२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

शृंखलाबद्ध विस्फोट

नुवाकोटमा ६ घाइते
कृष्ण थापा

नुवाकोट — निर्वाचन प्रचारमा रहेका नुवाकोट १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा कांग्रेस नेता रामशरण महतलाई लक्षित गरी ककनी गाउँपालिका ५ डाँडागाउँमा शुक्रबार माइन बम विस्फोट गराइएको छ । घटनामा ६ जना घाइते भएका छन् । ककनी ७ चतुरालेमा आयोजित चुनावी कार्यक्रममा जाँदै गरेका नेता महत र सोही क्षेत्रको प्रदेश ‘ख’ का उम्मेदवार रमेश महत चढेका दुई गाडी अगाडि बढ्नेबित्तिकै गराइएको विस्फोटमा तेस्रो गाडी परेको थियो ।

शृंखलाबद्ध विस्फोट


सबैभन्दा अगाडि नेता महत चढेको गाडी थियो । त्यसको पछाडि रमेश र तेस्रोमा कार्यकर्ता थिए । घटनामा नेपाल विद्यार्थी संघका नेता उपेन्द्र मिश्र, भेषकुमार तामाङ, सविन लामा, लीलाबहादुर घर्तीमगर, रामबहादुर राई तथा रमेश राई घाइते भएका छन् । प्रदेश उम्मेदवार महतका अनुसार उपेन्द्र, रामबहादुर, भेषबहादुर र सविनलाई उपचारका लागि हेलिकप्टरबाट राजधानी लगिएको छ । उनीहरूको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ । लीलाबहादुर र रमेशको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । नेता महतको गाडी करिब २५ मिटर टाढा पुगेपछि विस्फोट भएको थियो । विस्फोटमा परेको बा१६च ६६५ नम्बरको गाडी पल्टेर उत्तानो परेको थियो । नेता महतले आफ्नो लोकप्रियताबाट अत्तालिएर आक्रमण गरिएको बताए । ‘निर्वाचनमा हिंसा गराउने तत्त्वले विस्फोट गराएको हो, यो जुनसुकै शक्तिले गराएको हुन सक्छ,××’ यस घटनाबाट आफ्नो चुनावी अभियानमा कुनै असर
नपर्ने दाबी गर्दै उनले भने । ‘हामी अझ उत्साहित भएर निर्वाचनमा जानेछौं,’ महतले भने, ‘घटनाको उचित छानबिन गरेर दोषी पत्ता लगाउनुपर्छ ।×’
आफूमाथि जानाजान मार्ने नियतले आक्रमण भएको उनले बताए । ‘यसअघि पनि मलाई केही समूहले आक्रमण प्रयास गरेका थिए,’ उनले भने । घटनापछि पनि नेता महतले कार्यक्रम रोकेनन्, घरदैलोसमेत जारी राखे ।
प्रमुख जिल्ला अधिकारी जगदीशराज बरालले घटनाको छानबिन सुरु भइसकेको
बताए । उनले निर्वाचन सहज बनाउन सुरक्षा व्यवस्था अझ कडा बनाइएको जानकारी दिए ।
यसैबीच, स्थानीय प्रशासनले उम्मेदवारको व्यक्तिगत सुरक्षाका लागि प्रहरी खटाउने भएको छ । उनीहरूलाई व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) खटाउने निर्णय प्रशासनले गरेको छ । उम्मेदवारको सुरक्षामा चुनौती थपिएपछि यस्तो व्यवस्था गर्न लागेको हो ।
घटनाको भत्र्सना
कांग्रेस केन्द्रीय कार्यालयले शुक्रबार नेता महतमाथि भएको घटनाको भत्र्सना गरेको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा कांग्रेसको पक्षमा देखिएको जनलहरबाट आत्तिएका आपराधिक मानसिकता बोकेका समूहले महतको हत्या गर्न खोजेको आरोप लगाइएको छ । ‘घटनाको घोर निन्दा र भत्र्सना गर्दछौं,’ विज्ञप्तिमा छ । शान्तिपूर्ण निर्वाचन कार्यक्रम गर्न पाउने नागरिकको नैसर्गिक अधिकारमाथि ठाडो हस्तक्षेप गरेको ठहर कांग्रेसले गरेको छ । ‘घटनाका दोषी पत्ता लगाई कडा कारबाही गर्न सरकारसँग माग गर्दछौं,’ विज्ञप्तिमा छ ।

