर्सिया सुक्खा बन्दरगाह रुटका लागि मात्र भारतीय रेल्वेले १३ रेल्वे र्‍याक चलाएकोमा कन्टेनरको ढुवानीको तालमेल मिल्न नसक्दा यो समस्या बढदै गएको सुख्खा बन्दरगाह सञ्चालक कम्पनी हिमालयन टर्मिनल्सका सीईओ विष्णुकान्त चौधरीले बताए । ‘यतिको रेल्वे र्‍याक उपलब्ध हुँदा दैनिक ५ सय ४० मालवाहक कन्टेनरको टर्नओवर गर्न सक्छौं,’ उनले भने, ‘तर विभिन्न प्राविधिक तथा व्यावहारिक समस्याका कारण त्यो सम्भव भइरहेको छैन ।’

टर्मिनल्सका सीईओ चौधरीले कोलकाताबाट वीरगन्जका लागि हिँडेका आधा दर्जन रेल्वे र्‍याकमा ५ सय ४० मालवाहक कन्टेनर बाटोमै रहेको बताए । यसका साथै सुक्खा बन्दरगाहबाट नेपालका विभिन्न उद्योगमा १ सय ५६ मालवाहक कन्टेनर गएको र ती खाली भई नआएको उनले बताए । त्यसैगरी, करिब २ सय खाली कन्टेनर बन्दरगाहमा रेल्वे र्‍याक आउने प्रतीक्षामा बसेका छन् । बन्दरगाहमा थन्किएका कन्टेनरमध्ये अधिकांश आयातकर्ताको आफ्नै कागजी तथा अन्य प्राविधिक समस्याका कारण उनीहरूले समयमा जाँच गराई लग्न नसकेको चौधरीले बताए । कतिपय आयातकर्ताले सिपिङ कम्पनीबाट कन्टेनर उपभोगको समय नै बढी लिने गरेकाले पनि मालवस्तु जाँच गराउन हतार नगर्दा पनि यो समस्या सिर्जना भएको उनले सुनाए ।

यो अवस्था सिर्जना हुन रेल्वे र्‍याकको आवागमन तथा कन्टेनरको तालमेल मात्र नभई अन्य कारणहरू पनि जिम्मेवार रहेको उनले बताए । कोलकाता बन्दरगाहका पुरानै अवस्था र भीडभाडका कारण त्यहाँबाट रेल्वे र्‍याक छुटनै समय लाग्ने गरेको छ । त्यसैगरी कोलकाता र नेपालमा अत्यधिक सार्वजनिक बिदा हुने, आयातकर्ताले कोलकाता बन्दरगाहबाटै आयात निर्यात गर्न चाहनुजस्ता व्यावहारिक समस्या पनि जिम्मेवार रहेको उनले सुनाए । नेपाली आयातकर्ताले कोलकाता बन्दरगाहबाट ३ किमि मात्र टाढा रहेको माजरहार टर्मिनल, करिब ३० किमि दूरीमा रहेको हल्दिया बन्दरगाह र बिशाखापटनम उपभोग गर्न नचाहेको उनले बताए ।

भन्सारको राजस्व असुली प्रभावित

बन्दरगाहमा मालवाहक कन्टेनर आउनै कम भएपछि भन्सार कार्यालयको राजस्व असुलीसमेत प्रभावित भएको छ । असोज महिनाका लागि १ अर्ब ९८ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य पाएको यो भन्सार कार्यालयले बुधबारसम्ममा जम्मा १ अर्ब ४८ करोड रुपैयाँ मात्र राजस्व संकलन गरेको छ । भन्सारलाई ५० करोड रुपैयाँ राजस्व संकलन गर्ने चुनौती छ ।

भन्सार प्रमुख सूर्य सेढार्इं मासिक राजस्व असुली लक्ष्य भेट्टाउन दैनिक ८ करोड ५० लाख रुपैयाँ राजस्व संकलन गर्नुपर्नेमा ६ करोड मात्र हुने गरेको बताउँछन् । ‘रेल नै कम आएपछि त्यसको असर भन्सारको राजस्वमा पर्नु स्वाभाविक हो,’ उनले भने । दीपावली र छठजस्ता पर्व नजिकिएकाले भारतीय रेल्वेले यात्रुवाहक रेललाई प्राथमिकता दिएकाले समस्या बढेको हो ।

प्रकाशित : आश्विन २७, २०७४ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?