ज्येष्ठ नागरिकलाई दैलामै भत्ता

अगन्धर तिवारी

पर्वत — सामाजिक सुरक्षा भत्ता लिन सदरमुकामका बैंकमा आउजाउ गर्दा फलेवास–३ का जयलाल जैसीलाई दुई दिन लाग्थ्यो । घण्टौं लाइन बसेर पैसा लिएर घर फिर्न त्यही दिन गाह्रो पथ्र्यो ।


एक दिन बसेर फर्कंदा भत्तामा पाएको रकम बाटोमै सकिन्थ्यो । तर, हिजोआज त्यस्तो छैन । जनप्रतिनिधिले दैलामै पुगेर भत्ता दिँदा जैसीजस्ता वृद्धवृद्धाहरू दंग छन् । कुस्मा र फलेवास नगरपालिका, महाशिला, पैयुँ, मोदी र जलजला गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता लाभग्राहीको दैलामै पुगेर वितरण गर्न थालेपछि वृद्धवृद्धालाई सजिलो भएको हो । चार वर्षअघि तत्कालीन गाविस सचिव वितरण गर्दा मृत्यु भइसकेका, उमेर नपुगेका र बसाइँसराइ गरेका समेतको किर्ते हस्ताक्षर गरेर रकम हिनामिना गरेका थिए । त्यसपछि जिविसले बैंक खातामार्फत भत्ता वितरण सुरु गरेको थियो । बैंकमा खाता खोलेर थालिएको वितरणले हैरानी भएको भन्दै वृद्धवृद्धाहरूले गाउँमै पाउनुपर्ने माग राख्दै आएका थिए । जनप्रतिनिधिको पहलमा जिल्ला समन्वय समितिले स्थानीय तहबाटै भत्ता वितरणको बाटो खुला गरेको हो ।
‘पहिला डोकोमा बोकाएर भए पनि बल्लतल्ल कुश्मा जानुपथ्र्यो,’ फलेवास–३ का ९६ वर्षीय जयलाल जैसीले भने, ‘गाउँमै सरकार आएपछि हाम्रा समस्या बुझ्यो ।’ उनी कैयौंपटक डोकोमा बसेर भत्ता लिन सदरमुकाम पुग्थे । बैंकमार्फत भत्ता दिन थालेको गाउँका वृद्धवृद्धाहरूले विरोध गरेका थिए । एकताका बाच्छाका सय जना वृद्धवृद्धाहरूले गाउँबाटै भत्ता वितरणको माग गर्दै हस्ताक्षरसमेत संकलन गरेका थिए । तर, सचिवहरूको कमजोरी दोहोरिने भयले तत्कालीन जिविसले निर्णय सच्याउन मानेको थिएन ।
कहिले सवारी साधन नपाउने त कहिले बैंकले मागेका कागजात नपुगेर रित्तो हात फर्किनुपर्ने समस्याले हैरान थियौं,’ महाशिलाका सोमलाल विकले भने, ‘अहिले घरमै भत्ता पाएपछि सबै समस्या टरेको छ । घरमै भत्ता पाएपछि लिमिठानाका जगेश्वर पौडेलले पनि सहज भएको बताए । ‘बंैकसम्म सँगै जाने कोही थिएन, एक्लै बैंक पुगेर फर्किन मुस्किल हुन्थ्यो, उनले भने, ‘आँखाले ठम्याउंँदैन ।’ जिल्लाका सबैजसो स्थानीय तहले गाउँमै भत्ता वितरण सुरु गरेको जिल्ला समन्वय समितिका सामाजिक विकास अधिकृत लिलाधर सुवेदीले जानकारी दिए । उनका अनुसार जिल्लाभर सामाजिक सुरक्षाभत्ता पाउने ज्येष्ठ, दलित, एकल महिला, अपाङ्ग, बालबालिकासमेत गरी २१ हजार दुई सय ३४ जना छन् । ‘गाविस सचिवहरूले हिनामिना गरेको प्रमाण भेटेपछि बैंककबाट वितरण गर्ने निर्णय गर्नु उति बेला बाध्यता थियो,’ सुवेदीले भने, ‘जनप्रतिनिधि आएपछि सबै उनीहरूकै जिम्मेवारी भएकाले चुहावट हुने डर हुंँदैन ।’
जिल्ला सदरमुकाम आउजाउ गर्न ३ दिन लाग्ने पैयुँ, महाशिला, विहादी गाउँपालिकावासीहरूले पनि गाउँबाटै सामाजिक सुरक्षा भत्ता पाउँदा धेरै राहत महसुस गरेका छन् ।

प्रकाशित : आश्विन २९, २०७४ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?