कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

एचआईभी संक्रमितमाथि विभेद

फातिमा बानु

काठमाडौं — असुरक्षित यौनसम्पर्कबाहेक, सँगै बस्दा, खाँदा, पढदा यो रोग सर्दैन भन्ने चेतना हुँदाहुँदै पनि संक्रमितमाथि सामाजिक विभेद हट्न सकेको छैन । संक्रमितमाथि सामाजिक लाञ्छना हट्न नसकेकै कारण यो रोग निर्मूल पार्न चुनौती भइरहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोलाले बताए ।

एचआईभी संक्रमितमाथि विभेद

‘रोगीलाई समाजले त बहिस्कार गरेकै छ, उनीहरू स्वास्थ्यर्मीबाटै पनि अपहेलित भइरहेका छन्,’ डा. बास्तोलाले भने ।
यस्ता रोगीलाई स्वास्थ्यर्मीले सकभर हेर्न नमान्ने, उपचारका लागि अन्तैको अस्पतालमा रेफर गरिदिने, बोल्दा अपशब्द प्रयोग गर्ने गरेको संक्रमितहरू गुनासो गर्छन् । संक्रमितहरूमाथि विभेद भएकै कारण उनीहरू आफ्नै थातथलोमा सम्मानका साथ बाँच्ने अधिकारबाट पनि वञ्चित छन् । ‘विभेद खप्न नसकेकै कारण एचआईभी संक्रमितहरू आफ्नै गाउँठाउँबाट पलायन भए, लुकिलुकी उपचार गर्न आइरहेका छन्,’ डा. बाँस्तोलाले भने ।
विश्वमा एचआईभी पत्ता लागेको ३६ वर्ष भयो । यतिका वर्षमा यो रोग निदानका लागि धेरै औषधि र प्रविधिका विकास भए । उपचारमा समेत बिरामीको पहुँच बढेको छ । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निवर्तमान निर्देशक डा. तरुण तरुण पौडेल भन्छन्, ‘समुदायबाट रोगीमाथि भइरहेको भेदभावमा कमी ल्याउन सकिएमा एचआईभी महामारीको जोखिम न्यून भएरै जान्छ, यसका लागि जनमानसमा चेतना र शिक्षाको पहुँच बढाउँछौं ।’ विश्व स्वास्थ्य संगठनका अनुसार संसारभर तीन करोड ६७ लाख व्यक्तिहरूमा एचआईभीको संक्रमण छ । नेपालमा भने ३२ हजार सात सय ३५ मा यसको संक्रमण छ । 
महिलाभन्दा पुरुष यो रोगबाट संक्रमित भएको केन्द्रको तथ्यांक छ । नेपालका ७० प्रतिशत संक्रमितलाई असुरक्षित यौन सम्पर्कको कारण यो रोग सर्ने गरेको केन्द्रका निर्देशक डा. विकास लामिछानेले बताए । ‘यौनकर्मी, लागूऔषध प्रयोगकर्ता, तेस्रोलिंगी, वैदेशिक रोजगार र संक्रमित आमाबाट जन्मने बच्चा एचआइभीको उच्च जोखिममा छन्,’ डा. लामिछानेले भने ।
 संक्रमितका लागि देशभर ६८ वटा एआरभी सेन्टर छन् । सरकारले सेन्टरबाट संक्रमितलाई नि:शुल्क उपचार र औषधि सेवाको व्यवस्था गरेको छ । रोगबारे समुदायले थाहा पाउला भनेर कुनै पनि बिरामीले आफू बस्ने ठाउँको सेन्टरबाट उपचार नलिने प्रवृत्ति रहेको डा. पौडेल बताउँछन् । ‘नजिकबाट उपचार नलिँदा उनीहरूले नियमित औषधि खान पाउँदैनन्, बन्दहडतालका समयमा उपचार केन्द्रसम्म पुग्न सक्दैनन्,’ उनले भने । 
केन्द्रको तथ्यांकअनुसार संक्रमितमध्ये ४० प्रतशित मात्रै एआरभी उपचारमा संलग्न छन् । राजधानीमा मात्रै १२ सयले एआरभी उपचार लिइरहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको तथ्यांक छ । ‘उपचार लिनेहरू सामान्य छन्, आफ्नो जीविकोपार्जन आफैं गरिरहेका छन्, ‘डा. बाँस्तोलाले भने, ‘यो रोग पूर्णरूपमा रोकथाम गर्न सकिन्छ नियमित उपचार पाएमा सामान्य मान्छेको जत्तिकै आयु हुन्छ ।’ लागूऔषध प्रयोगकर्ताले औषधि र नशा सँगै लिने प्रवृत्तिका कारण उनीहरूको उपचार व्यवस्थित हुन नसकिरहेको उनले बताए । 

 

प्रकाशित : मंसिर १५, २०७४ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?