मन जित्ने होड
विराटनगर — मतदान मिति नजिकिँदै गर्दा मोरङमा उम्मेदवारहरू मतदाता रिझाउने अन्तिम कसरतमा जुटेका छन् । साना चुनावी सभा र कार्यकर्ता भेटघाटमा व्यस्त रहँदै आएका उनीहरू अब घरदैलो कार्यक्रमलाई
जोड दिँदै छन् ।
मतदान मिति नजिकिँदै गर्दा मोरङमा उम्मेदवारहरू मतदाता रिझाउने अन्तिम कसरतमा जुटेका छन् । साना चुनावी सभा र कार्यकर्ता भेटघाटमा व्यस्त रहँदै आएका उनीहरू अब घरदैलो कार्यक्रमलाई
जोड दिँदै छन् ।
उम्मेदवारको अबको रणनीति खास समुदाय र ‘भोट बैंक’ मानिने क्षेत्रका अगुवालाई आफ्ना पक्षमा पार्नतर्फ केन्द्रित छ । उनीहरू ‘अस्थिर मत’ मानिएका सुकुम्बासी बस्ती, दलित र पिछडिएको समुदायतिर धाउँदै छन् ।
मोरङ ६ का प्रतिनिधिसभा उम्मेदवार कांग्रेस केन्द्रीय सदस्य शेखर कोइराला ‘ह्याट्रिक’ गर्ने ध्याउन्नमा छन् । उनका प्रतिस्पर्धी वाम गठबन्धन उम्मेदवार एमालेका लालबाबु पण्डित पनि उसैगरी सक्रिय भइरहेका छन् ।
कांग्रेसका अर्का केन्द्रीय सदस्य मीनेन्द्र रिजाल मोरङ २ मा कोइराला परिवारको विरासत फर्काउन लागिपरेका छन् । उनका प्रतिस्पर्धी वाम गठबन्धनबाट एमाले उम्मेदवार ऋषिकेश पोखरेल जित आफ्ना पक्षमा पार्न मतदाता रिझाइरहेका छन् । यी नेता सबेरैदेखि राति अबेरसम्म मतदाताको दैलो पुगिरहेका छन् ।
मोरङ ६ बाट कोइरालाले यसअघि दुईपटक जित हासिल गरिसकेका छन् । पहिलो संविधानसभा निर्वाचनमा कांग्रेस छाडेर तत्कालीन मधेसी जनअधिकार फोरममा गएका विजयकुमार गच्छदारसँग पराजित कोइरालाले लगत्तै भएको उपनिर्वाचनमा फोरमका चुमनारायण तवदारलाई हराएका थिए । संविधानसभाको दोस्रो निर्वाचनमा उनले तत्कालीन फोरम लोकतान्त्रिक अध्यक्ष गच्छदारलाई पराजित गरेका थिए । तबदार यही क्षेत्रको ‘क’ बाट प्रदेशसभा उम्मेदवार छन् । उनका प्रतिस्पर्धी वाम गठबन्धनबाट माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालका ज्वाइँ जीवन आचार्य चुनावी मैदानमा सक्रिय छन् ।
फोरम लोकतान्त्रिक कांग्रेसमा विलय भएपछि यसपालि कोइरालालाई यो क्षेत्रबाट चुनाव जित्न सजिलो भएको कांग्रेसको बुझाइ छ । फोरम लोकतान्त्रिकको प्रभाव क्षेत्र मानिएको क्षेत्रमा केही दिनयता कोइराला र गच्छदार अधिकांश कार्यक्रममा सँगै सहभागी हुँदै आएका छन् । स्थानीय निर्वाचनको परिणामअनुसार यहाँ वाम गठबन्धनभन्दा लोकतान्त्रिकको करिब २ हजार मत बढी छ । ‘सधैं लोकतन्त्रका पक्षमा रहेका यहाँका जनताले कांग्रेसलाई नै बढी माया गर्छन्,’ कोइरालाले भने, ‘त्यसैले यो निर्वाचनमा सफल हुनेमा विश्वस्त छु ।’
प्रतिस्पर्धी पण्डित पनि कोइरालाले दुईपटक जितेर पनि विकास नगरेको भन्दै मतदातामाझ पुगिरहेका छन् । ‘जिल्लाको महत्त्वपूर्ण ठाउँ भएर पनि विकासमा पछि परेका क्षेत्र धेरै छन्,’ उनले भने, ‘यो क्षेत्रको विकासका लागि मतदाताले हामीलाई नै रोज्नेमा शंका छैन ।’
मोरङ २ का उम्मेदवार रिजालको चुनावी अभियान पनि अन्तिम चरणमा पुगेको छ । कोइराला परिवारको विरासत मानिँदै आएको यो क्षेत्र दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसले गुमाएको थियो । यहाँबाट कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले २०४८, ०५१ र ०५६ को संसदीय निर्वाचन जितेका थिए । २०५६ मा मोरङ र सुनसरी ५ मा विजयी भएका कोइरालाले मोरङ छाडेपछि उपनिर्वाचनमा उनका प्रतिनिधि आमोदप्रसाद उपाध्यायले जितेर पहिलो संविधानसभा