कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

सिटौलालाई चुनाव लड्न दबाब

अर्जुन राजवंशी

बाह्रदशी (झापा) — पार्टीले समानुपातिक सूचीमा राखेपछि कांग्रेस नेता कृष्ण सिटौला तनावमा छन् । प्रतिनिधिसभातर्फ प्रत्यक्षमा चुनाव लड्ने वा समानुपातिक सूचीमै बस्ने मा उनलाई दुविधा छ । निर्णय लिन आफ्नो निर्वाचन क्षेत्रका कार्यकर्तामाझ पुगेका छन् ।


कार्यकर्ताको सुझावअनुसार आफूले निर्णय गर्ने उनले बताए । आइतबारदेखि सिटौला आफ्नो निर्वाचन क्षेत्र (झापा ३) का कार्यकर्तासँगको छलफलमा जुटेका छन् । उनी आइतबार दिउँसो गृहजिल्ला आएलगत्तै कार्यकर्ता भेटघाटमा व्यस्त भए । पार्टीले समानुपातिकमा नाम राखेर निर्वाचन आयोगलाई सूची बुझाएपछि आफू तनावमा परेको सिटौलाले बताए । ‘साथीहरूले छलफलै नगरी मेरो नाम समानुपातिकमा राखिदिनुभएछ,’ उनले बाह्रदशी गाउँपालिका ७ का कार्यकर्तामाझ भने, ‘यतिबेला मलाई तपाईंहरूको महत्त्वपूर्ण सुझावको खाँचो छ । तपाईंहरू के भन्नुहुन्छ, म समानुपातिकमै रहूँ या प्रत्यक्षबाट चुनाव लडूँ ?’ 
उनको भनाइलगत्तै स्थानीय कार्यकर्ताले जस्तोसुकै परिस्थितिको सामना गरेर भए पनि प्रत्यक्षबाटै चुनाव लड्न सुझाए । ‘हामी कांग्रेसको झन्डा बोकेर रुखबाहेकको चिह्नमा भोट दिन सक्दैनौं,’ स्थानीय कार्यकर्ता ओमप्रकाश गौतमले भने, ‘तालमेलको कुरा अन्यत्र मिलाउनुहोला । यहाँ तपाईं नै उम्मेदवार बन्नुपर्छ ।’ उनले समानुपातिक सूची सच्याउने समय अझै रहेकाले त्यसलाई सच्याएर प्रत्यक्षतर्फ उम्मेदवार बन्न आग्रह गरे । ‘पार्टीको पूर्वमहामन्त्री, पूर्वगृहमन्त्री जस्ता पद सम्हालिसकेको व्यक्तिलाई बाहिर राखेर अर्को कुनै पार्टीको उम्मेदवारलाई कसरी भोट दिनु ?’ अर्का एक कार्यकर्ताको प्रश्न थियो, ‘कांग्रेसको आस्था राखेर अर्को पार्टीको उम्मेदवारलाई भोट दिन सकिँदैन । तपाईं 
उठ्नुभएन भने हाम्रो भोट खाली जान्छ ।’
सिटौलाले पार्टीले समानुपातिकमा नाम राखेकोप्रति आफ्नो असन्तुष्टि रहेको बताए । ‘तालमेलको नाममा कुनै पार्टीको झोला बोकेर हिँड्न सकिँदैन,’ उनले भने, ‘मेरो निर्वाचन क्षेत्रभित्रका कार्यकर्ताले जे भन्छन्, म त्यसैअनुसार अघि बढ्न तयार छु ।’ उनले राप्रपालाई सरकारमा ल्याउन सभापति शेरबहादुर देउवाले कमल थापालाई कुनै आश्वासन दिएको भए पनि त्यसले आफूलाई फरक नपर्ने बताए । ‘चुनाव गराउन अहिलेको सरकार जोगाउन जरुरी छ । त्यसकारण सभापतिज्यूले राप्रपालाई केके भनेर गठबन्धनमा ल्याउनुभयो मलाई थाहा भएन,’ उनले भने, ‘तर, यो निर्वाचन क्षेत्र छाड्ने/नछाड्ने भन्ने कुरा तपाईं कार्यकर्ताको चाहनामा भर पर्छ । तपाईंहरूले जे भन्नुहुन्छ, ती सुझावहरूलाई म जस्ताको त्यस्तै पार्टीको बोर्ड बैठकमा पुर्‍याइदिन्छु ।’
कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन निर्माणका बेला राप्रपाले झापा ३ आफूलाई दिनुपर्ने सर्त राखेको थियो । राप्रपाले उक्त क्षेत्रबाट महामन्त्री राजेन्द्र लिङदेनलाई प्रतिनिधिसभाको उम्मेदवार बनाउने तयारी गरेको छ । यसै क्रममा कांग्रेसले सिटौलाको नाम समानुपातिक सूचीमा राखेपछि उक्त क्षेत्रबाट लिङ्देन नै उम्मेदवार बन्ने हल्लाका कारण कांग्रेस कार्यकर्ताहरू निराश बनेका छन् । कार्यकर्ता भेटघाटका क्रममा सिटौलाले अन्तिम निर्णय नआउँदासम्म निराश नबन्न कार्यकर्तालाई आश्वस्त पारे ।
सिटौलाले केन्द्रीय संसद्का लागि दलहरूले चुनावी तालमेल गर्न नहुने तर्कसमेत गरे । उनले चुनावी गठबन्धन नेता र दलहरूको आफ्नो स्वर्थपूर्तिका लागि मात्र भएको बताए । ‘अहिलेको जस्तो तालमेल स्थानीय तह चुनावमा गर्नुपथ्र्यो । त्यस बेलाको तालमेलले स्थानीय तहको विकासमा थप योगदान पुग्थ्यो,’ उनले भने, ‘तर, अहिलेको तालमेल विशुद्ध चुनाव केन्द्रित छ । यो तालमेलले नेता र पार्टीको मात्र स्वार्थ पूरा हुन्छ । जनमतको कदर हुन सक्दैन । मुलुकको राजनीतिमा दीर्घकालीन बेफाइदा पुग्छ ।’ 

 

प्रकाशित : कार्तिक ८, २०७४ ०७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?