कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

उम्मेदवारसँग विकास माग्दै मतदाता

कान्तिपुर संवाददाता

भोजपुर — सदरमुकामको छिमेकी गाउँ मानेभञ्ज्याङमा विद्युत् विस्तार थालेको ८ वर्ष भयो । पुरानो समितिबाट काम चित्तबुझ्दो नभएपछि गणेश कार्की अध्यक्षतामा नयाँ समिति बन्यो । यो समितिले पनि खम्बा गाड्ने र तार टाँग्ने कामबाहेक अरू गरेन ।


तार टाँगेको पनि ४ वर्ष बित्यो । बिजुली कहिले बल्छ, टुंगो छैन । ‘बाल्लान् भनेर कुरेको वर्षांै बित्यो, बाल्नै आँटेनन्,’ ९८ वर्षीय रहरमान तामाङले भने । 
मानेभन्ज्याङमा जन्मेकी विद्यादेवी भण्डारी राष्ट्रपति छन् । उनको माइती गाउँमा खानेपानीको चरम अभाव छ । ०७२ वैशाखको भूकम्पले कुवा, धारा सुकेपछि समस्या थपिएको हो । खानेपानी व्यवस्था नहँुदा भोर्लेनी, गुराँसे, थाक्ले, आम्बोटेलगायतका सयौं घर अन्यत्रै बसाइँ सरे । ‘सक्ने त बसाइँ गए, नसक्नेका लागि गाह्रो छ,’ ५२ वर्षीय विष्णुकुमार मगरले भने ।
षडानन्द नगरपालिका र छिमेकी संखुवासभा जिल्ला जोड्ने लम्सुवाघाटमा पक्की पुल निर्माण थालेको ६ वर्ष बित्यो । सडक डिभिजन कार्यालय तुम्लिङटारका अनुसार हालसम्म २० प्रतिशतमात्रै काम सकिएको छ । म्याद गुज्रिए पनि थप निर्माण अघि बढ्न सकेको छैन । ०६७ असोजमा सम्झौता गरी ०६८ मंसिरमा शिलान्यास गरेको उक्त पुलको स्वच्छन्द निर्माण सेवाले १४ करोडमा ठेक्का लिएको थियो ।
षडानन्दवासीले साविकको क्षेत्र नं. १ का सांसद कृपाशुर शेर्पा, २ का सांसद तथा पूर्व सूचना तथा सञ्चारमन्त्री शेरधन राईलाई चाँडो निर्माण गराउन पटकपटक ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएको स्थानीय सुमन लम्सालले बताए ।
बाहिरी जिल्लासँग जोड्ने एकमात्र भोजपुर–लेगुवा ६६ किमि नारदमुनि थुलुङ राजमार्ग निर्माण भएको १० वर्ष भए पनि कालोपत्रे नहुँदा यात्रुलाई हिउँदमा धूलो र वर्षातमा हिलोको सकस छ । खोटाङसँग जोडिने मध्यपहाडी राजमार्ग (४० किमि) स्तरोन्नति तथा कालोपत्रे नहुँदा वर्षको ६ महिना सवारी चल्नै सक्दैनन् । आमचोक गाउँपालिकाका ६८ वर्षीय बिर्खबहादुर बाँस्तोला गाउँको विकास हुन 
नसकेकामा चिन्तित छन् । ‘चुनावैपिच्छे नेतालाई भोट त हालियो तर हाम्रा घरपाखा उस्ताको उस्तै छन्,’ उनको ठम्याइँ छ, ‘निर्वाचनले विकास नभएर नेतामात्रै जन्माएको छ ।’

 

प्रकाशित : कार्तिक २५, २०७४ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?