कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कृषि प्रविधिमा बढ्दो आकर्षण

स्याङ्जा — कृष्ण बस्याल हिजोआज हाते ट्रयाक्टरले खेतबारी जोत्छन् । गल्याङ– ३ का यी कृषकलाई हलि, हलो र गोरु खोज्नुपर्ने झन्झट हटेको छ ।

कृषि प्रविधिमा बढ्दो आकर्षण


वर्षा होस वा हिउँद उनलाई नयाँ प्रविधिबाट खेतीपाती लगाउन सजिलो भएको छ । ‘आधुनिक प्रविधिको प्रयोग गर्ने जमाना आयो, जमानाअनुसार चल्नै पर्‍यो,’ उनले भने, ‘अब पहिलेपहिले जसरी ठूलो क्षेत्रफलमा खेती पनि हुँदैन । सानो ठाउँ, महँगो ज्याला, ढिलो काम हुँदा फाइदा हुँदैन ।’ आधुनिक कृष यन्त्र उपयोग गर्न जान्दा खेतीपातीमा लागत र समय बचत हुने उनको अनुभव छ । यसपटक तीन/चार हलगोरु लाग्ने खेत हाते ट्रयाक्टरले जोतेर तोरी र गहुँ लगाएको उनले बताए ।
धान दाइँ गर्दा थ्रेसरको उपयोग यहाँ नौलो हुन छाडेको छ । पहिलेपहिले हाते ट्रयाक्टर खेतबारीमा हाल्दा रमिता हेर्न हुन भीड पनि हिजोआज चासोमा छैन । ‘जमाना बदलियो, अब खेतमा के ल्याएछ भनेर हेर्न भीड हुन्न,’ उनले भने, ‘बरु पुरानो पाराले खेती गर्नेलाई देख्दा यी किसान जमानाअनुसार फेरिएनछन्, कसरी पो खेती गर्लान् भन्ने बेला आयो ।’
करिब ४७ हजार हेक्टर जमिनमा खेती हुने स्याङ्जामा बस्यालजस्ता किसान थोरै छन् । तर बजार क्षेत्र हुँदै कृषि प्रविधि गाउँगाउँ पुग्न थालेको छ । सानो सानो चक्लामा गरिने खेतीमा धेरै ठाउँ ठूलो ट्रयाक्टर पुग्न सम्भव छैन । हाते ट्रयाक्टरले त्यस्ता ठाउँमा जोत्न सजिलो हुने बुझेका किसानले खरिद गरी प्रयोगमा ल्याउने होडबाजी सुरु भएको छ । यसको कारण खेतीपातीमा सजिलै कामदार नपाइने समस्या र सरकारले कृषि औजारमा दिने अनुदान प्रमुख हो । पुतलीबजार–१० का रामबन्धु अर्याल भन्छन्, ‘बाध्यता र सहजता दुवैले खेतबारीमा आधुनिक औजार भित्र्याएको भन्नुपर्छ ।’ कृषि यन्त्र बजारमा सजिलै खरिद गर्न पाइने, कृषि विकास र विभिन्न तालिममार्फत किसानलाई जानकारी पुर्‍याउन थालिएकाले पनि यस्तो भएको हुनुपर्ने उनले बताए ।
वालिङ–३ निवासी हरिप्रसाद अर्यालले यो वर्षको धान पहिलोपटक थ्रेसरबाट दाइँ गरेर भित्र्याए । ‘अचम्म लागेको छ,’ उनले भने, ‘ट्रयाक्टरले खेत जोत्ने, मेसिनले धान पराल छुट्याउने सजिलो जमाना आएको हो ।’ अझै पनि कृषि यन्त्र सबै किसानको पहुँचमा आउन समय लाग्ने उनले बताए । ‘अझै पनि सस्तो र सजिलो भएमात्रै किसानले भाडामा लिन वा किन्न सक्छन्,’ उनले भने, ‘समय बच्यो, खर्च घट्यो भने अरू पनि काम गर्ने समय मिल्ने रहेछ ।’ जन्मिएदेखि किसानका सन्तानले गर्ने दु:ख देखेरै अहिलेका पुस्ता खेतीपातीमा आकर्षित नभएको स्थितिमा प्रविधिले फेरि व्यवस्थित कृषिमा फर्काउनेछ भन्ने उनलाई आस लागेको छ ।


