१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

मेहदी हसनका चित्र

मधु शाही

काठमाडौं — पाकिस्तानी गजल गायक मेहदी हसनको नाम बंगलादेशी चित्रकार मेहदी हसनसँग मेल खानु संयोग मात्रै हो । विख्यात गजल गायकले संसार छाडेको निकै वर्ष भयो, तर चित्रकार मेहदी भने कतै न कतै मेहदी हसनको परिचयमा ठोक्किएकै हुन्छन् ।

मेहदी हसनका चित्र

उनले आफ्नो परिचय दिनेबित्तिकै जो कोही आश्चार्य र रमाइलो मान्दै गायक मेहदी हसनको प्रसंग नै कोट्याउँछन् । नेपालमै पनि गायक मेहदीका 
थुप्रै फ्यान छन् । यति बेला राजधानीमा भने चित्रकार हसन मेहदी आइपुगेका छन् । 
‘रंग र संगीत उस्तै त हुन्,’ बबरमहलस्थित आर्ट काउन्सिलमा एकल चित्रकला प्रदर्शनी गरिरहेका मेहदीले भने, ‘यी दुवैमा भावना हुन्छ ।’ उनका क्यानभास नियाल्ने दर्शकले पनि सहजै अनुमान लगाउन सक्छन्, बंगलादेशका मेहदी हसनको रंग लालित्य र गजलकार मेहदी हसनको स्वरको जादु उस्तै लाग्छ । 
अग्लो कद । सर्ट, पाइन्टमा ठाँटिएका मेहदीलाई सुरुमा भेट्नेले नेपाली नै ठान्छन् । झुक्किएर धेरैजसोले ग्यालरीमा नेपाली भाषामै बोल्न खोज्छन् उनीसँग । मेहदीले चाहिँ आधा ओठ खोलेर मुस्कुराउँदै भने, ‘आई एम फ्रम बंगलादेश ।’
नेपाली परिवेश भने मेहदीका लागि नौलो होइन । १३ वर्ष पहिले यहाँ आउँदा उनले घुमफिर र केही चित्रकला कार्यशालामा सरिक हुने मौका पाएका थिए । यति बेला उनी आफ्नै सिर्जना प्रदर्शन गर्न आएका छन् । डेढ दशक अन्तरालमा नेपाली कला कहाँ पुगेको देख्छन् उनी ? मेहदीले प्वाक्कै भने, ‘नो चेन्ज ।’
उनले १३ वर्षअघिको नेपाली जनजीवन आकाश–जमिन फरक देखे पनि कलाकारको चित्रमा चाहिँ एउटै शैली रहेको ठोकुवा गरे । बंगलादेशमा समयसापेक्ष समसामयिक आर्टको विकास व्यापक भइरहेको बताउँदै कलामा पनि त्यस्तो परिवर्तन आउनुपर्ने उनले सुनाए । 
ग्यालरीमा ‘पोएट्री अफ कलर’ थिममा सजिएका उनका चित्र उनले भनेजस्तै समसामयिक छन् । उनी कस्ता चित्रकार हुन् ? यस्तो प्रश्न गर्नेलाई मेहदी एकपल्ट आकाशमा हेर्न लगाउँछन् । किनकि त्यहाँ हेरेर उनले भन्न खोजेका धेरै कुरा महसुस गर्न सकिन्छ । ‘नीलो रंग’ मेहदीको मन पर्ने रंग हो । यसको अर्थ उनी प्रकृति प्रेमी छन् । कुनै दिन दिक्क लाग्यो भने १० मिनेट आकाशमा हेरेपछि रिफ्रेस भइन्छ भन्ने उनको मान्यता छ । 
ग्यालरीमा राखिएका उनका अधिकांश चित्र नीलो आकाश जस्तै छन् । त्यहाँ नियाल्दै गर्दा दर्शकले आकृतिभन्दा पनि आनन्दको अनुभूति गर्छ । यो नै उनको कला विशेषता हो । चित्र बुझ्ने कि महसुस गर्ने ? खास गरी विकासोन्मुख देशका पारखीहरूमा यस्तो दुविधा देखिन्छ ।
‘चित्र रंग हो । रंगमा मन छुन्छ । रंगले मन छुन सके आकृति गौण हुन्छ,’ मेहदीको तर्क छ, ‘नीलो रंग सबैभन्दा शक्तिशाली हुन्छ । यसमा मनको शान्ति पाइन्छ ।’
र, प्राकृतिक दृष्टिले बोल्ड कलर पनि भएकाले मेहदी नीलो रंगमै बढी चित्र कोर्छन् । ससाना पेपरमा पोतिएको रंगको भाइब हेरेर शान्ति महसुस गराउनु उनको कलाको मुख्य पक्ष हो । उनले भने, ‘दर्शकहरू चित्र हेरेर आनन्दित भए भने म आफू सफल भएको महसुस गर्छु ।’ 
उनको चित्रकला प्रदर्शनी अझै तीन दिन चल्नेछ । 

प्रकाशित : मंसिर ११, २०७४ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?