२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

ओलीले युरोपेली टोलीसँग भने–‘सरकारले स्वच्छ निर्वाचन गराओस्’

कान्तिपुर संवाददाता

काठमाडौं — एमाले अध्यक्ष केपी ओलीले चुनाव शान्तिपूर्ण र स्वच्छ ढंगले गराउनका लागि सरकारलाई सन्देश पुर्‍याइदिन युरोपेली चुनावी पर्यवेक्षकलाई आग्रह गरेका छन् । चुनावबारे विपक्षी पार्टीको धारणा बुझ्न सोमबार भेट्न आएको टोलीसँग ओलीले ‘शान्तिपूर्ण चुनाव गराउन भनिदिनुस्’ भन्दै आफ्नो सन्देश सुनाएका हुन् ।

चुनाव प्रक्रिया, चुनावसम्बन्धी सरकार र निर्वाचन आयोगको भूमिकाबारे केही गुनासो छ कि भन्दै युरोपेली पर्यवेक्षक टोलीले ओलीसँग जिज्ञासा राखेको थियो । चुनाव पर्यवेक्षणका लागि युरोपियन युनियनको २९ सदस्यीय टोली आइसकेको छ । 
‘म कसैलाई आरोप लगाउन चाहन्नँ, सुरुमै चुनावको मिति सार्न प्रयास गरियो तर जसरी पनि चुनाव हुने अवस्था देखिएपछि त्यो सम्भव भएन । त्यसैले अब चुनाव शान्तिपूर्ण र स्वच्छ ढंगले होस् भन्ने हाम्रो चाहना छ, यही कुरा तपाईंहरूले सरकारलाई पनि भनिदिनुहोला’ ओलीले टोलीसँग राखेको भनाइ उद्धृत गर्दै एमाले नेता विष्णु रिमालले भने । चुनावबारे दलहरूको भूमिका र अवस्थाबारे बुझ्न खोजेको भन्दै टोलीले पार्टीहरूको पछिल्लो चुनावी प्रतिस्पर्धा शैलीमाथि पनि प्रश्न गरेको छ । गठबन्धन गरेर चुनाव लडेका विषयमा पनि पर्यवेक्षकहरूले जिज्ञासा राखेका थिए । ओलीले चुनाव जित्ने प्रयोजनका लागि अहिले वामपन्थी गठबन्धन बनाएर आफूहरूले उम्मेदवारी दिएको र चुनावपछि पार्टी नै एकता गर्ने जानकारी दिए ।
टोलीले चुनावी कानुनका विषयमा पनि ओलीको धारणा मागेका थिए । जवाफमा ओलीले कानुनमा धेरै समस्या नरहेको तर चुनावसँग सरोकार नै नरहेका विषयमा सरकारले अध्यादेश जारी गर्न थालेकामा आफूहरूको आपत्ति रहेको बताएका थिए । संसद् नभएको अवस्थामा चुनावबाहेक अन्य विषयमा पनि अध्यादेश जारी गर्नुले आउने संसदको विशेषाधिकार सरकारले हनन गर्न थालेको भन्दै यसमा सचेत गराउन सुझाव दिए ।

 

प्रकाशित : कार्तिक २१, २०७४ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?