लिबाङ सभा


रोल्पामा फेरि बम आक्रमण
कृष्णबहादुर महरा, वर्षमान पुन र ओनसरी घर्तीलगायतको टोलीमाथि बम प्रहार

-काशीराम डाँगी
रोल्पा– सदरमुकाम लिबाङमा चुनावी सभा सम्बोधन गर्न आइरहेका वाम गठबन्धनका उम्मेदवारहरूमाथि शुक्रबार बम आक्रमण भएको छ । उम्मेदवारहरू कृष्णबहादुर महरा, वर्षमान पुन, कुलप्रसाद केसी, दीपेन्द्र पुन र पूर्वसभामुख ओनसरी घर्तीलगायतको टोलीमाथि गन्तव्यमा पुग्न करिब ५ किमि वरै जंगल क्षेत्रमा बम आक्रमण भएको हो । चुनावी अभियानमा खटिएका पूर्वअर्थमन्त्री पुन लक्षित गरी केही दिनयता भएको यो तेस्रो बम आक्रमण हो ।
रोल्पा नगरपालिकाभित्र पर्ने भदौरे मन्दिर र सातदोबाटोको बीचमा पर्ने जंगल क्षेत्रमा बम प्रहार भएको थियो । गाडी सवार नेताहरूलाई नलागी बाटोमाथि विस्फोट भएकाले कसैलाई पनि क्षति पुगेन । लिबाङमा आमसभालाई सम्बोधन गर्न दाङबाट मुख्य पाहुना बनेर बिनाविभागीय मन्त्री एवं माओवादी केन्द्रका नेता कृष्णबहादुर महरालाई लिएर पूर्वअर्थमन्त्री वर्षमान पुनलगायतको टोली आएको थियो, जसमा माओवादी नेत्री एवं पूर्वसभामुख ओनसरी घर्तीमगरसमेत थिइन् । रोल्पामा वाम गठबन्धनका उम्मेदवारलाई निर्वाचनमा सघाउन महरा दाङबाट आएका हुन् । मंसिर १० मा हुने प्रतिनिधिसभाको निर्वाचनमा पुन रोल्पाबाट वाम गठबन्धनका उम्मेदवार हुन् भने बिनाविभागीय मन्त्री महरा दाङबाट प्रतिनिधिसभाका उम्मेदवार छन् ।
पूर्वी रोल्पाको सुलीचौरबाट लिबाङ आइरहेको उम्मेदवार टोलीमाथि करिब सय मिटर माथिको जंगलबाट बम प्रहार गरिएको अनुमान छ ।
‘विस्फोटपछि मात्रै हामीले थाहा पायौं, सडकमाथि नै विस्फोट हुन पुगेकाले कसैलाई केही हुन पाएन,’ सँगै रहेका माओवादी केन्द्रका जिल्ला नेता रत्न महराले भने, ‘बम सडकसम्मै आइपुगेको भए ठूलो क्षति हुने थियो ।’ उनका अनुसार उम्मेदवार टोलीलाई साथ दिन दर्जन गाडीमा कार्यकर्ता पनि सवार थिए ।
घटनाको कसैले जिम्मेवारी लिएको छैन । रोल्पाका प्रहरी प्रमुख नायब उपरीक्षक ज्ञानेन्द्र फुयालले बम प्रहार गर्ने समूहको खोजी जारी राखिएको बताए । जिल्लामा थप सुरक्षा अवस्था मिलाइएको उनले जनाए ।
निर्वाचन अभियानमा खटिएका पूर्वअर्थमन्त्री पुनलाई लक्षित गरेर रोल्पामा अहिलेसम्म तीन पटक बम आक्रमण भइसकेको छ । अघिल्लो साता माडी र दुईखोली गाउँपालिकामा विस्फोटक पदार्थ प्रयोग गरेर पटकपटक आक्रमण गरिएको थियो ।