निर्वाचनसम्म विरासत थामेका थिए । दोस्रो संविधानसभामा भने एमालेका पोखरेलले उपाध्यायलाई पराजित गरे । पोखरेल जित दोहोर्याउने ध्याउन्नमा छन् । रिजाल बिहानैदेखि मतदाताको घरदैलोमा पुगिरहेका हुन्छन् । उनी मतदाताका गुनासा सुन्ने र आफूले जिते समग्र विकास गर्ने वाचा गरिरहेका भेटिन्छन् । पोखरेल पनि यो क्षेत्रमा एमालेले एकपटक मात्र जितेको र त्यस अवधिमा आफूले गरेका कामसहित भविष्यमा गर्ने विकास निर्माणका योजना मतदातालाई सुनाउन व्यस्त छन् ।
पूर्वमा झापा छुट्याउने रतुवा, बीचमा बक्राहा, पश्चिममा चिसाङ र लोहन्द्रा खोलाले घेरिएको यो क्षेत्रका बासिन्दा हरके बर्खायाममा नदी कटान र डुबानको मार खेप्न बाध्य छन्् । बाढी नियन्त्रण दुवै उम्मेदवारको साझा एजेन्डा बनेको छ । एक कार्यकाल कांग्रेसका हातबाट फुत्किएको यो क्षेत्र पाँच वर्षमा विकास निर्माणमा पछि परेको रिजालले बताउने गरेका छन् । पोखरेलले भने अढाई दशकसम्म कांग्रेसले यो क्षेत्रमा जिते पनि विकास निर्माण हुन नसकेको आरोप लगाएका छन् । ‘चार वर्षमा उल्लेख्य काम गरेको छु,’ उनले भने, ‘एक कार्यकालका लागि जनताले दिएको जिम्मेवारी पूरा गरेँ । अर्को कार्यकाल पनि सेवा गर्ने अवसरका लागि घरदैलोमा आएको छु ।’
कार्यकर्ता तानातान
विराटनगर (कास)– चुनाव नजिकिँदै गर्दा मोरङमा पार्टी प्रवेशको होडबाजी चलेको छ ।
पार्टी प्रवेश गराउनेमा प्रमुख दल कांग्रेस र एमाले अगाडि छन् । क्षेत्र नम्बर २, ३, ५ र ६ मा एउटाबाट अर्को पार्टी जानेको संख्या धेरै छ । ‘पार्टीमा प्रवेश गराइएकाहरूको तथ्यांक जोड्ने हो भने मतदाताभन्दा बढी हुन सक्छ,’ स्नातकोत्तर क्याम्पसका राजनीतिशास्त्रका सहप्राध्यापक शान्तिराम भण्डारीले भने, ‘यो प्रचारबाजी मात्र हो । चुनावको मुखमा प्रवेश गर्नेहरूको मतले परिणामलाई केही गर्दैन ।’
दलहरूले मतदातामा मनोवैज्ञानिक ‘प्रोपोगान्डा’ का लागि पार्टी प्रवेशलाई जोड दिएको उनको बुझाइ छ । संख्या बढी देखाउन एउटै कार्यकर्तालाई भिन्नाभिन्नै निर्वाचन क्षेत्रमा लगेर पार्टी प्रवेश गराइएको समेत पाइएको छ ।
हरेक निर्वाचनमा पार्टी प्रवेश फेसनजस्तै भइसकेको राजनीतिक विश्लेषक पीताम्बर दाहाल बताउँछन् । ‘जब निर्वाचन आउँछ, पार्टी प्रवेशको लहरै चल्छ’ उनले भने, ‘यसो गर्दा चुनावी माहोल बन्ने र प्रोपोगान्डा पनि हुन्छ ।’ विभिन्न कारणले दलबदल गर्नेहरू हरेक पटक बढ्ने गरेको उनको अनुभव छ ।
अरू दलका व्यक्तिको आफूतिर प्रवेशले उम्मेदवारको आत्मबल बढ्ने एमाले जिल्ला अध्यक्ष विनोद ढकाल बताउँछन् । ‘हरेक निर्वाचन क्षेत्रमा दैनिक एमाले प्रवेश गर्नेहरूको लहरै चलेको छ,’ उनले भने, ‘संख्या नै त भन्न सकिन्न तर धेरै आइसकेका छन् ।’ माओवादी केन्द्रका जिल्ला संयोजक गोपी आछामी कांग्रेस र एमालेजस्तो आफ्नो पार्टीमा प्रवेश गर्नेको संख्या धेरै नरहेको बताउँछन् । ‘घुमन्ते मतदाताको धेरै भरचाहिँ हुँदैन,’ उनले भने, ‘तर चुनावको मुखमा यसले माहोल सिर्जना भने पक्कै गर्छ ।’
लामो समय राजनीति गरेकाहरू निर्वाचनको मुखमा नयाँ दलमा गएका उदाहरण पनि निकै छन् । कांग्रेस हुँदै संघीय समाजवादी फोरममा पुगेर निष्क्रिय भएका उमेश गिरी केही दिनअघि एमाले प्रवेश गरे । लामो समय लोकतान्त्रिक फोरम नेपालमा बसेका भीमराज राजवंशी पनि एमाले गए । स्थानीय निर्वाचनमा वडा सदस्य जितेकाहरूसमेत निर्वाचनको मुखमा दलबदल गरिरहेका छन् ।