१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

छानबिन नटुंगिँदा नतिजामा अन्योल

एमबीबीएस परीक्षा अनियमितता
-पुन: परीक्षा लिने या पुरानै नतिजा सार्वजनिक गर्नेमा आईओएम अनिर्णीत
-‘निश्चित केन्द्रको परीक्षा रद्द गरेर पुन: लिन सकिन्छ’
मकर श्रेष्ठ

काठमाडौं — चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) ले दुई साताअघि लिएको एमबीबीएस प्रवेश परीक्षाको प्रश्नपत्र बाहिरिएको घटना छानबिनमा ढिलाइ हुँदा नतिजा पर्खाइमा रहेका साढे आठ हजार विद्यार्थी अन्योलमा छन् ।

त्रिभुवन विश्वविद्यालय र प्रहरीले छुट्टाछुट्टै छानबिन समिति बनाए पनि प्रतिवेदन नआउँदा नयाँ परीक्षा लिने या पुरानैबाट नतिजा सार्वजनिक गर्ने भन्नेमा चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) नै अनिर्णीत छ ।

आईओएमले असोज २८ मा लिएको प्रवेश परीक्षामा डिभाइस प्रयोग गरी चिट चोरी गरेको पाइएपछि प्रहरी र त्रिविले बेग्लाबेग्लै अनुसन्धान गरिरहेकामा बेलैमा प्रतिवेदन नदिँदा विद्यार्थी मारमा परेका हुन् । ६ सय ४० कोटाका लागि आईओएमले लिएको प्रवेश परीक्षामा ८ हजार ६ सय ६६ सहभागी थिए । प्रश्नपत्र बाहिरिएको सूचना आएलगत्तै प्रहरीले अनुसन्धान अघि बढाएको थियो । त्रिविले 
पनि लगत्तै छानबिन समिति गठन गरेको थियो ।
नतिजा सार्वजनिक नहुँदा त्यसको असर अन्यत्र पनि परेको छ । काठमाडौं विश्वविद्यालयमा पास भएका विद्यार्थी पनि आईओएमको नतिजा सार्वजनिक भएपछि मात्रै भर्ना हुने योजनामा छन् । प्रतिष्ठानहरूमा समेत आईओएमको नतिजाले असर पारेको छ । स्वदेशमा एमबीबीएस अध्ययन महँगो भएकाले सस्तोमा अध्ययन गर्न विदेश जान चाहने विद्यार्थी पनि अन्योलमा छन् । विदेशमा एमबीबीएस पढ्न पनि स्वदेशको प्रवेश परीक्षा अनिवार्य पास हुनुपर्ने प्रावधान छ । बेलैमा नतिजा सार्वजनिक नहुँदा शैक्षिक सत्रको समयसमेत धकेलिने अवस्था छ ।
उक्त प्रकरण छानबिन गर्न त्रिविले पूर्वडिनको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । प्रहरी र छानबिन समितिको सुझाव कुरेर बस्दा आईओएमले निर्णय लिन नसकेको हो । ‘छानबिन प्रतिवेदन नआएसम्म केही निर्णय गर्नै सक्दैनौं,’ आईओएमका डिन डा. जगदीश अग्रवालले भने । 
चोरी प्रकरणमा संलग्न भन्दै प्रहरीले १५ जनालाई नियन्त्रणमा लिएको छ । तीमध्ये दुई जना अर्काको परीक्षा दिनेछन् । १३ जनालाई ठगी र साइबर क्राइममा मुद्दा चलाइएको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख दिवेश लोहनीले बताए । ‘प्रश्नपत्र सार्वजनिक भएको हो/होइन, बाहिर आएको एन्सर मिल्छ कि मिल्दैन ? त्यो भित्र गयो/गएन ? भन्ने दुई दिनभित्र आईओएमलाई जानकारी दिन्छौं,’ उनले भने । परीक्षाअघि नै आउट भएको हो भन्ने प्रमाणित हुन बाँकी रहेको उनले बताए । कागजमा लेखेर सार्वजनिक भएको ‘एन्सर की’ आईओएमकोसँग हुबहु मिल्ने/नमिल्ने पनि विज्ञ बोलाएर परीक्षण हुन बाँकी रहेको उनले बताए । ‘अझै प्रारम्भिक चरणमै छौं । अहिलेसम्म हेर्दा आईओएमको संलग्नता देखिँदैन,’ उनले भने । 
दुई साताको समयावधि दिएर त्रिविले गठन गरेको छानबिन समिति संयोजक चिन्तामणि पोखरेलले एक साताभित्र अध्ययन सकाएर प्रतिवेदन बुझाउने बताए । ‘यस्तो अवस्था हँुदा त्रिवि परीक्षा नियन्त्रण कार्यालयले के गर्ने गरेको छ, छलफल गरेर निष्कर्ष निकाल्छौं,’ उनले भने । 
त्रिवि परीक्षा नियन्त्रक पुष्पराज जोशीले छानबिन समितिले जे सुझाव दिन्छ, त्यसैका आधारमा निर्णय लिने व्यवस्था रहेको बताए । ‘प्रश्नपत्र बाहिरिएको हो भने कति ठाउँमा असर पर्‍यो ? कमिटी गठन गरेर छानबिन गराउँछौं । कमिटीको सिफारिसलाई आधार मान्छौं,’ उनले भने । 
एमबीबीएस प्रवेश परीक्षाका लागि काठमाडौं उपत्यकाका १७ ठाउँमा केन्द्र तोकिएका थिए । तीमध्ये अरुणिमा, किस्ट कलेज र नामी कलेजबाट डिभाइसको माध्यमबाट उत्तर लेखिरहेका र नक्कली विद्यार्थीसमेत पक्राउ परेको प्रहरीले जनाएको छ । 
आईओएमले लिएको परीक्षाको उत्तरपुस्तिका कोडिङ गरेर सुरक्षित राखेको डिन अग्रवालले बताए । ‘कापी आउनेबित्तिकै कोडिङ भइसकेको छ । अब त्यही परीक्षालाई मान्यता दिने भन्ने निर्णय भयो भने परीक्षणतिर लाग्छौं,’ उनले भने, ‘नयाँ परीक्षा लिने भन्यो भने तयारी थाल्छौं ।’ 
समितिका एक सदस्यका अनुसार निश्चित परीक्षा केन्द्रको मात्रै पुन: परीक्षा लिन सक्ने सुझाव समितिले दिने अनुमान छ ।

प्रकाशित : कार्तिक ११, २०७४ ०६:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?