गोरु समस्याले ट्रयाक्टर स्थापित
हेटांैडा (कास)– २०५० को बाढीपहिरोले मकवानपुरको उत्तरी क्षेत्रमा पानीघट्ट विस्थापित गराइदियो । २०७२ मा आएको भूकम्पले गोरु विस्थापित गरायो । भूकम्पले गोरु पनि मरे र गोठ पनि भत्केकाले उत्तरी क्षेत्रका अधिकांश कृषकसँग खेतबारी जोत्नका लागि गोरु छैन । गोरुको विकल्पमा अहिले गाउँगाउँमा हाते ट्रयाक्टर छ्यापछ्याप्ती छ । गोठमा भंैसी र गाईमात्र छन् । जोत्नका लागि गोरु छैन । गोरुले गर्ने काम अहिले हाते ट्रयाक्टरले गर्न थालेको छ ।
‘भुइँचालाले गोठ पनि भत्क्यो, गोरु पनि मर्‍यो,’ थाहा नपा पालुङका कृषक रामबहादुर कार्कीले भने, ‘गाउँमा अब गोरुले जोत्ने चलन क्रमश: हराउँदै गएको छ, खेतबारी सबै ट्रयाक्टरले जोत्न थालिसके ।’ हल गोरु पाल्न पनि गाह्रो र हली पनि नपाउने भएकाले पनि जिल्लाको उत्तरी क्षेत्रका बासिन्दाहरू कृषिमा क्रमश: यान्त्रिकरणतर्फ उन्मुख हुँदै गएका छन् । कृषि विकास कार्यालय मकवानपुरले भूकम्पपछि उत्तरी क्षेत्रमा अनुदानका रूपमा दुई सय वटाभन्दा बढी हाते ट्रयाक्टर वितरण गरिसकेको छ ।
‘उत्तरी क्षेत्रमा अहिले गोरुले जोत्ने चलन हराउँदै गएको छ,’ कृषि विकास कार्यालय मकवानपुरका प्रमुख निर्मल गदालले भने, ‘कृषिलाई अब आधुनिकीकरण सँगसँगै यान्त्रिकीकरण गर्न जरुरी छ ।’ मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने सिस्नेरी गाविसका रमेशसिंह ठकुरीले काठमाडांै छैमलेका कृषकलाई दुई हल गोरु बिक्री गरेर कृषि विकास कार्यालयसँग अनुदानको हाते ट्रयाक्टर किनेका छन् । १८ रोपनी खेतबारी ट्रयाक्टरले खनजोत गरे । उनले भाडामा स्थानीयको पनि खेतबारी जोत्ने गरेका छन् । एक घण्टा ट्रयाक्टरले जोतेको उनले ६ सय रुपैयाँ लिने गरेका छन् । एक घण्टामा झन्डै ५ रोपनी जग्गा
जोत्ने गर्छ । गोरुको जस्तो गोठमा बाँधेर पाल्न पनि नपर्ने र ट्रयाक्टरले एकै दिनमा धेरै पनि जोत्ने भएकाले जिल्लाका उत्तरी क्षेत्रका कृषकहरूको रोजाइमा पनि ट्रयाक्टर रहेको छ ।
‘२०५० सालको बाढीले यस क्षेत्रको पानीघट्ट र मिल विस्थापित गरेर विद्युतबाट चल्ने मिल स्थापना भयो,’ थाहा नपास्थित स्थानीय उच्च माविका प्राचार्य सानोभाइ कार्कीले भने, ‘२०७२ सालको भूकम्पले गोठ भत्केर र गोरु मरेर विस्थापित भए ।’ गाउँघरमा अहिले हल गोरु पाल्न सक्ने जनशक्तिको अभाव छ । ग्रामीण भेगका कृषकहरू क्रमश: व्यावसायिक भएकाले यान्त्रिकरणतर्फ उन्मुख भएका छन् ।
सहज ढंगले छिटोछरितो खेती गर्ने प्रविधितर्फ कृषकहरू आकर्षित हँुदै गएका छन् । निर्वाहमुखी खेती प्रणालीमामात्र गोरु, राँगाले जोतेर सम्भव हुन्छ, कृषि विकास कार्यालयका प्रमुख गदालले भने, ‘व्यावसायिक खेतीमा यो सम्भव नै हँुदैन ।’ कृषि विकास कार्यालय मकवानपुरले कृषकलाई यान्त्रिकीकरण गर्नेतर्फ सीप र तालिम र उपकरण पनि अनुदानमा उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित : मंसिर १०, २०७४ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?