शुक्रबार बम प्रहार भएको स्थल जिल्ला प्रशासन कार्यालय रहेको सदरमुकाम लिबाङदेखि करिब ५ किमि टाढा हो । घटनास्थल नेपाली सेनाको खड्ग दल गणको मुख्यालय देउपुजेदेखि पनि ३ किमि टाढा छ । करिब ४ किमि टाढा सातदोबाटोमा पनि नेपाली सेना र नेपाल प्रहरीको सुरक्षा बेस क्याम्प छ । घटनास्थल नजिकै प्रहरीले बम बनाउन प्रयोग भएको ‘रेड बुल’ को एउटा बट्टा फेला पारेको छ । घटनालगत्तै प्रहरीले केही राउन्ड जवाफी फायरिङ गरेको थियो । प्रहरीले उम्मेदवारसहितको टोलीलाई सुरक्षा दिई सदरमुकाम ल्याएको थियो । निर्वाचन मिति नजिकिँदै गरेका बेला रोल्पामा शृंखलाबद्ध रूपमा भएका घटनाबारे अनुसन्धान थालिएको प्रमुख जिल्ला अधिकारी डिजन भट्टराईले बताए ।
बम प्रहार भए पनि महरा र पुनसहितको टोली लिबाङको सभामा सहभागी भएको थियो । त्यहाँ कडा सुरक्षा व्यवस्था मिलाइएको थियो । ठूलो संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा ठूलै संख्यामा म्यादी प्रहरीलाई खटाइएको थियो । सदरमुकाममा पहिलोपटक गरिएको वाम गठबन्धनको सभामा भाग लिन गाउँबाट निकै कार्यकर्ता ओइरिएका थिए । बम प्रहार भएको खबरले थप कार्यकर्ता आउन नसकेको आयोजकले जनाएका छन् ।
आफूहरूमाथि शृंखलाबद्ध आक्रमण भएको भन्दै उम्मेदवारले सुरक्षा व्यवस्था मजबुत बनाउन आग्रह गरेका छन् । लिबाङको चुनावी सभालाई सम्बोधन गर्दै उम्मेदवार तथा बिनाविभागीय मन्त्री महराले परिवर्तन नचाहने शक्तिले निरन्तर विस्फोट गराएको आरोप लगाए । ‘परिवर्तनलाई मन नपराउने समूहले बम प्रहार गरेको हो,’ उनले भने, ‘यस्ता आपराधिक घटनाबाट हामी हतोत्साहित हुन्नौं ।’ सभामा बोल्दै पूर्वअर्थमन्त्री पुन, पूर्वसभामुख घर्ती, एमाले पोलिटब्युरो सदस्य गोकुल घर्ती, प्रदेशसभाका उम्मेदवारहरू कुलप्रसाद केसी र दीपेन्द्र पुनलगायतले आपराधिक गतिविधि नगर्न सचेत गराए ।
सुरक्षा नपाएको राज्यमन्त्रीको गुनासो
यसअघि बिहीबार चुनावी अभियानकै क्रममा गाउँ पुगेका सिँचाइ राज्यमन्त्री अमरसिंह पुन सवार गाडीलाई लक्षित गरी घोडागाउँमा बम प्रहार गरिएको थियो । कांग्रेस रोल्पाका सभापतिसमेत रहेका पूर्वसांसद पुनले राज्यको सुरक्षासम्बन्धी बेवास्ताले घटना भएको बताए । राज्यमन्त्री पुन प्रतिनिधिसभाका लागि रोल्पाबाट कांग्रेसका उम्मेदवार पनि हुन् । रोल्पामै रहेका उनले घटनाप्रति आपत्ति जनाउँदै भरपर्दो सुरक्षा व्यवस्था मिलाउन राज्यसँग माग गरेका छन् । स्थानीय प्रशासनले पनि आफ्ना लागि सुरक्षा व्यवस्था मिलाउन बेवास्ता गरेको उनको आरोप थियो । ‘म कसरी कुन अवस्थामा गाउँमा पुग्ने गरेको छु भन्नेबारेमा स्थानीय प्रशासनले चासो देखाएको छैन,’ उनले भने, ‘विपक्षीलाई उच्च सुरक्षा सतर्कतासहित निर्वाचन अभियान बढाउन व्यवस्थापनमा लागेको प्रशासनले मेराबारेमा चाहिँ सोच्नुपर्दैन ?’

प्रकाशित : मंसिर २, २०७४ ०६:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?