साना दलबाट महिला

कान्तिपुर संवाददाता

काभ्रे — आसन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा साना दलले मात्रै महिलालाई उम्मेदवार बनाएका छन् । कांग्रेस, एमाले र माओवादी केन्द्रको गठबन्धनले महिलालाई समानुपातिकतर्फ मात्रै अवसर दिएका छन् । जिल्लाका ५८ मध्ये ४ जना मात्रै महिला उम्मेदवार छन् ।


प्रतिनिधिसभा र प्रदेशसभा संसद्मा ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्ने संवैधानिक व्यवस्था भए पनि दलहरूले प्रत्यक्षमा टिकट नदिएर त्यसको पूर्ति समानुपातिक निर्वाचनबाट गर्न लागेका हुन् ।
प्रतिनिधिसभा क्षेत्र १ मा लिबरल डेमोक्रेटिक पार्टीकी शान्ता लामा, क्षेत्र २ मा नेपाली जनता दलकी सरस्वती त्रिपाठी र क्षेत्र १ अन्तर्गतको प्रदेशसभा (ख) मा देशभक्त जनगणतान्त्रिक मोर्चाकी शोभा विश्वकर्मा र नेपाल मजदुर किसान पार्टीकी चण्डिका छुका उम्मेदवार बनेका छन् ।
प्रदेशसभा क्षेत्र (ख) की उम्मेदवार विश्वकर्माले जित्ने गरी मत नआए पनि सन्तुष्ट हुने गरी मत ल्याउने दाबी गरिन् । ‘महिला सशक्तीकरण र वर्ग उत्थानको मुद्दा उठाउँछु,’ उनले भनिन्, ‘जित्ने गरी मत नल्याए पनि जनताले स्वविवेक प्रयोग गर्छन् भन्ने विश्वास छ ।’
कांग्रेसले ललित किङरिङ, सरस्वती वैद्य र माइली दनुवारलाई प्रतिनिधि र प्रदेशसभातर्फ समानुपातिकको बन्दसूचीमा नाम समावेश गरेको छ । एमालेले नवीना लामा, गोमा भुर्तेल र सूर्यमाया दनुवारको नाम पारेको छ । माओवादी केन्द्रले रुकु चौलागाईं, मीना पाख्रिन, रीता ढकाल र गीता रसाइलीको नाम समानुपातिकको बन्दसूचीमा राखेको जनाएको छ । माओवादी केन्द्रकी जिल्ला संयोजक चौलागाईंले प्रत्यक्षतर्फ दाबी गरे पनि टिकट नपाएको बताइन् । ‘टिकट दिन खोजिएन,’ उनले भनिन्, ‘पार्टीभित्र कुरा उठायौं तर धेरै सक्षम महिलाले टिकट पाउनुभएन ।’
गठबन्धनका कारण पनि अवसरबाट वञ्चित भएको तर्क गर्दै उनले प्राविधिकभन्दा पनि नियतवश यसो गरिएको गुनासो गरिन् । कांग्रेसको भ्रातृ संस्था नेपाल महिला संघकी जिल्ला अध्यक्ष शुभलक्ष्मी मानन्धर प्रतिनिधिसभा क्षेत्र २ मा प्रत्यक्षतर्फ सिफारिस भए पनि टिकट भने पाइनन् ।

प्रकाशित : कार्तिक २८, २०७४ ०६:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?