कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

रेलको सम्भावना छ : चिनियाँ टोली

कान्तिपुर संवाददाता

काठमाडौं — नेपाल जोड्ने रेल चीनबाट ल्याउन सक्ने सम्भावना रहेको निष्कर्षसहित चिनियाँ प्राविधिक टोली फर्केको छ। नेपालभित्र र चीन जोड्ने रेलमार्गबारे अध्ययन गर्न नेपाल आएको चिनियाँ टोलीले रेल निर्माण प्राविधिक रूपमा सम्भव भएको बताएका छन्।

रेलको सम्भावना छ : चिनियाँ टोली

केरुङ–काठमाडौं, काठमाडौं–पोखरा र पोखरा–लुम्बिनीको अध्ययन गरेको उक्त टोलीले त्यस्तो जानकारी दिएका हुन्। उनीहरूले अध्ययन प्रतिवेदन भने केही समयपछि बुझाउने छन्। 

चिनियाँ प्राविधिकले थप अध्ययन गरेर त्यसको सम्भावनालाई टुंगो लगाउने छन्। चीनको राष्ट्रिय रेलवे प्रशासनका उपप्रमुख चेङ चियान नेतृत्वको २३ सदस्यीय टोली उक्त अध्ययन र लगानीको अवस्थाबारे अध्ययन गर्न सोमबार नेपाल आएको थियो। टोलीले नेपालभित्र र सीमामा जोड्ने रेलको प्राविधिक पक्षबारे अध्ययन गरेको थियो। उक्त टोलीले आएलगत्तै र स्थलगत अवलोकन सकेर जानुअघि छलफल गर्दै सम्भावना रहेको निष्कर्ष निकालेको हो। टोलीले अन्य प्राविधिकहरूको समेत धारणा र नेपाल सरकारको रेल विभागले तयार गरेको अध्ययनको आधारलाई राखेर नेपालमा रेलमार्ग सम्भव रहेको जानकारी चीन सरकारलाई दिनेछ। 
उनीहरूले आफ्नो पक्षबाट अध्ययनसमेत गरिसकेकाले सरकारले पनि अब छुट्टै प्रस्तावसहित रेल निर्माणका लागि अघि बढ्नुपर्ने हुन्छ। रेल विभागमा सिनियर डिभिजनल इन्जिनियर तथा प्रवक्ता प्रकाश शर्माले कान्तिपुरसँग भने, ‘अध्ययन राम्रो भएको छ। उनीहरूले आफ्नो चासो राखे हामीले हाम्रो कुरा राख्यौं। भएका अध्ययन र सम्भावना पनि देखाए। केही समस्या र त्यसको निधान पनि देखाएका छन्। अब प्रक्रिया अघि बढाउँदा चिनिया पक्ष सकारात्मक रहने स्पष्ट छ।’ यस क्षेत्रमा भौगर्भिक समस्या रहेको जानकारी पनि उनीहरूले दिएका छन्। दुई प्लेटको बीचमा रहेको क्षेत्र भएकाले प्लेट आपसमा जुध्दा रेलमार्गको सुरुङमा समस्या आउन सक्ने भए पनि त्यहाँ रेल कुद्न सक्ने सम्भावना रहेको धारणा उनीहरूले व्यक्त गरेका छन्। 

प्रकाशित : कार्तिक २५, २०७४ ०६:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?