कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

‘म्याच फिक्सिङ हुँदैन’

दमक (झापा) — एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुराको आमसभामा भने, ‘चारपटक प्रधानमन्त्री भएको जिल्लामा विकास यस्तै हुन्छ ?’ उनले डडेलधुराको विकास निर्माण नभएको मुद्दा मात्रै उठाएनन्, देउवालाई अन्तिम प्रधानमन्त्री भनेरसमेत टिप्पणी गरे ।

‘म्याच फिक्सिङ हुँदैन’

लगत्तै देउवाले ओलीको निर्वाचन क्षेत्रमै ‘काउन्टर’ दिने सोच बनाए र देउवाकै आग्रहअनुसार गत सोमबार झापा कांग्रेसले क्षेत्र नम्बर ५ अन्तर्गत गौरादहमा सभा गर्‍यो । त्यही कार्यक्रमबाट देउवाले ‘कम्युनिस्ट सरकार बन्यो भने अधिनायकवाद आउँछ’ भन्दै आक्रामक शैलीमा ओली र वाम गठबन्धनको विरोधमा खनिए । विपरीत दुई ध्रुवको नेतृत्व गरेका यी दुई नेताको जुहारी अझै रोकिएको छैन । बुधबार गृह जिल्ला आइपुगेका ओलीले बिहीबार झापाका तीनवटा कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश र केन्द्रमा अब वाम गठबन्धनको सरकारलाई कसैले रोक्न नसक्ने भनाइ दोहोर्‍याउँदै भने, ‘देउवाको यो सरकार नै कांग्रेसका लागि अन्तिम हुनेछ ।’
ओली कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवाप्रति बढी नै आक्रामक बने, जति झापाका स्थानीय कांग्रेस उम्मेदवारप्रति भएनन् । उनले केन्द्रका नेताहरूले बिगारेको भन्दै स्थानीय कांग्रेस कार्यकर्ताको सहानुभूति लिने प्रयास पनि गरे । बिर्तामोड चोकमा आयोजित कार्यक्रममा ओलीले ‘म्याच फिक्सिङ’ नहुने र राप्रपा उम्मेदवारलाई बेइमानी नगर्ने प्रस्ट पारे । झापा ३ मा कांग्रेस उम्मेदवार कृष्णप्रसाद सिटौलालाई म्याच फिक्सिङ हुन सक्ने चर्चा चलिरहेका बारे कान्तिपुरमा प्रकाशित समाचारलाई लिएर ओलीले प्रस्ट पारेका हुन् ।
स्थानीयस्तरमा यस्तो चर्चा चल्न थालेपछि राप्रपा उम्मेदवार राजेन्द्र लिङ्देनकै आग्रहमा ३ नं. क्षेत्रको भद्रपुरमै ओलीले बिहीबार दोस्रोपटक सम्बोधन गरेका हुन् । यसअघि पनि ओलीले उक्त निर्वाचन क्षेत्रमा पुगेर सम्बोधन गरेका थिए । ‘कांग्रेसका उम्मेदवार भलाद्मी होलान्, तर माथि (केन्द्रमा) गएर बिगार्ने नै हुन्, बिगार्ने ठाउँमा उनीहरू सहभागी हुन्छन्,’ उनको भनाइ थियो, ‘राप्रपासँग तालमेल भइसकेपछि कुनै पनि हालतमा बेइमान हुन दिनेछैनौं ।’ सँगै उनले राप्रपाले लिएको संवैधानिक राजतन्त्रको सैद्धान्तिक अडानप्रति भने व्यंग्य गरे । ‘मरेको राजतन्त्र अब ब्युँतिन्न,’ ओलीले भने, ‘महादेवले सतीदेवी काँधमा हाल्दा त सतीदेवी ब्युँतिइनन् भने मरिसकेको राजतन्त्र कसरी ब्युँतेला ? यस्ता थोत्रा कुराका पछि नलाग्नुहोस् ।’ ०६४ को चुनावबाहेक निरन्तर झापाबाट निर्वाचित हुँदै आएका
ओलीलाई यतिबेला भावी प्रधानमन्त्रीका रूपमा समेत हेरिएको छ । सार्वजनिक रूपमा ओली स्वयंले वाम गठबन्धनको नेतृत्वमा एमाले रहने भन्दै आफू प्रधानमन्त्री हुने संकेतसमेत सार्वजनिक रूपमै गरे ।
