विदेशीले लगाए भाइटीका

कान्तिपुर संवाददाता

पोखरा — पर्यटकीय सहर पोखरामा विदेशी पर्यटकका लागि भाइटीका महोत्सवको आयोजना गरियो । लेकसाइडस्थित बटरफ्लाइ चाइल्ड केयर सेन्टरमा शनिबार गरिएको महोत्सवमा १३ देशका ३५ पर्यटक सहभागी थिए ।


रेन्वो चिल्ड्रेन होमका बालिकाले पर्यटकलाई सप्तरंगी टीका, ढाकाटोपी लागाई नेपाली परम्पराअनुसार उपहार दिए । महोत्सवको एघारौं संस्करणमा अमेरिका, जर्मनी, चीन, बंगलादेश, फ्रान्स, अस्ट्रेलिया र मलेसियालगायत देशका पर्यटक सहभागी थिए । महोत्सव संयोजक लक्ष्मण सुवेदीले भने, ‘यसको आकर्षणले कतिपय पर्यटक दोहोर्‍याएरसमेत आउन थालेका छन् ।’
‘नेपालमा घुम्न आएको मेरो यो सातौंपटक हो, पोखरामा तेस्रोपटक,’ उनले भने, ‘नेपालीको भाइटीकामा सहभागी भएको यो पहिलो अनुभव हो, ज्यादै आनन्द लाग्यो ।’ मलेसियाबाट आएकी मिन्कले पनि भाइटीकालाई आत्मीयता आदानप्रदान गर्ने पर्वका रूपमा आफूले बुझेको बताइन् । भाइटीकामा सहभागी हुनलाई १५ अमेरिकी डलर तिरेर फाराम भर्न लगाइएको थियो ।
टीका लगाइसकेपछि पर्यटक देउसीभैलो र सांस्कृतिक कार्यक्रममा सहभागी भए । आयोजक पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले भाइटीका महोत्सव पोखराका लागि एउटा छुट्टै पर्यटकीय पहिचान बनेको बताए । ‘तिहारको सांस्कृतिक पक्षलाई संरक्षण गर्दै महोत्सवका माध्यमबाट पर्यटक आकर्षित गर्ने अभिप्राय हो,’ उनले भने, ‘नेपाली संस्कृतिप्रति पर्यटक पनि हुरुक्क हुने गरेको पाएका छौं ।’

 

प्रकाशित : कार्तिक ६, २०७४ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?