१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

मनाङमा चुनाव, काठमाडौंमा घरदैलो

आश गुरुङ

लमजुङ — मनाङका गाउँमा चिसो ह्वात्तै बढेको छ । दिउँसोबाहेक साँझबिहान बाहिर निस्कनै मुस्किल छ । यस्तोमा गाउँमै कसरी बस्नु ? भोट मागेर हिँडने बेला उम्मेदवार पनि मतदाता खोज्दै काठमाडौं पसेका छन् ।

मनाङमा चुनाव, काठमाडौंमा घरदैलो


प्रतिनिधिसभाका लागि एउटा र प्रदेशसभाका लागि २ निर्वाचन क्षेत्र रहेको मनाङमा कांग्रेसका तीनैजना उम्मेदवार काठमाडौंमै छन् । एमालेका प्रतिनिधिसभा उम्मेदवार पनि यतै छन् । प्रदेशसभाका उम्मेदवार पनि राजधानीमा मतदाता भेटेर भर्खरै गाउँ फर्केका छन् । एमाले जिल्ला अध्यक्षसमेत रहेका प्रतिनिधिसभा उम्मेदवार पोल्देन छोपाङ गुरुङले काठमाडौंका मतदातासँग भेटघाट गरिरहेको बताए । ‘गाउँमा चिसो बढ्यो । अलि सञ्चो नहोला जस्तो पनि भयो । काठमाडौंमै छु, यहीं मतदातासँग भेटघाट गरिरहेको छु,’ उनले भने ।
एमाले प्रदेश ४ का सदस्य त्रिपल पी गुरुङले मतदातासँग भेटघाट गर्न पार्टीका उम्मेदवार काठमाडौं आएको बताए । ‘हामी आफ्ना आफन्तलाई आफ्नै तरिकाले भेटघाट गर्दैछौं । केही दिनमै मनाङ जान्छौं,’ उनले भने । एमाले प्रदेश (क) का उम्मेदवार दोर्जे डन्डुल गुरुङ काठमाडौंमा प्रचार सकेर गाउँ फर्के । प्रदेश (ख) का स्वतन्त्र उम्मेदवार दीपक मनाङे भनिने राजीव गुरुङ भने गाउँमै छन् ।
कांग्रेस सभापतिसमेत रहेका प्रतिनिधिसभा उम्मेदवार टेकबहादुर गुरुङले पार्टीका तीनैजना उम्मेदवार काठमाडौंमै रहेको बताए । ‘म झरेको साता दिन बित्यो,’ उनले भने । काठमाडौंमा रहेका आफन्त, इष्टमित्र तथा पार्टीका कार्यकर्ता र शुभचिन्तकसँग निरन्तर सम्पर्क र छलफल गरिरहेको उनले बताए । उनका साथमा कांग्रेस प्रदेश (क) का उम्मेदवार चिन्तबहादुर घले, प्रदेश (ख) का उम्मेदवार कर्म गुरुङ छन् । उनीहरूले पनि दैनिक भेटघाटका कार्यक्रम गरिरहेका छन् ।
मनाङका आधा जति मतदाता काठमाडौंमै छन् । उम्मेदवारले मनोनयन दर्ता गरेपछि सबै गाउँमा एक चरणको प्रचार अभियान सञ्चालन गरिसकिएको बताएका छन् । उनीहरूका अनुसार माथिल्लो मनाङ र नारफूका प्राय: व्यापार व्यवसायका लागि काठमाडौं छन् । मतदान गर्न उनीहरू गाउँ फर्किन्छन् । मनाङमा कुल ५ हजार ८ सय ८१ मतदाता छन् । प्रतिनिधि तथा प्रदेशसभा चुनावमा सबैभन्दा बढी भ्राका आधारभूत विद्यालय केन्द्रमा ५ सय ३४ मतदाता र सबैभन्दा कम चामेस्थित गाउँपालिका भवन केन्द्रमा ४२ जना छन् ।

५ मतदानस्थल अति संवेदनशील
सुरक्षा समितिले जिल्लाका ५ मतदानस्थललाई अति संवेदनशीलको सूचीमा राखेको छ । एउटा सिंगै नारफू गाउँपालिकाका ५ वटा मतदानस्थललाई यस्तो सूचीमा राखिएको हो । सदरमुकाम चामेबाट हिँडेर करिब २ दिनमा पुगिने उक्त ठाउँमा मतदानका समय हिमपात हुन सक्ने, भौगोलिक दृष्टिले निकै टाढा र बढी उचाइमा रहेकाले ‘हाइअल्टिच्युट’ को समस्या हुन सक्ने भन्दै अति संवेदनशीलमा राखिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताए । ‘सुरक्षाको दृष्टिकोणले नभई भौगोलिक विकटताका कारण पनि यस्तो सूचीमा राखिएको हो । कुनै पनि समय हेलिकप्टर प्रयोग गर्नुपर्ने हुन सक्छ,’ उनले भने ।

प्रकाशित : कार्तिक २४, २०७४ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?