१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

कारागार अब सुधारगृह

कान्तिपुर संवाददाता

लेखनाथ (कास्की) — दुई वर्षअघि रूपन्देही कारागार खचाखच भरियो । लागूऔषध कारोबारी धमाधम समातिन थालेपछि कैदीको चाप थेग्न कारागारलाई गाह्रो भयो । कारागार प्रमुख गीता पाण्डेले कारागार व्यवस्थापन विभागका तत्कालीन महानिर्देशक देवी सुवेदीलाई समस्या सुनाइन् ।

सुवेदीले अन्यत्रका कारागार प्रमुखलाई फोन गरी सार्न मिल्ने/नमिल्ने सोध्न लगाए । पाण्डेले एकैदिन ३४ कारागार प्रमुखलाई फोन घुमाइन् । कतैबाट ‘हाम्रोमा खाली छ’ भन्ने उत्तर पाइनन् । ‘त्यतिबेला कसैसँग परिचय थिएन,’ उनले भनिन्, ‘कसैबाट राम्रो रेस्पोन्स पाइनँ ।’
पोहोर कारागार प्रमुखको भेला भयो । सबैसँग उनको चिनजान भयो । अहिले भने उनलाई जिल्ला कारागारमा कैदीबन्दी धेरै भए भन्ने चिन्ता छैन । रूपन्देहीमा चाप हुनेबित्तिकै उनले छिमेकी जिल्लाका कारागारमा फोन गर्छिन् र कैदीबन्दी सरुवा गर्छिन् । कारागार व्यवस्थापन विभागले गरेको मध्यमाञ्चल र पश्चिमाञ्चलका कारागार प्रमुखको क्षेत्रीय गोष्ठीमा उनले आफ्नो अनुभव सुनाएकी हुन् । विभागले गरेको कारागार व्यवस्थापन, सूचना प्रणाली र क्षमता अभिवृद्धि गोष्ठीमा उनले सरकारी कार्यालय भएपनि उपेक्षित भएको गुनासो गरिन् । कैदीबन्दीको चाप बढी हुनु, भौतिक पूर्वाधार नहुनु, पर्याप्त बजेट नपर्नु कारागारको समस्या रहेको उनले सुनाइन् । यति हुँदाहुँदै पनि कारागारलाई यातनारहित सुधारगृहमा परिवर्तन गर्न आफू प्रतिवद्ध रहेको उनले जनाइन् । 
तीनदिने गोष्ठीबाट उनीसँगै ३५ जिल्लाका कारागार प्रमुखले ६ बुँदे प्रतिबद्धता गरेका छन् । कैदीबन्दीको मानवअधिकार संरक्षण र प्रवद्र्धनलाई उच्च प्राथमिकता दिने, कारागारलाई आधुनिक सूचना प्रविधिमैत्री बनाउने, कैदीबन्दीको सेवासुविधामा वृद्धि गर्ने, सीपमूलक तालिम सञ्चालन गरी आयआर्जन सिर्जना गर्ने र कर्मचारीको दक्षता अभिवृद्धि गर्ने प्रतिबद्धता उनीहरूले गरेका हुन् । गोष्ठीको समापनमा विभागका महानिर्देशक कृष्णचन्द्र न्यौपानेले कैदीको मानवअधिकार संरक्षण गर्ने जिम्मा कारागार प्रमुखको भएको बताए । सहयोगी संस्था युरोपेली युनियनका शिव आचार्यले कारागारमा सुशासन कायम गर्न, मानवअधिकारमैत्री र यातनारहित बनाउन गोष्ठी आयोजना गरेको बताए । युरोपेली युनियन, हेन्डिक्याप इन्टरनेसनल र यातनापीडित सरोकार केन्द्र (सिभिक्ट) को सहयोगमा गोष्ठी भएको हो । 

 

प्रकाशित : कार्तिक २५, २०७४ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?