कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

दशकपछि शुद्ध खानेपानी

कान्तिपुर संवाददाता

दैलेख — दशकदेखि चर्चामा रहेको साहारे बृहत् खानेपानी आयोजना निर्माण अन्तिम चरणमा पुगेपछि स्थानीयले शुद्ध खानेपानी पाउने भएका छन् । आयोजनामार्फत १ हजार ८ सय ३ घरलाई चौबिसै घण्टा खानेपानी सुविधा पुर्‍याउने लक्ष्य राखिएको छ । आयोजना करिब ९५ प्रतिशत काम सकिएको स्थानीयले बताए ।


केही ग्रामीण क्षेत्रका घरमा मात्र खानेपानी जडान गर्न बाँकी रहेको साहारे खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले जनाएको छ । समितिका अनुसार मुहानमै पानी फिल्टर गर्ने आधुनिक प्रविधि जडान गरिएपछि स्थानीयले घरमै शुद्ध खानेपानी पाएका हुन् । समितिले निर्माण सुरु भएको चार वर्षपछि निर्माण सम्पन्न गरिएको जनाएको छ । आयोजना २७ करोड लागतमा बनेको हो । आयोजना जनसंख्या हिसाबले पहाडी क्षेत्रको सबैभन्दा ठूलो मानिएको छ । नारायण नगरपालिका ४ सोतकी पार्वती न्यौपानेलाई पानीका लागि कुनै बेला बिहान ४ बजे उठेर एक घण्टा लाइन बसेर जोहो गर्नुपर्ने बाध्यता थियो । बिहानै उठदा र लामो समय लाइन बस्दा घरको काममा बाधा पुगेको उनी बताउँछिन् । गाउँका ५० भन्दा बढी घरले एउटै धारामा लाइन बसेर पानी भर्नुपर्ने बाध्यता थियो । ७० वर्षीय मयाराम विकले वृद्धावस्थामा शुद्ध खानेपानी पाउने भएकामा खुसी व्यक्त गरे । उनले पानीका लागि लामो समय सास्ती भोग्नुपरेको सम्झिए । विकका अनुसार स्थानीयले आकाशे पानीका भरमा निर्वाह गर्नुपर्ने अवस्था सुनाए ।
सुमेकचन्द्र एण्ड वसन्त जेभी ललितपुरले ठेक्का लिएको खानेपानी बृहत् योजनाअन्तर्गत नारायण नगरपालिकाका ११ वडामा विस्तार गरिएको समितिले जनाएको छ । योजनाको शुद्धीकरणका लागि २७ वटा विधामा पानी परीक्षण गरिएको खानेपानी विभागका उपनिर्देशक नारायण आचार्यले बताए । आयोजनाको ९५ प्रतिशत काम सकिएको छ । बाँकी पाँच प्रतिशत ग्रामीण भेगका घरमा धारा जडान गर्नु रहेको समिति अध्यक्ष बलराम श्रेष्ठले जानकारी गराए । 

 

प्रकाशित : आश्विन ३०, २०७४ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?