आगलागी घटना ‘नियोजित’

कान्तिपुर संवाददाता

कानेपोखरी (मोरङ) — कोनेपोखरी गाउँपालिका–३ हरकपुरमा आगोले जलेर घरसहित एकै परिवारका चार जनाको मृत्यु घटना नियोजित भएको पीडित परिवारले आरोप लगाएको छ ।


मृतकका आफन्तले घटना भवितव्य नभई हत्या भएको दाबी गरेका हुन् । उनीहरूले सूक्ष्म अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरे । पीडित परिवारले घटना शंकास्पद भए पनि प्रहरी प्रशासन गम्भीर नबनेको आरोप लगाए । उनीहरूले आइतबार घटनास्थलमै पत्रकार सम्मेलन गरी घटनामा शंका गर्ने आधारहरू धेरै रहे पनि यथेष्ट प्रमाणको अभावमा किटानका साथ अघि बढ्न नसकिएको बताए ।
आश्विन ४ गते राति आगलागी हुँदा हरकपुरका ५६ वर्षीय चन्द्रकुमार राई, उनकी ८६ वर्षीया आमा गंगामाया, श्रीमती ४९ वर्षीया पार्वता र बहिनी ४६ वर्षीया विष्णुकुमारीको जलेर मृत्यु भएको थियो । राति करिब २ बजेतिर भएको आगलागीमा उनीहरूसहित दुई तले काठको घर नष्ट भएको थियो । मृतक चन्द्रकुमारका दाजु रामकुमारले आमा, भाइ, बहिनी र बुहारीको मृत्यु नभई हत्या भएको दाबी गरे । उनले नियोजित रूपमा केही व्यक्तिले चारैजनाको हत्या गरी घरमा आगो लगाइदिएको बताए । ‘आगलागीबाट चारैजनाको मृत्यु हुनु शंकास्पद छ । यति ठूलो घर जलेर खरानी हुँदासम्म किन कोही चिच्याएन ? घरको बेरा भत्काएर किन हामफालेनन् ?’ उनको प्रश्न थियो ।
‘आमा अशक्त भए पनि अन्य तीन जनामध्ये कोही एक जना त बच्नुपथ्र्यो । आगोले पोल्दा चिच्याउनुपथ्र्यो । कसैलाई बचाउन नसक्दा पनि मेरो भाइले उत्तरतिरको बेरा भत्काएर धान खेतमा हाम फाल्न सक्ने अवस्था थियो । तर, त्यस्तो कुनै प्रयास गरेको देखिँदैन,’ उनले भने, ‘यसबाट पनि उनीहरूको हत्या भएको आशंका गर्न सकिन्छ ।’
मृतककी बहिनी इन्दिरा राईले विद्युत् सर्ट भएर आगलागी भएको भनी प्रहरीको सूचना गलत भएको बताइन् । उनले विद्युत् सर्ट भएर आगलागी हुँदा एक छेउबाट आगो लाग्नुपर्नेमा घरको चारैतिर एकैपटक आगो लाग्नुले उक्त कुराको पुष्टि नहुने बताइन् । ‘यति दर्दनाक घटनालाई सहजै सल्टाउन खोजेजस्तो देखिन्छ,’ उनले भनिन् । 

 

प्रकाशित : आश्विन ३०, २०७४ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?