सामुदायिक विद्यालयमा एक लाखको अक्षयकोष

कान्तिपुर संवाददाता

खोटाङ — सरकारी विद्यालयप्रति समाजको विश्वास घट्दै गरेको बेला ओखलढुंगाका एक व्यवसायी युवाले आफूले प्रारम्भिक शिक्षा हासिल गरेको सामुदायिक विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् ।

सामुदायिक विद्यालयमा एक लाखको अक्षयकोष


ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–३ का मनबहादुर राईले आफ्ना पिता र काकाको नाममा ‘चक्रबहादुर–लेफ्टिनेन्ट जितबहादुर राई स्मृति छात्रवृत्ति अक्षयकोष’ स्थापना गरेका हुन् । उनले खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ जयरामटारस्थित दूधकोशी आधारभूत विद्यालय मातहत रहने गरी १ लाख रुपैयाँ विद्यालय व्यवस्थापन समितिलाई आइतबार हस्तान्तरण गरेका छन् । उक्त रकमको वार्षिक ब्याजबाट विद्यालयका छात्रछात्रामध्ये विपन्नलाई सहयोग गरिनेछ ।
त्यस अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भबिलाल राई, राष्ट्रगानका रचयिता व्याकुल माइला र नगरप्रमुख इबन राईले संयुक्त रूपमा अक्षयकोषदातालाई सम्मान प्रदान गरेका थिए । माइलाले आफूले सामुदायिक विद्यालयबाट शिक्षा हासिल गरेको प्रसंग उल्लेख गर्दै सामुदायिक विद्यालय नै सबैको पहुँच पुग्ने भएकाले एकजुट हुनुपर्ने बताए ।
नगरप्रमुख राईले सामुदायिक विद्यालयको शिक्षालाई गुणस्तरीय तुल्याउन र भौतिक पूर्वाधार सम्पन्न बनाउने नीति तथा कार्ययोजना रहेको बताएका छन् । प्रधानाध्यापक खेचरबहादुर खड्काका अनुसार १ सय ५० जनाभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । २०३४ मा स्थापित यस विद्यालय मध्ये–पहाडी लोकमार्गको दूधकोशी किनारमा रहेको छ । यस भेगमा माझी, कामी, राई, मगर, कार्की समुदाय रहेका छन् ।

प्रकाशित : आश्विन २७, २०७४ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?