कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

यमपञ्चक सुरु

कान्तिपुर संवाददाता

जनकपुर — तिहारको यमपञ्चक मंगलबार सुरु भएको छ । यमपञ्चकको पहिलो दिन मंगलबार धनतेरस पर्व मनाइएको छ । यस दिन सुन, चाँदी, तामा, पित्तललगायत धातु किन्ने परम्परा छ । जनकपुरमा ५ करोडभन्दा बढीका सुनचाँदी बिक्री भएको सम्बद्ध व्यवसायीले बताए ।

लक्ष्मीपूजाको पूर्वसन्ध्यामा मनाइने यस पर्वमा धातु तथा धातु निर्मित भाँडा–वर्तन, गरगहना खरिद गर्दा शुभलाभ हुने मान्यता छ । पण्डित काशीकान्त झाका अनुसार धनतेरसको राति लक्ष्मी र कुवेर पृथ्वीलोकमा विचरण गर्छन् । लक्ष्मी र कुवेरलाई प्रशन्न पार्न मानिसले धातु किनेर राख्नुपर्ने भन्ने मान्यता छ । न्यु महालक्ष्मी ज्वेलर्सका पवन साहका अनुसार धनतेरसमा जनकपुर बजारमा साढे तीनदेखि चार किलोसम्म सुन तथा १ क्विन्टलसम्म चाँदी बिक्री भएको बताउँछन् । बलराम ज्वेलर्सका बलरामप्रसाद साहले ५ किलोसम्म सुन बिक्री गरेको बताए ।
साहका अनुसार धनतेरसका दिन सुनचाँदी खरिद गर्दा शुभ हुने मान्यताका कारण यसअघि अर्डर दिएका पनि यही दिन लिन आउने गरेका छन् । जनकपुरका सयभन्दा बढी सुनचाँदी पसलमा मंगलबार बिहानैदेखि क्रेताको भीड लागेको थियो । 
सुनचाँदी नकिन्नेहरू पनि पित्तल, तामा वा स्टीलका भाँडा किन्छन् । यसैगरी धनतेरसको दिन किनेको लक्ष्मी, गणेश आदिको मूर्ति लिएर लक्ष्मीपूजा गर्ने चलन पनि अझै छ । यस अवसरमा जानकी मन्दिरबाहिर माटोको कलात्मक मूर्ति बजार नै लागेको थियो ।

प्रकाशित : कार्तिक १, २०७४ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?