एसबीआई र नबिल सफल

कान्तिपुर संवाददाता

काठमाडौं — नेपाल एसबीआई र नबिल बैंकसहित रमन जनरल बुधबार सेन्चुरी बैंक कर्पोरेट सुपर सिक्स क्रिकेटको प्रिक्वाटरफाइनल पुगेका छन् । त्रिवि मैदान कीर्तिपुरमा एसबीआईले बुधबार कैलाश विकास बैंकलाई ७४ रन र कर्मचारी सञ्चय कोषलाई ६ विकेटले हरायो ।


मोनिश श्रेष्ठले ३६ र साकार श्रेष्ठले ३१ रन बनाएपछि एसबीआईले ५ ओभरमा १ सय ५ रन बनायो । कैलाशले ४ विकेटमा ३१ रनमात्र जोडयो । अर्को खेलमा एसबीआईले सञ्चय कोषलाई ३५/४ को स्कोरमा रोक्यो । जुन एसबीआईले १.३ ओभरमै पूरा गर्‍यो । टोली समूह ‘ए’ को विजेता बन्यो । कैलाश पनि सञ्चय कोषलाई पराजित गरेपछि समूह उपविजेता भयो ।
समूह ‘ई’ को विजेता बन्दा नबिलले एनसीसीमाथि ५ विकेटको जित दर्ता गर्‍यो । एनसीसीले ८६/२ को स्कोर बनाउँदा सुवास कुँवरले ३३ र सचिन गुप्ताले ३१ रन बनाए । नबिलले ३ बल बाँकी रहँदा १ विकेट गुमाई ८८ रन बनायो । अमित पोखरेलले ७ बलमा ३१ र दिनेश अधिकारीले २९ रन जोडे ।
रमन जनरल दुवै खेल जिती समूह ‘एफ’ को विजेता बन्यो । टोलीले एनएमबी बैंकलाई ६ विकेटले हरायो । एनएमबीले ६९/१ को स्कोर बनाएकोमा जनरलले ४ ओभरमै ७३ बनायो । सुमित श्रेष्ठले ३२ रन बनाए । एनएमबीबाट बरुण घिमिरेले २८ रन बनाए । अर्कोमा रमन जनरलले कुमारी बैंकलाई ६ रनले पन्छायो । कल्याण हलुवाईले ३१ रन बनाएपछि टोलीले ७२/३ को स्कोर बनायो । कुमारीले २ विकेट गुमाई ६६ रनमात्र बनाउन सक्यो । एनएमबी समूह ‘एफ’ को उपविजेता भयो । नेपाल टेलिकम पनि प्रिक्वाटरफाइनल पुग्यो । टेलिकमले समूह ‘सी’ को उपविजेता बन्दा आईएमई ग्रुपमाथि ५२ रनको जित पायो । टेलिकमले १ विकेट गुमाई ९३ रन बनाउँदा उपज महतले ३४ रन बनाए । आईएमईले ३ विकेट गुमाई ४१ रनमात्र जोड्यो । समूह ‘जी’ मा सांग्रिला स्पिरिट्सलाई ५ विकेटले हराएको एनआईसी एसिया बैंक अर्को खेलमा सिभिल बैंकसँग ५ विकेटले पराजित भयो । समूह ‘बी’ मा सिप्रदी ट्रेडिङले सूर्य नेपाललाई ६ विकेटले हरायो ।

 

प्रकाशित : कार्तिक २३, २०७४ ०६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?