कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

लाइभ गर्नेलाई मुन्द्रेको घोचपेच

नवीन पोखरेल

लन्डन — नेपालमा सामाजिक सञ्जालका प्रयोगकर्ता बढिरहँदा स्ट्यान्डअप कमेडियन जितु नेपाल (मुन्द्रे) पनि यसबाट अछुतो रहेनन् । लाइक, अपडेट अनि कमेन्ट । समय–समयमा फेसबुक अपडेट नियालिरहँदा मानिसहरू खुसियालीदेखि मसानघाटसम्मको लाइभमा व्यस्त रहेका भेटिन्छन् ।

लाइभ गर्नेलाई मुन्द्रेको घोचपेच


लन्डनको ग्रिनफोर्ड टाउन हलमा शनिबार प्रस्तुति दिँदै मुन्द्रेले घोचपेच गरे, ‘हुँदाहुँदा अहिले त लास जलिरहँदा पनि धुरुधुरु रुँदै लाइभ गर्ने चलन आयो । खुसीको क्षण त ठीकै हो, वियोगमा समेत लाइभ गरेर मानिसहरूले संवेदना गुमाउँदै छन् ।’ 
यसपछि उनले पारिवारिक विचलन र नेपालको समसामयिक राजनीतिक बेथितिमाथि समेत पनि व्यंग्य हाने । आसन्न निर्वाचन जोडेर नेताहरूको तमासामाथि व्यंग्य गर्दा दर्शकले तालीबाट साथ दिएका थिए । ‘अहिले चुनाव लागेको बेला त उम्मेदवारहरू खेतमा धान काट्नेदेखि उस्तै परे कपाल नै काटिदिन समेत तयार देखिएका छन्,’ नेताहरूको सस्तो हर्कतप्रति उनले भने, ‘चुनावपछि भने गायब ।’ 
‘नेपाली साँझ–३’ कार्यक्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, केपी ओली, नेता रामचन्द्र पौडेलको पनि क्यारिकेचर गरेर हँसाए । चौथोपटक बेलायत आएका मुन्द्रेले विदेशमा पनि ‘नेपाली टाइम’ भन्दै दुई घण्टापछि हल्लिँदै कार्यक्रममा झुल्किने बेहोराप्रति पनि कटाक्ष गरे । इलिट इन्टरटेनमेन्ट यूकेले यतिबेला बेलायतमा गरिरहेका कार्यक्रमहरूमा मुन्द्रे मुख्य आकर्षण बनेका छन् । शुक्रबार उनी केन्टवासी नेपाली दर्शक हँसाउँदै थिए । उनी अन्तिम सो अल्डरसटमा गरेर मंगलबार नै नेपाल फर्कने चटारोमा छन् ।
आफू अभिनीत फिल्म ‘छक्का पन्जा २’ को ५१ औं दिनको कार्यक्रम भ्याउन छिट्टै नेपाल फर्कनुपरेको मुन्द्रेले बताए ।
कार्यक्रममा जितुसँगै नेपाल आइडलका टप सिक्स सुरज थापा, टपटेन केन्जल मेहर श्रेष्ठ र गायिका तृष्णा गुरुङले गायनमार्फत मनोरञ्जन दिलाए । हेम गुरुङ, नीरा पिजी, इन्द्र घोताने, मनोज गुरुङ र लाटो मगरले संयुक्त रूपमा ‘नेपाली साँझ ३’ गरेका हुन् । 

 

प्रकाशित : कार्तिक २८, २०७४ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?