१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

गर्दागर्दै खुइ–खुइ : एमालेको बुइ !

बेरोजगार, गरिबी, अशिक्षा, कुसंस्कार, परनिर्भरता र भ्रष्टाचारले आक्रान्त परेको हाम्रोजस्तो मुलुकमा ती कुरा निमिट्यान्न पारिनेछ भनेर ठूलो स्वरले भन्दै जबर्जस्त चलाइएको सशस्त्र आन्दोलन मजाले चल्नु स्वाभाविकै थियो ।

अनि माओवादीहरू सत्तामा आएपछि त सुनकै मान्छे होइएला भन्ठान्नु पनि कुनै नौलो कुरो थिएन । अन्तत: १७ हजारको बलिदानी र खर्बौंको भौतिक सम्पत्ति ध्वस्त भएपछि कथित् दसवर्षे ‘जनयुद्ध’ समाप्त भई उक्त आन्दोलनका सञ्चालकहरू सार्वजनिक भए । पहिलो संविधानसभाको चुनावमा मतदाताले आइन्दा चन्दा दिनु नपरोस्, हातखुट्टा भाँचिमाग्नु नपरोस्, केही गरी मारिनु पनि नपरोस् भन्ठानेर भए पनि माओवादीलाई भोट दिएर जिताए । नभन्दै सत्ता पनि उनीहरूले चलाउन पाए, कहिले आफ्नै नेतृत्वमा, कहिले अरुसँग मिलेर । दोस्रो संविधानसभाको चुनावदेखि स्वात्तै घटेको माओवादी, त्यसपछि उक्सिनै सकेन । तेस्रो पार्टीका रूपमा रहे पनि माओवादी पार्टी, प्रचण्डको चातुर्यका कारण कहिले एमालेसँग र कहिले नेपाली कांग्रेससँग मिलेर सत्तामा बस्न त पायो, तर जति नै गरे पनि स्थानीय चुनावसम्म आइपुग्दा पनि माओवादीको अवस्था सुध्रन सकेन । अन्तत: माओवादी र एमालेको ‘वाम गठबन्धन’ भयो । यी दुई पार्टीको चुनावी साँठगाँठलाई लिएर धेरै थरी टिकाटिप्पणी भइसकेका छन् ।
खासगरी यसलाई लिएर, गर्नेले पनि के–के न ठूलो काम गर्‍यौं भनेर प्रचार गरे भने देख्नेले पनि ‘ज्यादै खतरनाक’ काम भयो भनेर पीर पनि गरे । तर यो पूर्व र पश्चिमका ठगहरूले आ–आफ्ना कमसल सामान साटासाट गरेर मख्ख परेबाहेक कुनै ठूलो कामकुरो थिएन । यसबाट लुँडो खेलमा जस्तो गोटी भर्‍याङनेर पुगेपछि फुत्तै माथि उक्लेजस्तो माओवादी उक्लने पनि होइन । अनि एमालेलाई पनि यसले कुनै फरक पार्ने सम्भावना छैन । खालि कुनै उपाय नलागेर खुइ–खुइ गर्दागर्दै आखिरमा आफ्नो अस्तित्व केही हदसम्म जोगाउँm भन्ने उद्देश्यले मात्रै माओवादी एमालेको बुइँ चढेको देखिन्छ ।– इन्द्रकुमार श्रेष्ठ
कमलाकुञ्ज, ओखलढुंगा

प्रकाशित : कार्तिक २७, २०७४ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?