१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

पानी माग्दै घाँजरीपिपलवासी

कान्तिपुर संवाददाता

सल्यान — बन्गार कुपिण्डे नगरपालिका घाँजरीपिपलकी ५५ वर्षीया तुलसा रानाले स्थानीय तहको चुनाव प्रचारका लागि पुगेका उम्मेदवारसँग खानेपानी मागेकी थियन् । उनको मागको अहिलेसम्म सुनुवाइ भएको छैन ।

पानी माग्दै घाँजरीपिपलवासी

दशकदेखि पानी अभावले विभिन्न समस्या भोग्दै आएकी उनले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा भोट माग्न आएका सबैसित पानी माग गरेकी छन् । घाँजरीपिपलवासीको पहिलो प्राथमिकता खानेपानी नै रहेको छ ।
पानीका लागि भेरी नदीसम्म पुग्नुपर्ने बाध्यता भएकाले स्थानीयले पानीलाई पहिलो माग गराएका हुन् । उनीहरूले पानीको स्रोतबारे उम्मेदवारलाई जानकारीसमेत गराएका थिए । ‘जसले हामीलाई पानी खुवाउँछ, उसैलाई भोट दिन्छौं,’ स्थानीय सीता थापा भन्छिन्, ‘गाउँमा पानीको धेरै समस्या छ । एक गाग्रीका लागि दुई घण्टा हिँडनुपर्छ ।’ गाउँमा पानी ल्याइदिए अरू केही नचाहिने उनको भनाइ छ । मुहानको अभावमा बाह्रै महिना पानी हाहाकार छ । साविकको जिविसले केही वर्षअघि गरेको खानेपानी योजना अलपत्र रहेको स्थानीयले बताए । पानीको समस्याले १ सय ५० भन्दा बढी परिवार प्रभावित छन् । विगतमा धेरै नेताले पानी ल्याइदिने प्रतिबद्धता जनाए पनि पछि फर्केर नहेरेको स्थानीय देबसरा सुनारको आरोप छ । विगतमा धेरै चहलपहल हुने गाउँ पानीको अभावकै कारण सुनसान भएको उनले सुनाइन् । गाउँबाट धेरै विस्थापित भएको उनको भनाइ छ । ‘विभिन्न योजनाअन्तर्गत पानीलाई पहिलो प्राथमिकतामा राखेका छौं । हामीलाई सिँचाइ र बिजुली चाहिएको छैन । पानी भए पुग्छ,’ उनले भनिन् । डाँडामा भएको बस्तीका कारण प्रत्येक वर्ष मुहान सुक्दै जाँदा पानीको हाहाकार भएको हो । यही समस्याले पशुपालन र खेतीपातीसमेत प्रभावित बन्दै गएको स्थानीयले बताए । पानी अभावले घरघरमा बनाएको शौचालय प्रयोगविहीन छन् ।

 

प्रकाशित : कार्तिक २७, २०७४ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?