कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

सय महसुल बुझाउन हजार खर्च

नजिक काउन्टर नहुँदा उपभोक्तालाई सास्ती
खगेन्द्र अवस्थी

बैतडी — सुर्नया गाउँपालिका १ का जनकबहादुर चन्द बिहीबार विद्युत् महसुल बुझाउन सदरमुकाम पुगे । उनले १ सय ३० रुपैयाँ महसुल बुझाउन गाडी भाडा र चियानास्तामै १ हजारभन्दा बढी खर्च गरेका छन् । यस्तो बाध्यता चन्दको मात्र होइन, विद्युत् पुगेका ग्रामीण भेगका अधिकांश उपभोक्ताले व्यहोरिरहेका छन् ।

 सय महसुल बुझाउन हजार खर्च

थोरै महसुल बुझाउन धेरै पैसा खर्च गर्नुपर्ने अवस्था छ ।
गाउँमै विद्युत् महसुल बुझाउने काउन्टर नहुँदा सर्वसाधारणले सास्ती खेप्दै आएका छन् । सदरमुकाम र पाटनमा मात्र प्राधिकरणले महसुल काउन्टर राखेको छ । महसुल बुझाउन जाँदा हुने खर्चकै कारण सर्वसाधारणले आर्थिक भार र सास्ती भोग्नुपरेको हो । विद्युत् सेवा पाए पनि नजिकै महसुल बुझाउने सुविधा नहुँदा समस्या हुने गरेको सेवाग्राहीको गुनासो छ ।
सडक यातायात पुगेका क्षेत्रका बासिन्दाले तिर्ने बिलभन्दा यातायात खर्च ४ गुना बढी हुने गरेको बताउँछन् । यातायात नपुगेको ठाउँका घण्टौं हिँडेर महसुल बुझाउन सदरमुकाम जान बाध्य छन् । लाइनमा पुग्न र महसुल तिर्न ढिलो हुँदा कहिलेकाहीं सदरमुकामै बस्नुपर्छ । ‘३ महिनामा तिर्ने रकम १ सयसम्म हुन्छ, आउजाउमा १ हजार लाग्छ,’ दोगडाकेदार गाउँपालिकाका उमेश भट्टले भने, ‘आउजाउ र होटलमा बस्नुपरे कम्तीमा २ हजार खर्च हुन्छ, गाउँपालिकाभित्रै महसुल बझाउन पाए खर्च र समय दुवै बचत हुन्थ्यो ।’
प्राधिकरणमा हरेक महिना पहिलो साताभित्र महसुल बुझाउनुपर्ने नियम छ । टाढाका ग्राहकलाई ३ महिनाभित्र तिर्नुपर्ने व्यवस्था गरिएको छ । वडा कार्यालयमा महसुल काउन्टर भए थोरै रकम तिर्न बढी खर्च नहुने चन्दले बताए । काउन्टरमा ग्राहकको भीडले झनै सास्ती हुने गरेको उपभोक्ता बताउँछन् । अन्य कार्यालयको कामले सदरमुकाम जाने आफन्तलाई महसुल बुझाउन पैसा दिँदा लाइनमा पालो कुर्नुपर्ने र समय नपुग्दा महसुल नतिरेर फिर्ता आउने गरेको र प्रत्येक महिना महसुल बुझाउन जाँदा समय र खर्च दुवै बढ्ने उपभोक्ताको गुनासो छ ।
प्राधिकरणले ४६ हजार घरमध्ये ३ नगरपालिका र ३ गाउँपालिकाका ११ हजार ८१ ग्राहकलाई सेवा विस्तार गरेको छ । दशरथचन्द र पाटन नगरपालिका केन्द्रबाहेकका सेवाग्राही महसुल बुझाउन खर्चिलो भएको हो । यी २ नगरपालिकाकै बडाबाट समेत विद्युत् कार्यालय पुग्न ४ घण्टाभन्दा बढी समय लाग्ने गरेको छ । बैतडीका ४ नगरपालिका र ६ गाउँपालिकामध्ये १ नगर र ३ गाउँपालिकामा सेवा पुग्न सकेको छैन । जिल्लामा अहिले २ दशमलव ८ एमबीए विद्युत् खपत हुने गरेको छ ।

 

प्रकाशित : आश्विन ३०, २०७४ १०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?