कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘अधिनायकवाद होइन, विकास’

कान्तिपुर संवाददाता

ताप्लेजुङ — एमाले अध्यक्ष केपी ओलीले वामपन्थीको बहुमतले अधिनायकवाद ल्याउँछ भन्नु बकबास मात्र भएको बताएका छन् । उनले दुई महिनापछि वाम गठबन्धनको सरकार बन्ने दाबी गर्दै ‘त्यसपछि देश दुनियाँलाई विकास गरेर देखाइदिने’ बताए ।

‘अधिनायकवाद होइन, विकास’


‘लोकतन्त्र कसैले किस्तीमा राखेर होइन, हामीले बलिदान गरेर ल्याएका हौं,’ चुनाव प्रचारका लागि आएका अध्यक्ष ओलीले भने, ‘अधिनायकवादका विरुद्ध लड्ने हामी अनि हामीले नै अधिनायकवाद ल्याउँछौं भनेर हल्ला गर्ने ?’
ओलीले थोरै भोट भएका माओवादीलाई सघाउनुपर्‍यो जस्तो लागेको भए चुनावसम्म त्यसलाई बिर्सिदिन आग्रह गरे । ‘चुनावपछि त हामी एक भइहाल्छौं,’ उनले भने । पुष्पकमल दाहाल सूर्य चिह्नबाट चुनाव लड्न सहमत भए पनि माओवादीका अन्य नेताका कारण यही निर्वाचनमा त्यो सम्भव नभएको उनले खुलासा गरे ।
अबको सरकार कसको बन्छ भन्ने अन्योल कसैमा नरहेको भन्दै ओलीले थपे, ‘योगेश भट्टराईलाई जिताएर पठाउनुहोस्, मन्त्री बनाउने जिम्मा मेरो, त्यसपछि ताप्लेजुङको विकास उहाँले नै गर्नुहुन्छ ।’ बाली थन्क्याउने समय भएकाले अबको एक महिना दिनरात खटिन उनले कार्यकर्तालाई निर्देशनसमेत दिए ।
चुनावी सभालाई सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि आउने भनिए पनि ओली एक्लै आएका थिए । ‘उहाँ भ्याउनुभएको भए म आउने थिइनँ । भ्याएका ठाउँमा दुवै जाउँला, नभ्याए एक्लाएक्लै गए पनि हामी एकै हौं,’ उनले भने । कार्यक्रममा प्रतिनिधिसभाका उम्मेदार तथा एमाले सचिव भट्टराईले वाम गठबन्धनले जिते भारतले नाकाबन्दी लगाउने प्रतिस्पर्धीले हल्ला फिँजाएको बताए ।

प्रकाशित : कार्तिक २०, २०७४ ०६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?