कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

विरासत ढाल्ने र जोगाउने होड

भक्तपुर १

भक्तपुर — भक्तपुरको निर्वाचन क्षेत्र १ यसपटक विशेष चर्चामा छ । ०४८ यता यही क्षेत्रबाट लगातार चुनाव जित्दै आएका नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेले यसपालि उम्मेदवारी नदिएका कारण यहाँको चुनावी समीकरण बढी चर्चामा छ ।

विरासत ढाल्ने र जोगाउने होड

बिजुक्छेले अन्य कुनै क्षेत्रबाट उम्मेदवारी दिन यो क्षेत्र छाडेका भने होइनन् । युवा पुस्तालाई अवसर दिन उनले यस्तो निर्णय गरे । उनको यो निर्णयको चौतर्फी प्रशंसा भइरहेको छ ।
नेमकिपाले पार्टी सचिव प्रेम सुवाललाई यस क्षेत्रको प्रतिस्पर्धामा उभ्याएको छ । बिजुक्छे प्रत्यक्षमा भिड्दा समानुपातिक सूचीमा राखिने सुवाल अहिले पार्टी अध्यक्षको विरासत जोगाउन लागिपरेका छन् । 
उनी आइतबार बिहान सात बजे दुवाकोटको चोटा बैठक पुगिसकेका थिए, आठ बजे ८० जना वाद्यवादकको भेलामा । दुवै भेला सकेर पार्टी कार्यालय आउँदा साढे १० बजिसकेको थियो । सुवालको भेला चलिरहँदा वाम गठबन्धनका उम्मेदवार मिलन सुवाल भक्तपुर नगरको दुधपाटी, नासमना क्षेत्रको घरदैलोमा थिए । नेमकिपाका कडा प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार बाबुराजा जोशी पनि बिहानै घरदैलोमा सुडाल पुगिसकेका थिए । घरदैलोबाट भक्तपुर नगर फर्कंदा दिउँसो साढे एक भइसकेको थियो । 
कांग्रेस र वाम गठबन्धन बिहान र दिउँसो काँठमा भोट माग्न गए पनि राति भने नगरमा कोठेभेलामा सबै दल जुट्छन् । नेमकिपा गाउँको भोट तान्न जोडबलले लागेको छ भने अन्य दल नगरको । वाम गठबन्धन र कांग्रेसका उम्मेदवार गलाभरि माला लगाएर घरदैलोमा निस्किने गरेका छन् भने नेमकिपाका उम्मेदवार भने खादासमेत लगाउँदैनन् । उनीहरू जितपछि मात्रै माला लगाउने बताउँछन् । 
भक्तपुर नगरमा विगतका निर्वाचनमा भन्दा बढी रंगीचंगी छ यसपालि । वाम गठबन्धनले नगरको भित्री सडक/गल्लीको वल्लो घरबाट पल्लो घरमा डोरी टाँगेर पार्टीको झन्डा राखेपछि नेमकिपाले पनि त्यही सिको गरेको छ । कांग्रेसले भने घरको छेउछेउमा फाट्टफुट्ट राखेको छ । कमलविनायक क्षेत्र झन्डामय छ । अन्य दलले मंसिर १ देखि घरदैलो सुरु गरे पनि नेमकिपाले घरदैलो सुरु गरेकै छैन । उनीहरू चोटा भेला, टोल बैठक र सभामा व्यस्त छन् । ७० भन्दा बढी भेला गरिसकेको नेमकिपाले जनाएको छ । तर, अन्य पार्टीले नगरको भित्री क्षेत्रमा प्रचार तीव्र बनाएपछि नेमकिपा पनि प्रचारको प्रतिस्पर्धामा उत्रिएको छ । वाम गठबन्धनको प्रदेशसभा उम्मेदवार रोमन शिलाकार तथा मिलन सुवालको सम्पर्क कार्यालय रहेको घरको दायाँ–बायाँ दुवै घरमा नेमकिपाका उम्मेदवार सुवाल र प्रदेशसभा सदस्य उम्मेदवार सुरेन्द्रराज गोसाईंका तस्बिर अंकित फ्लेक्स आइतबार उज्यालो हुँदा टाँसिसकिएको थियो । ‘त्यसबारे हामीलाई थाहै छैन,’ नेमकिपाका उम्मेदवार सुवालले भने । भक्तपुर नगरमा नेमकिपाले विकास नगरेको भन्दै जनता आफ्नो पक्षमा रहेको कांग्रेस उम्मेदवार बाबुराजा जोशी बताउँछन् । ‘नगरमा नेमकिपाका ६० प्रतिशत कार्यकर्ता छन्, नारायणमान बिजुक्छेलाई सहानुभूति दिन ४० प्रतिशतले मतदान गर्दै आएका थिए,’ उनी भन्छन्, ‘अब ४० प्रतिशत भोट कांग्रेसमा बढ्छ । भक्तपुर नगरले नयाँ नेतृत्व खोजेको छ ।’ 