झापामा तेस्रो राजनीतिक शक्ति रहेको राप्रपा–वाम गठबन्धनमै जोडिएकाले ओलीले आफ्नो निर्वाचन क्षेत्रमा कुनै खतरा महसुस गरेका छैनन् । ओलीविरुद्धको प्रतिस्पर्धामा कांग्रेसका खगेन्द्र अधिकारी छन् । प्राध्यापन पेसाबाट राजनीतिमा प्रवेश गरेका कांग्रेस उम्मेदवार अधिकारी नयाँ अनुहार हुन् । गत सोमबार गौरादहमा भएको आमसभाबाट उत्साही भएको उनले बताए । ‘सभापति देउवाको आग्रहमा छोटो समयमै कार्यक्रम राखे, तर हजारौं मानिस आए । यसबाट मलाई चुनाव जित्न सकिन्छ भन्ने आधार मिलेको छ,’ उनले भने ।
‘ओलीलाई जित्न त्यति सहज छैन, मेरो कडा प्रतिस्पर्धा छ,’ उनले भने । त्यही गौरादहकै कार्यक्रममा कांग्रेसका पूर्वमहामन्त्री सिटौला र केन्द्रीय सदस्य विश्वप्रकाश शर्मा भने अनुपस्थित थिए । एमालेलाई नचिढाउने रणनीतिअन्तर्गत उनीहरू सहभागी नभएका हुन् ।
झापा मात्रै होइन, यतिबेला मुलुकको राजनीति नै एमाले अध्यक्ष ओलीको वरिपरि घुमेको छ । भावी प्रधानमन्त्री भनेरै प्रचार गरिएको छ । भावी प्रधानमन्त्रीसँग प्रतिस्पर्धा गर्दा तपार्इंलाई अप्ठ्यारो होला नि ? भन्ने प्रश्नमा अधिकारीले भने, ‘जनतासँग डराउने हो, म एमाले अध्यक्ष ओलीसँग डराएको छैन ।’
वाम गठबन्धनलाई जिताउन देश दौडाहामा रहेका ओली मंसिर १६ सम्म गृह जिल्लामा व्यस्त हुनेछन् । यसबीचमा आफ्नो निर्वाचन क्षेत्रका मतदातासँग रहनेछन् । ओलीले गृह जिल्लामा भने अन्यन्त्र जस्तो रेल दौडाउने र विकासका ठूला योजना सुनाएनन् । तर, झापाको विकासको जिम्मा सबै आफूले लिने उद्घोष गरे । ‘झापाको विकासका लागि कति बजेट चाहिन्छ, छुट्याउने जिम्मा मेरो भयो,’ ओलीको भनाइ थियो, ‘जिल्लाबाट सबै वाम गठबन्धनका उम्मेदवारलाई जिताउनुहोस्, विकास म गरेर देखाउँछु ।’
झापाको सबै विकासको जिम्मा आफूले लिने बताएका ओलीप्रति कांग्रेस उम्मेदवार अधिकारीको प्रश्न छ, ‘०४८ पछि एउटा निर्वाचनबाहेक सबै जितेर जानुभयो । प्रधानमन्त्री बन्नुभयो, गृह र परराष्ट्रमन्त्री हुनुभयो । खोइ त जिल्लाको विकास भएको ?’ उनले जिल्लाको दोस्रो जनसंख्या रहेको आदिवासीको उत्थानमा कुनै काम नगरेको आरोप लगाए ।
अधिकारीले ओलीको क्षेत्रमा राप्रपाको उम्मेदवार नभएकाले कांग्रेसलाई मत आउने अपेक्षा व्यक्त गरे । राप्रपा अध्यक्ष कमल थापाले निरन्तर वाम गठबन्धनको विरुद्धमा अभिव्यक्ति दिएको भन्दै त्यसको प्रभाव आफ्नो निर्वाचन क्षेत्रमा पर्ने उनको दाबी छ । ‘प्राविधिक कारणले मात्रै झापामा कांग्रेससँग गठबन्धन बन्न सकेन, तर देशभरि नै कांग्रेस र राप्रपाको गठबन्धन त छ नि,’ उनले भने, ‘सैद्धान्तिक विषय निर्वाचन क्षेत्र हेरेर हुँदैन, राप्रपाका कार्यकर्ता र मतदाताले बुझ्लान् नि ।’

प्रकाशित : मंसिर १५, २०७४ ०६:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?