चाकेखोलाको उत्पादन राष्ट्रिय प्रसारणमा

कान्तिपुर संवाददाता

रामेछाप — चाकेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् शुक्रबारबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । रामेछापको चुचुरे लहरेदेखि दोलखाको जिरीसम्म निर्मित ३३ केभी प्रसारण लाइनमार्फत उक्त आयोजनाको विद्युत् जिरी सबस्टेसनमा जोडिएको हो ।


आयोजनाका इन्जिनियर विशाल कार्कीका अनुसार आयोजनाबाट उत्पादित २.८३ मेगावाट विद्युत् सफलतापूर्वक राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । गर्जाङ उपत्यका हाइड्रोपावर कम्पनीमार्फत ०७० वैशाखदेखि उक्त आयोजनाको निर्माण सुरु भएको थियो । चुचुरेको चाकेखोलाको पानीलाई २ हजार ७ सय मिटर नहर र करिब १ हजार ६ सय मिटर पेनस्टक पाइपमार्फत लहरेटारमा निर्माण भएको उत्पादनगृहमा खसाली उक्त विद्युत् उत्पादन गरिएको हो । उक्त आयोजनाबाट हिउँदयाममा करिब डेढ मेगावाट विद्युत् उत्पादन हुने लक्ष्य राखिएको छ । आयोजनाका प्रबन्ध निर्देशक अरुणकुमार सुवेदीका अनुसार उक्त आयोजनाको लागत करिब ६० करोड रुपैयाँ रहेको छ । आयोजनाको सिभिलतर्फको कार्य करिब २ महिनाअघि नै सकिएको थियो । सामान्य प्राविधिक समस्याका कारण उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोड्न समय लागेको हो । आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणले खरिद गर्नेछ ।

प्रकाशित : कार्तिक २५, २०७४ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?