चोटा बैठक र टोल भेलामा जनताले पार्टीको भूमिकाको मूल्यांकन गरेर आफ्नो पार्टीको पक्षमा मतदान गर्ने सुवालले बताए । ‘चुनाव जितेपछि भक्तपुरको विकास मात्रै नभई देशको विकास र नीतिनियममा जोड दिन्छौं,’ उनले भने । नेमकिपाले वाम र लोकतान्त्रिक गठबन्धनलाई नक्कली गठबन्धनको आरोप लगाउने गरेको छ । यो गठबन्धन जनताको सेवा गर्नेभन्दा पनि भागबन्डाको राजनीति गरेको नेमकिपाको आरोप छ । नेमकिपाले कोठेभेलामा मतदातामा जाँदा भोट हाल्नसमेत सिकाउने गरेको छ । नेमकिपाले गाउँको भोट तान्ने रणनीति अघि सारेको छ भने अन्य दुई प्रतिस्पर्धी नगरमा केन्द्रित देखिन्छन् । नेमकिपाको भोट माग्ने काइदा पनि फरक छ : कांग्रेस र वाम गठनबन्धनको घोषणापत्रको कमजोरी औंल्याउने । कांग्रेस र वाम गठबन्धनका उम्मेदवारले घरदैलोमा भने विकासको आश्वासनसहितको पर्चा बाँडिरहेको छ । 
भक्तपुर १ मा लोकतान्त्रिक र वाम गठबन्धन नेमकिपाको विरासत भत्काउने प्रतिस्पर्धामा छन् भने र नेमकिपा जोगाउने । ०३९ र ०४४ मा वडाध्यक्ष बनेका सुवाल २०५४ को स्थानीय निकायको निर्वाचनमा भक्तपुर नगरपालिकाको प्रमुख बनेर नेतृत्व सम्हाले । २०६४ र ०७४ को निर्वाचनमा समानुपातिक सभासद बनेका सुवालले रूपान्तरित संसद्मा प्रखर प्रतिपक्षको भूमिका निर्वाह गरे । संसद्मा कुनै कानुन पारित हुन सभामुखले निर्णायार्थ पेस गर्नुअघि सुवालले ‘कोरम’ को कुरा उठाउँथे । केही विधेयक उनले कोरममा प्रश्न उठाएकै कारण रोकियो । ‘सभामुखले निर्णयार्थ पेस गर्नुअघि हामीलाई हेर्नुहुन्थ्यो,’ उनी भन्छन् । मेकानिकल इन्जिनियरिङमा प्रवीणता प्रमाणपत्र तह र वाणिज्यशास्त्रमा स्नातकोत्तर गरेका ५७ वर्षीय सुवालले ०३८ मा थापाथली इन्जिनियरिङ कलेजबाट राजनीति सुरु गरेका थिए ।
नेमकिपाको गढ भत्काउने दाउमा रहेका कांग्रेस उम्मेदवार जोशी वरिष्ठ अधिवक्ता हुन् । नेपाल कानुन आयोगका अध्यक्षसमेत रहिसकेका जोशी भक्तपुर जिल्ला बारबाट वरिष्ठ अधिवक्ताको उपाधि पाउने पहिलो अधिवक्ता हुन् । ६३ वर्षीय जोशीले कानुनमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् । वाम गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार मिलन सुवाल भक्तपुर चोछेंका हुन् । ३८ वर्षीय सुवालले आईएसम्म अध्ययन गरेका छन्् । ०५१ बाट राजनीति सुरु गरेका उनले सशस्त्र द्वन्द्वको समयमा अखिल क्रान्तिकारीको जिल्ला सचिवको भूमिका निर्वाह गरेका थिए । माओवादी केन्द्रको केन्द्रीय सदस्य र जिल्ला सहसंयोजक सुवालले भक्तपुरलाई केन्द्रसम्म जोड्न आफ्नो भूमिका रहने बताउँछन् । आर्थिक समानता, स्वतन्त्रता, सामाजिक न्याय र व्यक्तित्व विकासका लागि वाम गठबन्धन नै उपयुक्त शक्ति भएको उनको बुझाइ छ । 

 

प्रकाशित : मंसिर ५, २०७४ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?