विद्यालयमै सभा

मन्त्रीकै उपस्थितिमा आचारसंहिताविपरीत सभा
कक्षा बने भान्छाकोठा
अवधेशकुमार झा

खुरहुरिया (सप्तरी) — कांग्रेसले निर्वाचन आचारसंहिता विपरीत विष्णुपुर गाउँपालिकाको खुरहुरिया चौकस्थित जनता माध्यमिक विद्यालय परिसरमा सभा गरेको छ । मूल ढोकामा पार्टी झन्डा टाँगेर चौरमा सभा गरिएको हो । सभामा आएका पाहुनालाई भोज दिन कक्षाकोठालाई भान्छाका रूपमा प्रयोग गरिएको छ ।

विद्यालयमै सभा


प्रधानाध्यापक सूर्यनारायण यादवको सहमतिमै कांग्रेसले बृहत् पार्टी प्रवेश कार्यक्रम गरेको स्रोतले जनायो । ‘शुक्रबार भएका कारण चार घण्टीको पढाइपछि विद्यालयमा छुट्टी भयो । त्यसपछि स्पिकर बज्न थाल्यो । हिन्दी फिल्मी गीत घन्किए,’ एक सहभागीले भने ।
कक्षाकोठाभित्र माछा र चिया पकाइएको थियो । कांग्रेस सप्तरीका सभापति तथा क्षेत्र ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार दिनेशकुमार यादव आउनेबितिकै कार्यक्रम सुरु गरिएको थियो । प्रधानाध्यापक यादव अतिथिको लहरमा थिए । उनले कांग्रेसका पक्षमा भोट माग्दै भाषण गर्न भ्याए । 
कार्यक्रममा उपस्थित हुन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देव बा२झ १९४७ नम्बरको सरकारी गाडीमा आए । उनले प्रमुख अतिथिका रूपमा कार्यक्रममा सहभागिता जनाए । साँझ विद्यालय परिसरमै माछा र चिउराको भोज भयो । खुरहुरियास्थित जनता माविमा कार्यक्रम हुनुअघि मन्त्री देवसहितको टोलीले पत्थरगाडामा रहेको अर्को एउटा विद्यालयमै चुनावी सभा गरेका थिए । निर्वाचन आचारसंहिताविपरीत जिल्लाका दुई विद्यालयमा चुनावी सभा भएका हुन् । सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले निर्वाचन आचारसंहिताविपरीत कुनै पनि दलले विद्यालयमा सभा गर्न नपाउने बताए । ‘सबै दलले निर्वाचन आचारसंहिता पालना गर्छु भनेर प्रतिबद्धता जनाएका छन् । त्यस विपरीत जान मिल्दैन,’ उनले भने । आचारसंहिता विपरीत कार्यक्रम भए/नभएका विषयमा जानकारी लिएपछि मात्र थप कुरा बताउन मिल्ने प्रतिक्रिया उनले दिए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष जयनारायण यादवले आचारसंहिता र विद्यालय शान्ति क्षेत्रको मर्मविपरीत विद्यालयमै माछा–चिउराको भोज र चुनावी सभा गरिनु जायज नभएको बताए । ‘मलाई यो कार्यक्रमबारे कुनै जानकारी छैन । अनुमति दिनेउपर कारबाही हुनुपर्छ,’ उनले भने । प्रधानाध्यापक यादवले आफू कार्यक्रमको अतिथि र वक्ता भएको स्विकारे । उनले आफ्नो अनुमतिबेगरै विद्यालयमा मञ्च बनाइसकेकाले रोक्न नसकिएको जिकिर गरे । ‘विद्यालयमै थिएँ । आसन ग्रहण र बोल्नका लागि समय दिएकाले उपस्थिति जनाएँ,’ उनले भने ।
पर्यटनमन्त्री देवले विद्यालयमा सभा भएकोबारे आफू अनभिज्ञ रहेको बताए । उनले भने, ‘कार्यक्रम विद्यालयमा हुनु हुँदैन, विद्यालयमा भइरहेको हो भन्ने कुरा मलाई जानकारी नै भएन ।’ 
भोट माग्दै रेडक्रस सभापति
यी दुवै विद्यालयमा आयोजित चुनावी सभाका अर्का अतिथि थिए, नेपाल रेडक्रस सोसाइटी सप्तरीका सभापति जोगेन्द्र भगत । उनले पत्थरगाडास्थित सखुवामा आयोजित सभालाई सम्बोधन गर्दै अहिले आचारसंहिता लागू भएकाले बाढीपीडितलाई राहत वितरण गर्न समस्या भएको सुनाए । उनले आफू व्यक्तिगत रूपमा कांग्रेस उम्मेदवारका लागि मत मागिरहेको प्रतिक्रिया दिए । 

 

प्रकाशित : कार्तिक २५, २०७४ ०६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?