राजनीतिक हस्तक्षेपको पराकाष्ठा

नवलपरासीमा विभिन्न सरकारी कार्यालयमा राजनीतिक हस्तक्षेपले सीमा नाघेको छ । विभिन्न समूह र व्यक्तिगत स्वार्थ तथा दबाबका कारण सरकारी कार्यालयका अधिकृतहरू सरुवा भइआएको छोटो समयमै पुन: अन्यन्त्र सरुवा हुने गरेका छन् ।

पछिल्लो समय देवचुली नगरपालिकाका कार्यकारी अधिकृत चिरञ्जीवी गिरी नेपाली कांग्रेसका एक प्रभावशाली केन्द्रीय नेताको ठाडो निर्देशनमा मन्त्रालय तानिएको बताइएको छ । दसैं अगाडि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सरुवा गरेर देवचुली नगरपालिकामा आएका कार्यकारी अधिकृत गिरीलाई नगरपालिकामा हाजिर भएको दुई घन्टामै मन्त्रालय तानिएको हो । नेताको पीएले भेट्न बोलाउँदा नगएको निहँुमा उनको सरुवा गरिएको बताइएको छ । यस अघि पनि जिल्ला समन्वय समिति नवलपरासीले नदीजन्य पदार्थको अवैध उत्खनन गरेको भन्दै कांग्रेस महासमिति सदस्य विष्णुबहादुर कार्की संलग्न स्मृति निर्माण सेवालाई कारबाही थालेपछि तत्कालीन स्थानीय विकास अधिकारी जीवलाल भुसाल र त्यसपछि आएका स्थानीय विकास अधिकृत युवराज कट्टेललाई सरुवा गरिएको थियो । यस्तो राजनीतिक हस्तक्षेप तुरुन्त रोकी राष्ट्रसेवक कर्मचारीलाई नियमपूर्वक स्वतन्त्र काम गर्न दिन र विकास कार्यमा अवरोध नगर्न नेपाल सरकारले विशेष ध्यान दिनुपर्छ । नागरिक समाजले पनि यस्तो गतिविधिको घोर विरोध गर्दै विधिको शासन कायम राख्न यथाशक्य दबाब दिन जरुरी छ ।
– लक्ष्मीप्रसाद पंगेनी 
कावासोती– ३, नवलपरासी 

प्रकाशित : आश्विन २७, २०७४ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?